विचार
असल पत्रकारिताले सुखद परीकथाको अन्त्य जस्तो होइन; प्रमाण र सीमिततासहितका वस्तुनिष्ठ समाधान प्रदान गर्दछ।
खासमा म रेडियो रिपोर्टर हुँ। छापा माध्यमका लागि पनि काम गर्छु, तर धेरै होइन। दुवैका लागि कार्यविधि एउटै हुन्छ, तर रेडियोमा कसैको शब्दलाई आफ्नै शब्दमा व्याख्या गर्न सकिँदैन। उनीहरूले जे भनेका छन्, ठ्याक्कै त्यही प्रयोग गर्नुपर्छ। जब म केही रेकर्ड गर्छु, त्यसलाई परिवर्तन गर्न सक्दिनँ; केवल सन्दर्भ मात्र दिन सक्छु।
भिडिओका लागि स्क्रिप्ट लेख्ने तरिका पनि छापा वा लेख्य माध्यमभन्दा फरक हुन्छ। त्यसमा पनि कसैले बोलेको कुरा परिवर्तन गर्न सकिँदैन। ‘जम्प कट’ प्रयोग गर्न र सम्पादन गर्न सकिन्छ, तर बोलेका शब्दहरू उही रहन्छन्। लेखनमा भने व्याख्या गर्ने र सन्दर्भ दिने स्वतन्त्रता बढी हुन्छ। सामग्री तयार पार्न बढी समय लिन सकिन्छ र लामो बनाउन पनि सजिलो हुन्छ। तर, अडियो र भिडियो माध्यममा समय निश्चित हुन्छ, उदाहरणका लागि तीन मिनेट, आठ मिनेट वा २६ मिनेट।
समाचारमा समाधान
म ‘ब्रेकिङ न्युज’ मा काम गर्दिनँ। वातावरण, विज्ञान र महिला अधिकारका कथाहरूमा केन्द्रित हुन्छु। भारतमा बस्छु, तर राजनीति समेट्दिनँ। त्यस्ता कथाहरू भन्छु जहाँ समस्याहरू छन्, जस्तै प्रदूषण, तस्करी वा वन फँडानी।
परम्परागत पत्रकारितामा हामीलाई ‘समस्या नै कथा हो’ भनेर सिकाइन्छ। तर, मैले ‘सोलुसन्स जर्नालिज्म’ शब्द सुन्नुअघि नै बीबीसीका सम्पादकहरूले मलाई ‘यसको सन्दर्भ के हो? के यो अनुकरणीय र विस्तारयोग्य छ?’ जस्ता प्रश्न सोध्न प्रोत्साहित गर्थे। भारतबाट लगभग ३० लाख विश्वव्यापी श्रोताका लागि रिपोर्टिङ गर्दा यी प्रश्न धेरै महत्त्वपूर्ण छन्।
नेपालन्युजका पाठकहरू स्वदेश वा विदेशमा रहेका नेपालीहरू हुन्। त्यसैले विषयहरूलाई ‘जुम आउट’ गर्दै बृहत्तर दृष्टिकोणबाट हेर्न आवश्यक छ। उदाहरणका लागि, यदि मानिसहरूले रूख काटिरहेका छन् भने त्यसले के संकेत गर्छ? यसको आर्थिक, वैज्ञानिक वा सांस्कृतिक सन्दर्भ के हो? समाचार लेख्दा व्यापक रूपमा सोच्नुपर्छ र समाधान खोज्ने प्रयास गर्नुपर्छ।
‘सोलुसन्स जर्नालिज्म नेटवर्क’ सँगको तालिमपछि मैले महसुस गरेँ कि समाधानमुखी पत्रकारिता जानकारीका लागि मात्र होइन, यो मानिसहरूलाई अघि बढ्ने प्रेरणा दिन पनि उत्तिकै महत्त्वपूर्ण छ।
पाठकको रुचि
