समाज
कुनै समय बाध्यताको खाना मानिने ढिँडो अहिले होटल, रेस्टुराँ र होमस्टेको मुख्य आकर्षण
पोखरा। लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ का गुरुङ चलचित्रका अभिनेता विष्णु गुरुङलाई घरमा पाहुना आउँदा ढिँडो लुकाएर हतारहतार भात पकाउने गरिएको सम्झना अझै छ। “हामी बिहान-बेलुका ढिँडो नै खाएर हुर्कियौँ। त्यसबेला यसलाई गरिबको खाना भनेर हेपिन्थ्यो,” गुरुङ भन्छन्, “समयमा कति ठूलो परिवर्तन आयो। अहिले त्यही ढिँडो खोजीखोजी खान्छन्।”
“पहिले ढिँडो खानु बाध्यता थियो, अहिले रहर बनेको छ। गाउँमा धानको उत्पादन कम हुने समयमा बिहान-बेलुका ढिँडोकै भर पर्नुपर्थ्यो,” लमजुङको दोर्दी गाउँपालिका-९ का वडाध्यक्ष आशिष तामाङ भन्छन्, “त्यतिबेला खानै मन नलाग्ने परिकार अहिले महँगो मूल्य तिरेर खानुपर्ने अवस्था आएको छ।”
उनका अनुसार करिब डेढ दशकअघिसम्म गाउँघरको दैनिक खाना ढिँडो नै हुन्थ्यो, चामलको भात विशेष अवसरमा पाक्ने परिकार थियो। अहिले अवस्था उल्टिएको छ। ढिँडो खानकै लागि आन्तरिकदेखि विदेशी पर्यटकसम्म गाउँ र पर्यटकीय होमस्टे पुग्न थालेका छन्।

गुरुङ चलचित्रका कलाकारहरु ढिँडो खाँदै। तस्बिर : आस गुरुङ
कास्कीको ताङतिङ सामुदायिक होमस्टेकी सञ्चालक पुनम गुरुङ अधिकतर स्वदेशी तथा विदेशी पर्यटकले ढिँडो, गुन्द्रुक र लोकल कुखुराको मासुको माग गर्ने गरेको बताउँछिन्। भन्छिन्, “ढिँडो अहिले नेपाली मौलिक खानाको प्रतीक र आतिथ्यको विशेष आकर्षण बनेको छ।”
पछिल्लो समय चिकित्सकहरूले समेत चामलको भातभन्दा कोदो, मकै र फापरको ढिँडो स्वास्थ्यका लागि उपयोगी भएको सुझाव दिन थालेपछि यसको लोकप्रियता बढेको नेपाल आदिवासी जनजाति महासंघ, गोरखाका अध्यक्ष विष्णु राना बताउँछन्। त्यसैले रेस्टुराँ र होटलको मेनुमा समेत ढिँडो समावेश हुने क्रम बढेको छ।
बढ्दो माग, घट्दो उत्पादन
ढिँडोको लोकप्रियता बढ्दै गए पनि कोदो, फापर र मकै उत्पादन भने घट्दो क्रममा छ। विशेषगरी कोदो र मकै पहाडी तथा फापर हिमाली क्षेत्रमा उत्पादन हुने भए पनि पछिल्ला वर्ष खेती क्षेत्र र उत्पादन दुवै खुम्चिएका छन्।

कास्कीको पर्यटकीय गाउँ ताङतिङमा मकै छोडाउँदै। तस्बिर : पुनम गुरुङ
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा एक लाख १० हजार १५१ मेट्रिक टन रहेको कोदो उत्पादन आव २०७९/८० मा घटेर ७९ हजार ६१९ मेट्रिक टनमा झरेको थियो। आव २०८०/८१ मा सामान्य सुधार भई ८१ हजार ५८४ मेट्रिक टन पुगे पनि उत्पादन अझै पुरानो अवस्थामा फर्किएको छैन।
फापर उत्पादन आव २०७७/७८ मा तीन हजार ५९८ मेट्रिक टन थियो। आव २०७९/८० मा एक हजार ४७७ मेट्रिक टनमा झर्यो। आव २०८०/८१ मा एक हजार ५७५ मेट्रिक टन उत्पादन भए पनि पुरानो स्थितिमा पुग्न सकेको छैन।
मकै उत्पादनमा पनि उस्तै गिरावट छ। आव २०७८/७९ मा चार लाख ५४ हजार २६५ मेट्रिक टन रहेको उत्पादन आव २०७९/८० मा तीन लाख ८७ हजार ९०४ मेट्रिक टनमा झर्यो। आव २०८०/८१ मा थप घटेर तीन लाख ७७ हजार ८०० मेट्रिक टनमा सीमित भयो।

माथिल्लो मनाङमा फुलेको फापर। तस्बिर : आस गुरुङ
मन्त्रालयकी कृषि प्रसार अधिकृत राममाया कडरियाका अनुसार पछिल्लो तथ्यांक संकलन भइरहेकाले सार्वजनिक गरिएको छैन।
ढिँडोको माग बढे पनि त्यसका लागि आवश्यक बाली लगाउने किसान घटिरहेका छन्। युवा जनशक्ति वैदेशिक रोजगारीमा गएपछि खेतीयोग्य जमिन बाँझिने क्रम बढेको छ। यसले कोदो, मकै र फापर जस्ता रैथाने बाली उत्पादनमा प्रत्यक्ष असर पारेको कृषि अर्थविज्ञ मदन रेग्मी बताउँछन्।
उनका अनुसार वन्यजन्तुको बढ्दो क्षति, रैथाने बालीमा पर्याप्त अनुसन्धान र उन्नत बीउको अभाव तथा उत्पादनमा कम लगानी पनि उत्पादन घट्नुका प्रमुख कारण हुन्। “ढिँडोको माग बढिरहेको छ, तर त्यसका लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्ने किसान घटिरहेका छन्,” रेग्मी भन्छन्।
संरक्षणको प्रयास
रैथाने बालीको उत्पादन र उपयोग बढाउन सरकारले विभिन्न संरक्षण तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। कोदो, मकै र फापर खेती गर्ने किसानलाई बीउ, प्रविधि र अनुदान उपलब्ध गराउने तथा उत्पादन विस्तारका कार्यक्रम सञ्चालन भइरहेको सरकारी अधिकारी बताउँछन्।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशकी वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीका अनुसार मन्त्रालयले रैथाने बाली प्रवर्द्धन कार्यक्रम, कृषि पर्यटन प्रवर्द्धन कार्यक्रमलगायत योजनामार्फत स्थानीय उत्पादनको संरक्षण र बजारीकरणमा जोड दिएको छ।
तर, विज्ञहरू अनुदान र प्रवर्द्धन कार्यक्रम मात्र पर्याप्त नहुने बताउँछन्। बजारको मागअनुसार उत्पादन बढाउन किसानमैत्री नीति, उन्नत बीउ, अनुसन्धान, यान्त्रिकीकरण र सुनिश्चित बजार व्यवस्थापनमा जोड नदिएसम्म रैथाने बाली उत्पादनमा उल्लेखनीय सुधार कठिन हुने उनीहरूको भनाइ छ।