काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

आवरण

बस्ती भत्काइएपछि सरकारले व्यवस्था गरेको आश्रयस्थलमा बसिरहेका भूमिहीन सुकुम्बासीलाई समस्याको खात

अम्बिका दर्जी र सुत्केरी सबिना नेपाली (दायाँ)। तस्बिरहरू : लोकेन्द्र विश्वकर्मा
अ+
अ-

टेन्टको बार हालिएको अस्थायी बास। रातको समयमा हावाहुरी र पानी।

थापाथलीबाट विस्थापित भएर कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा आश्रय लिइरहेका भूमिहीन सुकुम्बासी निरज थापा (३४)को परिवारलाई मंगलबार (१५ वैशाख)को रात काट्न निकै कठिन भयो। हावाहुरी र पानी टेन्ट छिचोलेर पस्यो। वृद्ध आमाबुवा, श्रीमती र तीन छोरीसहित सात जनाको परिवार रातभर अनिँदो बस्न बाध्य भयो।

गत १२ वैशाखमा थापाथलीस्थित बागमती किनारको बस्तीबाट हटाएर उनीहरूलाई कीर्तिपुरको ‘होल्डिङ सेन्टर’ पुर्‍याउँदा केही दिन त्यहाँ राखेर छिटै व्यवस्थापन गरिने भनिएको थियो। तर, आश्रममा न बासको राम्रो प्रबन्ध गरिएको छ, न त्यस्तो भद्रगोल अवस्थामा कति दिनसम्म राखिने र कहिले व्यवस्थापन हुने हो भन्ने कुनै टुंगो छ।

यहाँ कहिलेसम्म राखिने र अब कहाँ जाने, के गर्ने भन्ने अनिश्चित रहेको निरज बताउँछन्। “पानी परेको बेला त रातभर बिजोग हुन्छ। हावाहुरी र पानी ओछ्यानसम्मै आउँछ। पानीबाट आफू र सरसामान जोगाउँदा नै हैरान भइन्छ,” उनी भन्छन्, “आफ्नो बास भत्काइँदाको पीडा त छँदै छ, उठाएर यहाँ राखिएको ठाउँमा पनि समस्या नै समस्या छ।”

निरज थापाको परिवार।

ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने उनको परिवार बस्दै आएको थापाथलीको बस्तीमा १२ वैशाखमा सरकारले डोजर चलायो। उपत्यकाभित्र सिनामंगलस्थित गैरीगाउँ, मनोहरालगायत क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलाइँदा धेरै जना घरबारविहीन भए। जसमध्ये थापाथली, गैरीगाउँलगायत बस्तीबाट विस्थापित ४९ परिवारका १२६ जनालाई कीर्तिपुरको आश्रममा राखिएको काठमाडौँ महानगर प्रहरी र नेपाल प्रहरीको तथ्यांक छ। तीमध्ये ६२ महिला, ४९ पुरुष, ११ बालिका र चार जना बालक छन्। उनीहरूमध्ये अधिकांशको अवस्था कष्टकर छ। आश्रममा थप मानिस आउने क्रम जारी रहेकाले यो संख्या बढी हुन सक्ने प्रहरीको भनाइ छ।

घरटहरा भत्काउँदा विस्थापित सुकुम्बासीहरूलाई यो आश्रमसँगै दशरथ रंगशालाको होल्डिङ सेन्टर र विभिन्न होटलमा राखिएको छ।

विस्थापित सुकुम्बासी परिवारले कीर्तिपुरमा आश्रय लिन थालेको पाँच दिन बितिसक्यो। यी केही दिनमै उनीहरूलाई खानपिनको असुविधा, हावाहुरी र वर्षाको सास्ती, औषधोपचारको अभाव र बालबालिकाको पढाइको अन्योलले सताएको छ।

निरजको टेन्टछेउमै रहेकी चार महिनाकी सुत्केरी सबिना नेपालीको अवस्था झनै कारुणिक देखिन्छ। सिनामंगल, गैरीगाउँमा भएको बास भत्काइएपछि उनी यहाँ आइपुगेकी हुन्। चार महिनाकी छोरीकी आमा उनी यहाँ आएदेखि बिरामीजस्तै भएकी छिन्। बेलाबेला रोइराख्छिन्। सुत्केरी ज्यानले पोसिलो खाना खान पाउनु त परको कुरा, अरूहरूलाई दिइनेसरहकै राम्ररी नपाकेको खाना खानुपरेको छ। “यहाँको खाना राम्रोसँग पाकेको हुँदैन। आफैँले बाहिरबाट माछामासु जस्ता पोसिलो खानेकुरा ल्याउन पनि अनुमति छैन। शरीर गल्दै गएको छ, हातखुट्टा काँप्न थालिसके,” उनी पीडा पोख्छिन्।

