काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

व्यक्तिवृत

‘प्रज्ञा’ मा छापिएको नयराज पन्तको प्रवचन लेखमा राजा-रानीबारे इंगित श्लोक परेपछि उपकुलपति माधवप्रसाद घिमिरेसहित अधिकांश प्राज्ञले त्यो हटाउन चर्को दबाब दिएका थिए, जसविरुद्ध नयराज चट्टानझैँ उभिए।

१४ बैशाख २०८३
अ+
अ-

नेपाली इतिहास लेखनमा देखिएका कमजोरी र अशुद्धि संशोधन गर्न इतिहास संशोधन मण्डलको स्थापना हुनु नेपालको लागि एउटा महत्त्वपूर्ण बौद्धिक उपलब्धि थियो। पहिले इतिहास लेखेका इतिहासकारहरूले लेखेको अशुद्धि पत्ता लगाउने मात्रै होइन, इतिहासको मूलस्रोतसम्म पुगेर तथ्य इतिहासको खोजी गर्नु पनि संशोधन मण्डल स्थापनाको उद्देश्य थियो।

संशोधन मण्डलका प्रणेता हुन्, नयराज पन्त। उनी बनारसबाट ज्योतिष विषयमा उच्च शिक्षा हासिल गरी विसं १९९५ मा स्वदेश फर्कंदा तत्कालीन शैक्षिक प्रणालीप्रति असन्तुष्ट थिए। ३२ प्राप्तांकले परीक्षार्थी उत्तीर्ण हुने शैक्षिक प्रणालीलाई उनी ‘त्रिखण्डी शिक्षा’ भन्थे। उनी यसबाट विद्या पूर्ण हुन नसक्ने ठान्थे। यस्तो शिक्षाबाट ज्ञानको दृष्टिकोणले मानिस पूर्ण हुन सक्दैन भन्ने उनको धारणा थियो।

त्यसैले उनले विसं १९९७ मा महाबौद्धमा आफ्नै पहलमा गुरुकुलीय पद्धतिमा आधारित एक पाठशाला खोले। आफ्ना विद्यार्थीलाई पूर्ण शिक्षा दिलाउन स्थापित यस पाठशालामा इतिहास, व्याकरण, गणित, ज्योतिष, दर्शन जस्ता गहन विषय पढाइन्थ्यो। विद्यार्थीहरूलाई गहन अनुसन्धान कार्यमा लगाइन्थ्यो। उनीहरू उपत्यकामा रहेका प्राचीन शिलालेखहरूको खोजी र अध्ययनमा निस्कन्थे।

त्यही गुरुकुलबाट नेपालको इतिहास अन्वेषणमा एक से एक विद्वान्‌हरू उत्पादन भए। धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, गौतमवज्र वज्राचार्य, शंकरमान राजवंशी, भोलानाथ पौडेल, नयनाथ पौडेल, देवीप्रसाद भण्डारी आदि विद्वान्‌हरू त्यही गुरुकुलका उत्पादन हुन्। नयराजका दुई छोरा महेशराज पन्त र दिनेशराज पन्तलाई त त्यही गुरुकुलका विद्यार्थी धनवज्रले नै पढाएर योग्य शिष्य बनाए। नेपालको इतिहास लेखनको शुद्धीकरण र इतिहास अन्वेषणको क्षेत्रमा नयराज पन्तका यी शिष्यको योगदान विरलाकोटीको छ।

नयराज पन्त चट्टानी अडान भएका निर्भीक विद्वान् थिए। उनै चट्टानी अडान र निर्भीक विद्वत् व्यक्तित्वबारे उनीसँग प्रत्यक्ष र परोक्ष रूपमा सम्बन्धित उनकै छोरा दिनेशराज पन्तका साथै बौद्धिक व्यक्तिहरू रुक्मनाथ पौडेल, शेषराज शिवाकोटी र प्रकाश दर्नालबाट प्राप्त सूचनाका आधारमा उनको अर्को विद्रोही व्यक्तित्त्वको पाटो प्रकाश पार्न यो लेख लेखिएको छ।

लेख प्रकाशनदेखि राजीनामासम्म

२०३६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा संस्कृति विभाग हेर्ने प्राज्ञका रूपमा नयराज पन्तको प्रवेश भयो। उनी विश्वविद्यालयको प्राध्यापनबाट निवृत्त भए पनि वाल्मीकि विद्यापीठमा करारमा पढाइरहेका थिए।

