काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

फोटो कथा

श्वासप्रश्वास र छालासम्बन्धी रोगबाट पीडित छन् भक्तपुरको चाँगुनारायणका इँटाभट्टा श्रमिक

८ बैशाख २०८३
तस्बिहरू : बिक्रम राई
अ+
अ-

मिर्मिरेमा काठमाडौँ उपत्यकाका अधिकांश मानिस ब्युँझिएकै हुँदैनन्, तर कतिपय भागमा चहलपहल र कामको धपेडी सुरु भइसक्छ। त्यसमध्येमै पर्छन्, इँटाभट्टा।

उपत्यकामा १०० भन्दा बढी इँटाभट्टा छरिएर रहेका छन्। जहाँका श्रमिक धुवाँ र धुलोबीच साँचोमा इँटा बनाउन, सुकाउन, पोल्न र सुकाउन व्यस्त रहन्छन्। हिउँदको चिसो बिहानदेखि गर्मीको भतभती पोल्ने मध्यदिनसम्म इँटाभट्टाको काम चलिरहन्छ।

श्रमिकहरू दैनिक १०-१२ घण्टा काम गर्छन्। पारिश्रमिक भने निकै न्यून छ। भट्टामा सेकिएर पसिना चुहाउँदै काम गर्नेहरूले तयार पार्ने इँटाबाट ठूल्ठूला भवन र चम्किला अपार्टमेन्ट बन्ने गरे पनि उनीहरूको जीवन भने गरिबी र अभावमै बित्ने गरेको छ।

यति मात्र होइन, इँटाभट्टामा काम गर्नेहरू स्वास्थ्य जोखिममा छन्। श्वासप्रश्वासको समस्या र छालासम्बन्धी रोग यहाँ सामान्य जस्तै बनेको छ। तराई र पहाडका गाउँबाट आउने श्रमिकहरू परिवारसहित भट्टाकै अस्थायी टहरामा बस्छन्। ओसिलो भुइँमा निदाएर जिन्दगीमा मीठो सपनाको खोजी गर्छन्।

सहरको चमकधमक र उज्यालो संसारको छेउकुनामा छन् इँटाभट्टा, तर यहाँको संसारमा पनि आफ्नै खालको धिपधिपे उज्यालो छ। कठिन श्रमका बीच उनीहरू हाँसोठट्टा गर्दै, गीत गुनगुनाउँदै र मिलेर खाना पकाउँदै ससाना कुराबाट खुसी बटुल्छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको सुडालमा रहेको एक इँटाभट्टामा बिहानपख देखिएको संसार हेरौँ।