कीर्तिपुरस्थित राधास्वामी आश्रममा रहेकी सुत्केरी।

यहाँ आएदेखि उनले माछामासुलगायत पोसिलो आहार खान पाएकी छैनन्। यो आश्रम धार्मिक थलो भएकाले माछामासु ल्याउन बन्देज छ।

आश्रममा खाजा प्राय: डोनट र चिया दिइन्छ। पोसिलो खानाको आवश्यकता रहेकी सबिना पनि हामी जाँदा डोनट टोकिरहेकी थिइन्।

आश्रममा खटिएका प्रहरीहरूका अनुसार पक्षाघातले थलिएकी विमला सुनुवारसहित सुत्केरीहरू सबिना नेपाली, पवित्रा थापा, अञ्जली पासवान, चन्द्रकला र दुई जना गर्भवतीका परिवारले निकै सास्ती भोगिरहेका छन्। उनीहरूका लागि आवश्यक पर्ने खाना र औषधोपचार जस्ता आधारभूत सुविधा पुग्न सकेको छैन। उनीहरूलाई आश्रमबाट होटल वा अन्य कुनै व्यवस्थित स्थानमा तत्काल सार्नुपर्ने त्यहाँ खटिएका प्रहरी अधिकृतहरूले निष्कर्ष निकालेका छन्।

खाना र पानीको समस्या

मंगलबार कीर्तिपुर पुग्दा राधास्वामी सत्संग आश्रममा रहेका १५ भन्दा बढी परिवारसँग हामीले कुराकानी गर्‍यौँ। त्यस क्रममा उनीहरूसँग न त सुरक्षित बसोबासको छ, न त पर्याप्त खानेपानी, न स्वास्थ्य सेवा। साँझपख दर्किरहने पानीले उनीहरूलाई झन् समस्या थपेको छ।

उनीहरूले अव्यवस्थित बाससँगै खानाप्रति गुनासो गरे। खानपिनको व्यवस्था राम्रो नहुँदा बालबालिकाले खानै नसक्ने निरज बताउँछन्। आलोकाँचो खानाकै कारण छोरीलाई पखाला चलेको उनी सुनाउँछन्। काठमाडौँ महानगरपालिकाले बाहिरबाट तयारी खाना ल्याएर खुवाउने गरेको छ। “खाना राम्ररी पाकेकै हुँदैन, बालबालिका, वृद्ध, सुत्केरी, बिरामीलाई खुवाउने जस्तो हुँदैन। हामी त जसोतसो चपाएर पेट भरौँला, तर साना बच्चाहरूले खान र खाए पनि पचाउन सक्दैनन्,” उनी भन्छन्, “खानपिनको समस्या र असुरक्षित बासकै कारण छोरीहरू बिरामी भए।”

त्रिकराम पकुसा कसाईं।

आश्रम भएकाले बच्चाहरूलाई अन्डालगायत खानेकुरा खुवाउन पनि नमिलेको उनी बताउँछन्। उनकी काखे छोरी पनि छिन्, जो ठूलो मान्छेका लागि पकाइएको खाना खान सक्दिनन्। “थापाथलीको टहरामा छँदा जाउलो बनाएर खुवाइन्थ्यो, अहिले उसलाई ठूला मानिसकै खाना खुवाउन बल गर्नुपरेको छ,” उनी भन्छन्।

यस ठाउँमा खानेपानी व्यवस्थापनमा असहजता रहेको सुकुम्बासीहरू बताउँछन्। ४९ परिवारका लागि पानी खान जम्मा दुई वटा जारजडित धाराको व्यवस्था गरिएको छ।

सुरक्षा घेरा र निगरानी

आश्रममा सुकुम्बासीहरूलाई नेपाल प्रहरी र काठमाडौँ महानगरको प्रहरीले कडा सुरक्षा घेरामा राखेको छ। जताततै सीसीटीभी क्यामेरा जडान गरिएको छ। केही सुकुम्बासीसँग कुराकानी गर्दा आफूहरू हरबखत सीसी क्यामेराको निगरानीमा रहेको बताउँछन्।