प्रज्ञा-प्रतिष्ठानमा नयाँ नेतृत्वका लागि तत्कालीन शिक्षामन्त्री पशुपतिशमशेर राणाको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो। समितिमा तत्कालीन राजसभाका सदस्य बालकृष्ण सम र त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति जगतमोहन अधिकारी सदस्य थिए। तीमध्ये जगतमोहनले आफ्नो सचिवालयका सदस्यमार्फत पन्तलाई प्रज्ञा-प्रतिष्ठानको सदस्य बन्नका लागि प्रस्ताव पठाए। प्रस्ताव सोझै नयराजलाई पठाइएन, पन्तकै छोरा दिनेशराजमार्फत पठाइएको थियो। सिफारिस समितिका सदस्यहरूलाई डर थियो, पन्तले प्राज्ञको प्रस्ताव स्वीकार नगरिदेलान् भन्ने। छोरामार्फत यस्तो प्रस्ताव आएपछि उनी प्रज्ञा-प्रतिष्ठानमा जान राजी भए।

उनी प्रज्ञा-प्रतिष्ठानमा पुग्दा कुलपति थिए, लैनसिंह बाङ्देल। उपकुलपति माधवप्रसाद घिमिरे थिए, र सदस्य-सचिव विजयबहादुर मल्ल।

नयराज प्रज्ञा-प्रतिष्ठानमा नियमित प्रवचन दिन्थे। ३२ असार २०३६ मा उनले ‘जंगबहादुरको अंग्रेजसँग षाडगुण्य’ र ९ कात्तिकमा ‘जंगबहादुरको राजभक्ति’ शीर्षकमा प्रवचन दिए। प्रवचनका क्रममा श्लोकमा उनले यस्तो बोलेका थिए–

हाम्रा राजा तरंगी, कलुषित चरित राजपत्नी हुनाले
धेरैले दुःख पाए, मुलुक पनि भताभुंग बन्दो छ ऐले
पृथ्वीनारायणस्य प्रषित नृपतिको बुद्धिले जोडिएको
हाम्रो देश कुमति नृपतिको कामले डुब्न आँट्यो।

उनको यही श्लोक भएको प्रवचन लेखका रूपमा प्रज्ञाको पूर्णांक २८ मा छापिएर ‘बाइन्डिङ’ गरी वितरण गर्न ठिक्क पारिएको थियो। त्यसैबेला उपकुलपति माधवप्रसादले बखेडा निकाले। ‘तरंगी राजा’ भनेर राजा वीरेन्द्रलाई भनिएको र ‘कलुषित रानी’ भनेर रानी ऐश्वर्यलाई भनिएको भन्ने उनीहरूको आरोप थियो। उपकुलपतिलाई सदस्य-सचिव विजयबहादुर मल्ल र प्राज्ञहरू बालकृष्ण पोखरेल, भूपी शेरचन र ढुण्डीराज भण्डारीले साथ दिएका थिए। उनीहरूले उक्त श्लोक हटाउन नयराजलाई चर्को दबाब दिए। तर, उक्त श्लोक आफूले वर्तमान राजा र रानीप्रति इंगित गरेको नभई पहिलेका राजा राजेन्द्र र रानी राज्यलक्ष्मीलाई भनेको भन्ने अडान लिए। अझ ढुण्डीराजले त नयराजलाई आपत्तिजनक भनिएका वाक्यमा अन्डरलाइन लगाएर यो कुरा दरबारमा पेस गरिने धम्कीसमेत दिए। तर, नयराज टसको मस भएनन्। उनी गुनासो लिएर कुलपति बाङ्देलकहाँ पुग्दा ‘माधवप्रसादहरू मान्दै मान्दैनन्’ भनी कुलपतिले लाचारी व्यक्त गरे।

नयराजलाई हिजो राजद्रोहको अभियोग लगाउन तम्सने उपकुलपति माधवप्रसाद नयराजलाई राजाले विभूषण प्रदान गर्ने निर्णय गरेको देखेर जिल्लाराम परेका थिए।

हुँदाहुँदै उपकुलपतिले ‘यदि तपाईं श्लोक हटाउनुहुन्न भने हामी च्यात्छौँ’ भन्न थालेपछि नयराजले उनीहरूलाई ‘तपाईंहरू बलवान् हुनुहुन्छ भने च्यात्नुहोस्’ भनी हाँक दिए। त्यसपछि बाइन्डिङ भइसकेको प्रज्ञाको उक्त अंकबाट नयराजको लेख हटाएर त्यसको ठाउँमा राजाहरू पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्र र वीरेन्द्रका वाणीहरू भरेर प्रकाशन गरियो।