आश्रमभित्र भूमिहीनलाई राखिएको टेन्ट।

काठमाडौँ महानगरले बाहिरबाट खाना ल्याएर आश्रित सुकुम्बासीहरूलाई बाँड्ने गरेको छ। त्यस क्रममा महानगरका प्रतिनिधिले अपमानको भाषा प्रयोग गरेको उनीहरूको पीडा छ। “खाना बाँड्ने क्रममा ‘यस्तो खाना कहिले खाएका छौ’ भनेर सोधे। यसले हाम्रो आत्मसम्मानमा चोट पुग्यो,” सुरक्षा निगरानीका कारण नाम नबताएका एक सुकुम्बासी भन्छन्।

फराकिलो खुला क्षेत्रमा एकै ठाउँमा राखिएका कारण असुरक्षाको अवस्था रहेको उनीहरूको भनाइ छ। धेरै परिवारलाई खुला ठाउँमा राखिएको र हुर्केबढेका छोरीहरू हुँदा असुरक्षित महसुस गरेको केही महिला बताउँछन्।

पठनपाठनको अन्योल

सरकारले टहरा भत्काइदिएपछि निरजलाई एकैसाथ विभिन्न समस्याले घेरेको छ। उनकी श्रीमती ग्रिवाणिका (२५) को कक्षा १२ को बोर्ड परीक्षा चलिरहेको छ। आश्रममा आएर बस्न थालेयता परीक्षाको तयारी शून्यजस्तै छ। भएका किताबहरू थापाथलीबाट विस्थापित हुँदा टहराकै भग्नावशेषमा पुरिए। धन्न एउटा किताब जोगाएर ल्याएकी थिइन्। तर, आश्रममा न  बत्तीको पर्याप्त उज्यालो छ, न त इन्टरनेट सुविधा।

“यहाँ त पढ्ने वातावरण नै छैन, पढ्ने मनस्थिति पनि छैन। जसोतसो परीक्षा त दिनैपर्‍यो भनेर कालीमाटी गएर दिइरहेकी छु,” ग्रिवाणिका पीडा सुनाउँछिन्, “सरकारले हाम्रो घरव्यवहार र जीवन नै खलबल्याइदियो।”

स्कुल जान नपाएपछि आश्रममै पढिरहेका बालबालिका।

ग्रिवाणिकालाई परीक्षासँगै भविष्यको चिन्ता छ। एकातिर टहरा भत्किएर विस्थापित हुनुको पीडा छ, अर्कातिर खानपिन नमिलेर र वर्षाको पानी ओछ्यानसम्मै पुगेर छोरीहरू बिरामी परेको छटपटी छ। “स्कुल जाने छोरीहरू यस्तो अवस्थामा छन्। उनीहरूलाई अब कहाँ पढाउने के गर्ने, साह्रै पीर हुन्छ,” उनी भन्छिन्।

उनका दुई छोरी त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा पढिरहेका थिए। एक छोरी कक्षा १ र अर्की कक्षा ३ मा। उनीहरूका पाठ्यपुस्तक पनि भत्किएकै टहरामा पुरिए। थापाथलीबाट उठिबास लागेयता उनीहरूको पढाइ अवरुद्ध छ।

छोरीहरूको पढाइ, श्रीमतीको परीक्षा र नियमित जीवनयापनका लागि निरजले थापाथली आसपास क्षेत्रमा कोठा खोजेका थिए। तर, बस्ती भत्काउन सरकारले दिएको छोटो समयमा कोठा पाउन सकेनन्। त्यसमा पनि सुकुम्बासी भएका कारण भाडामा बस्न कोठा कसैले दिएनन्। “कोठा कति खोज्यौँ, सुकुम्बासी भन्ने थाहा पाएपछि दिएनन्। बुवाआमा हुनुहुन्छ, उहाँहरूलाई यहाँ दिएको खानेकुरा खुवाउने अवस्था छैन। बच्चाहरूलाई जाउलो पकाउन खोज्दा पनि पकाउन पाइएको छैन,” उनी भन्छन्, “सहजै बाहिर निस्कन पनि दिइएको छैन।”

कीर्तिपुरस्थित राधास्वामी आश्रम।

घरबार ध्वस्त भएर फरक ठाउँमा आश्रय लिन पुगेका सुकुम्बासीहरूलाई मानसिक स्वास्थ्य समस्याले नसताओस् भनेर काठमाडौँ महानगरपालिकाको समन्वयमा मनोपरामर्शदाताहरूले सेवा दिइरहेका छन्। ती परामर्शदाताका अनुसार विस्थापित सुकुम्बासीहरूमा तनाव, बेचैनी, अत्यास जस्ता मानसिक समस्या देखिएको छ।