यसरी आफ्नो लेख बलजफ्ती हटाइएपछि नयराजले प्रज्ञाको सम्पादक मण्डलबाट राजीनामा दिए। माधवप्रसादहरूलाई लागेको थियो, अब नयराज पन्तविरुद्ध राजद्रोहको आरोप लाग्छ। तर अचम्म, त्यसको एक वर्षपछि नयराजले गोरखा दक्षिण बाहु (दोस्रो) पाए। बिहानै रेडियो नेपालले विभूषण पाउने सूचीमा नयराजको नाम पनि प्रसारण गरिसकेको थियो। १० बजे नयराज प्रज्ञा-प्रतिष्ठानमा पुग्दा मूलगेटमा उनको भेट भयो, उपकुलपति माधवप्रसादसँग। प्रज्ञा-प्रतिष्ठान परिसरमा भेट हुँदा खुसी भए जस्तो गरेर नयराजलाई माधवप्रसादले भनेछन्, ‘बधाई!’

‘नमस्कार, यो सबै तपाईंहरूको कृपाले गर्दा भएको हो,’ यति भनेर नयराज सरासर आफ्नो कार्यकक्षतिर बढे, नयराजलाई हिजो राजद्रोहको अभियोग लगाउन तम्सने उपकुलपति माधवप्रसाद नयराजलाई राजाले विभूषण प्रदान गर्ने निर्णय गरेको देखेर जिल्लाराम परेका थिए।

‘अराष्ट्रिय तत्त्व’ को घरमा

त्यसबेला बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्केका थिए। राज्यको तत्कालीन संस्थापन पक्ष अर्थात् पञ्चायती व्यवस्थाको परिभाषामा बीपी र कांग्रेसजन ‘अराष्ट्रिय तत्त्व’ थिए।

राजनीतिक रूपमा तत्कालीन व्यवस्थाका निम्ति बागी भए पनि बीपी पूर्वप्रधानमन्त्रीका साथै सिर्जना र प्रज्ञाको दृष्टिकोणले प्रतिष्ठित लेखक पनि थिए।

कथित ‘अछुत’ को विवाहमा सरिक हुनुमा पनि नयराजभित्रको एउटा विद्रोही स्वभावले काम गरेको थियो।

त्यसबेला उनकी छोरी चेतनाको विवाह आचार्य दीक्षित खलकका प्रवीणमणि दीक्षितसँग हुँदै थियो। चाबहिलस्थित घरमा वैवाहिक समारोह आयोजना गरिएको थियो। एक साहित्यकारको हैसियतले बीपीले प्रज्ञा-प्रतिष्ठानका तत्कालीन कुलपति लैनसिंह बाङ्देल, उपकुलपति माधवप्रसाद घिमिरेलगायत सबै प्राज्ञहरूलाई वैवाहिक जीवनमा प्रवेश गर्दै गरेकी छोरीलाई आशीर्वाद दिएर जलपान ग्रहण गर्न निम्तो पठाएका थिए। तर, ती प्राज्ञहरू बीपीकी छोरीको विवाहमा गएनन्। तत्कालीन व्यवस्थाको नजरमा ‘अराष्ट्रिय तत्त्व’ बीपीको घरमा आयोजित वैवाहिक समारोहमा सहभागी हुने प्राज्ञमध्ये नयराज एक्ला थिए। उनी ठमठम हिँड्दै बीपीको घरमा पुगेर दुलही चेतनालाई १० रुपैयाँ गोडधुवा दिएर फर्के। उनले त्यहाँ भनेका थिए, ‘यदि छोराको विवाह भएको भए म नआउन पनि सक्थेँ, तर छोरीको विवाह भएकाले म आशीर्वाद दिन आएको हुँ।’

तत्कालीन कुलपति, उपकुलपति मात्रै होइन, कुनै समय आफूलाई क्रान्तिकारी ठान्ने भूपी शेरचनसमेत बीपीको घरमा जान हच्किए, तर नयराज पन्तलाई त्यसको कुनै पर्वाह भएन।

नयराज वैवाहिक समारोहमा आइपुगेको देखेर सबैभन्दा पहिले उनको स्वागतमा देखा परेका थिए, कृष्णप्रसाद भट्टराई। उनले ‘पण्डितजी’ भन्दै निकै सम्मानका साथ निम्तालु नयराजको स्वागत गरेका थिए।

कथित ‘अछुत’ को विवाहमा

त्यसबेला रामशरण दर्नाल प्रज्ञा प्रतिष्ठानको संगीत शाखामा कार्यरत थिए। नेपालका विरलाकोटीका संगीत अन्वेषक उनी युगौँदेखि जातिभेदले थिचिएको समुदायमा जन्मेका थिए। अन्धविश्वासी समाजका लागि उनी ‘अछुत’ थिए।

संगीत अन्वेषकका रूपमा नाम कमाएका काठमाडौँका रैथाने रामशरणको परिवारको कुटुम्ब गाँसियो पूर्वी नेपालका प्रतिष्ठित व्यक्तित्व पदम सुन्दासको परिवारसँग। पदम त्यसबेला निर्माण व्यवसायमा थिए र प्राज्ञिक हिसाबले ओभरसियर। पछि उनी राजदूत पनि भए।

नयराजले हाँक दिए, ‘लौ सक्छौ भने कालोमोसो दलेर ठेलामा राखेर घुमाऊ। तर, म मेरो छातीमा ‘प्रजातन्त्रमा विद्वान्‌को कदर यसरी नै हुँदो रहेछ’ भन्ने लेखिएको प्लेकार्ड झुन्ड्याउँछु।’

रामशरणका जेठा छोरा प्रकाशको विवाह पदमकी जेठी छोरी एन्जेलासँग १७ वैशाख २०४२ मा भएको थियो। प्रज्ञा-प्रतिष्ठानका कर्मचारी रामशरणले छोराको विवाहमा कुलपति, उपकुलपतिलगायत सबै प्राज्ञलाई निम्तो दिए। काठमाडौँ, क्षेत्रपाटी-कालधारास्थित आफ्नै निवासमा दिइएको यो निम्तो मान्न ठमठम हिँडेर पुग्ने प्राज्ञ चाहिँ उनै नयराज मात्रै थिए। अन्धविश्वासी समाजले बनाएको कथित ‘अछुत’ को विवाहमा जान ती प्राज्ञहरू हिचकिचाएर जातिभेदलाई प्रश्रय दिए। तर, नयराज उनीहरूभन्दा विपरीत थिए। कथित ‘अछुत’ को विवाहमा सरिक हुनुमा पनि नयराजभित्रको एउटा विद्रोही स्वभावले काम गरेको थियो।

त्यस वैवाहिक समारोहमा नयराजले केही पनि खाएनन्। उनी आफ्नो घरभन्दा बाहिर कतै पनि खानपिन गर्दैनथे।

नेपाल सरकारको पुरातत्त्व विभाग र राष्ट्रिय अभिलेखालयमा रहेर लामो समय पुरातात्त्विक अन्वेषण गरेका प्रकाश दर्नाल आफ्नो विवाहको समयमा साझा प्रकाशनमा जागिरे थिए। विवाहको निम्तो मान्न आफ्नो घर आउनुअघि प्रकाशले नयराजलाई चिनेका थिएनन्। त्यही दिनदेखि उनले नयराजको विद्वत् व्यक्तित्त्वबारे थाहा पाए। नयराजको आगमनले प्रकाशको विवाह समारोह पनि प्रकाशमय भएको थियो।

मोसो थाप्न तयार

विसं २०४६ को परिवर्तनपछि तत्कालीन उपकुलपतिलगायत सबै प्राज्ञले आफ्नो पदबाट राजीनामा बुझाए। त्यसबेला भने राजा नै प्रज्ञा-प्रतिष्ठानको कुलपति हुने व्यवस्था थियो। तर, राजीनामा नबुझाउनेमा उनै नयराज एक्ला थिए। उनको तर्क थियो, ‘म यहाँ काम गर्न आएको हुँ। काम गरिरहेको मान्छेले किन राजीनामा दिने? कसैले भन्दैमा म राजीनामा दिन्नँ।’

तर, प्रज्ञा-प्रतिष्ठानमा बहुदलवादी साहित्यकारहरूले हुलहुज्जत गरे। उनलाई राजीनामा दिन दबाब मात्रै दिएनन्, राजीनामा नदिए मोसो दलेर ठेलामा राखी सहर घुमाउने चेतावनी पनि दिए। उनीहरूलाई नयराजले हाँक दिए, ‘लौ सक्छौ भने कालोमोसो दलेर ठेलामा राखेर घुमाऊ। तर, म मेरो छातीमा ‘प्रजातन्त्रमा विद्वान्‌को कदर यसरी नै हुँदो रहेछ’ भन्ने लेखिएको प्लेकार्ड झुन्ड्याउँछु।’

त्यसपछि हुलहुज्जत गर्न पुगेका बहुदलवादी साहित्यकारहरू उनीसँग हच्किए। बरु कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेको अन्तरिम सरकारले उनलाई फेरि प्राज्ञमा नियुक्ति गर्‍यो। किनकि, प्रधानमन्त्री भट्टराई नयराजको विद्वत्ताबारे परिचित थिए।

नयराज पन्त यस्ता गुणहरूले सम्पन्न थिए। उनी विद्वान् त थिए नै, चट्टानी अडान भएका निर्भीक र विद्रोही पनि थिए।