संवेदनहीन सरकार

बस्ती खाली गर्न निकै छोटो समय दिएर भूमिहीन सुकुम्बासीहरूलाई बलपूर्वक हटाएको सरकारले विस्थापितहरूलाई केही समय राख्दा पनि पीडा नै दिएको देखिन्छ। व्यवस्थापनको राम्ररी तयारी र योजना नै नबनाई सरकारले विस्थापित बनाएकाहरू त्यही पीडा भोगिरहेका छन्।

कीर्तिपुरस्थित आश्रमलगायत ठाउँमा आश्रय लिइरहेका भूमिहीन सुकुम्बासीहरूले भोगिरहेका समस्या र असुविधाबारे सरकार अनभिज्ञ भने छैन। काठमाडौँ महानगरपालिकादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्मलाई उनीहरूको दयनीय अवस्थाबारे पूर्ण जानकारी छ।

सबिना नेपाली।

१५ वैशाखको दिउँसो महानगर प्रहरीले प्रधानमन्त्री कार्यालयबाट आश्रममा खटिएका अधिकारीहरूलाई त्यहाँको वास्तविकताबारे अवगत गराएको थियो। विशेषगरी, खाना राम्रोसँग नपाकेको, बालबालिकाहरू बिरामी परेको, गर्भवती र सुत्करीलाई निकै समस्या भएको, बिरामीले औषधि नपाएको र एक सयभन्दा बढी मानिसका लागि जारको पानी केवल दुई ठाउँमा उपलब्ध गराइएको जस्ता संवेदनशील विषयबारे ध्यानाकर्षण गराइएको थियो।

कीर्तिपुरमा आश्रय लिएका सुकुम्बासीहरूको अवस्था बुझ्न १५ वैशाखमै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु न्यौपाने (दर्शना) पुगेकी थिइन्। त्यहाँको अवस्था बुझेपछि उनले समस्यालाई गम्भीर रूपमा लिन प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई ध्यानाकर्षण गराएकी थिइन्। उनले ती अधिकारीहरूलाई महिला, बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिकहरूको पीडाप्रति संवेदनशील हुन आग्रह गरेकी थिइन्। “यहाँ खानेकुरादेखि टेन्टसम्म अनगिन्ती समस्या छन्। यसलाई प्रधानमन्त्री कार्यालयले गम्भीरताका साथ लिनुपर्छ,” उनले भनिन्, “सुकुम्बासी भएकै कारण उनीहरूलाई हेप्न पाइँदैन; उनीहरूलाई त प्रधानमन्त्रीको पाहुनाका रूपमा सम्मानजनक ढंगले व्यवस्थापन गर्नुपर्छ, यसरी बिचल्लीमा पार्नु हुँदैन।”

पीडितहरूसँग काठमाडौँ १ बाट निर्वाचित सांसद रञ्जु दर्शना।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बिरामी र सुत्केरीहरूलाई तत्काल होटल वा सुरक्षित स्थानमा सार्ने, खाना-पानीलगायत आधारभूत पाटोमा सुधार गर्ने आश्वासन दिएका थिए।

सरकारले १० वैशाखमा सूचना जारी गरेर काठमाडौँ उपत्यकाका नदी किनारमा अवैध रूपमा बनाइएका घरटहरा भोलिपल्ट साँझ ७ बजेभित्र खाली गर्न भनेको थियो। नहटे १२ वैशाख बिहान ६ बजेदेखि संरचनाहरू भत्काइने चेतावनी दिएको थियो। सोहीअनुसार १२ र १३ वैशाखमा उपत्यकाका चार वटा सुकुम्बासी बस्तीमा दुई हजार ८१ परिवारको घरटहरा भत्काइएको प्रहरीले जनाएको छ। जसमध्ये गैरीगाउँमा एक हजार, थापाथलीमा १४४, मनोहरा वारि-पारि ९३७ घरपरिवारको टहरा भत्काइएको हो।

सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती खाली गरेर उनीहरूलाई व्यवस्थापन गर्ने बताएको सरकारले वास्तविक सुकुम्बासीको लगत संकलन गरिरहेको छ। काठमाडौँ उपत्यकामा १५ वैशाखसम्म एक हजार १२४ परिवारका तीन हजार ५८४ जना भूमिहीन सुकुम्बासीले निवेदन दिएको काठमाडौँ महानगरपालिकाको तथ्यांक छ।