‘कम्प्यासन फटिग’ भन्ने शब्द सुन्नुभएकै होला। यसको अर्थ हो, जब तपाईं बाटोमा १० जना भिखारी देख्नुहुन्छ, अन्ततः उनीहरूलाई वास्ता गर्न छोड्नुहुन्छ। जब मानिसहरूले हरेक दिन बमबारी भएका अस्पताल र बसबारे समाचार सुन्छन्, उनीहरूले ध्यान दिनै छोडिदिन्छन्।
त्यसो भए मानिसहरूलाई कसरी बुझाउने? अध्ययनहरूले देखाएका छन् कि जब तपाईं सन्दर्भका साथ समाधानको मार्ग देखाउनुहुन्छ, मानिसहरूले बढी चासो लिन्छन्। निराश हुनुको सट्टा सशक्त भएको महसुस गर्छन्। त्यसका लागि समस्याका साथसाथै समाधान पनि प्रस्तुत गर्नुपर्छ। यद्यपि, त्यो समाधान कुनै चमत्कार जस्तो हुनु हुँदैन।
‘हामीले सबै कुरा ठीक गर्यौँ, अब भ्रष्टाचार हुनेछैन’ जस्ता वाक्यांशहरू वास्तविक जीवनमा लागु हुँदैनन्। यसप्रकारको समाचारमा ‘पीआर’ कथा वा व्यक्तिपूजा हुनु हुँदैन। बरु त्यसमा समाधानका सीमितताबारे चर्चा गर्नुपर्छ।
भारतबाट रिपोर्टिङ गर्दा मेरा मुख्य सीमितताहरू पैसा, समाचारप्रति चासो वा सक्रियताको अभाव हुन्। तर, यी कुराहरू उल्लेख गर्नुपर्छ र परिवर्तन ल्याउन के आवश्यक छ भन्ने बारेमा कुरा गर्नुपर्छ। त्यसो गर्दा काठमाडौँ वा पेरुको लिमामा बसेका कोही व्यक्तिलाई लागोस् कि ‘हाम्रोमा पनि यो समस्या छ। यसमा त्यसरी काम भइरहेको रहेछ, यसलाई मेरो क्षेत्रमा कसरी लागु गर्न सक्छु कि?’ यसो भन्दै गर्दा म यो भनिरहेको छैन कि पत्रकारले कुनै अभियान वा आन्दोलनको नेतृत्व गर्नुपर्छ, तर कम्तीमा एउटा विचार वा सम्भावित समाधान प्रस्तुत गर्न सकिन्छ।
म आफूलाई एक सकारात्मक पत्रकार मान्छु। त्यसैले केवल समस्याहरूमा मात्र केन्द्रित हुन्नँ। तिनलाई समाधानको दृष्टिकोणबाट हेर्छु। ठीक छ, एउटा समस्या छ, तर कसैले केही फरक गर्ने प्रयास गरिरहेको छ। त्यो पूर्ण रूपमा सफल नहुन सक्छ; सीमाहरू हुन सक्छन्; तर हामीले त्यसबाट के सिक्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ। यसो गरेर विषयलाई पूर्ण रूपमा प्रस्तुत गर्न सकिन्छ।

भारतीय पत्रकार छवि सचदेव। तस्बिर : बिक्रम राई
भारतको एउटा समाचार साइटले सकारात्मक समाचारहरू प्रस्तुत गर्दछ। उदाहरणका लागि, कसैले पैसा बचत गर्न घरमै च्याउखेती गरिरहेको, कसैले जनावरहरूको उद्धार गरिरहेको वा कसैले ताल पुनर्जीवित गरिरहेको। तर, यो ‘सोलुसन्स जर्नालिज्म’ होइन। ‘वाह, कति राम्रो’ भन्ने खालका समाचारहरू रचनात्मक हुँदैनन्, किनभने ती अपूर्ण हुन्छन्। ती ठ्याक्कै परीकथाहरू जस्तै हुन्, जहाँ अन्त्यमा ‘अनि उनीहरू सधैँभरि खुसीसाथ बसे’ भनिन्छ। मानौँ, त्यसपछि केही भएकै थिएन, वा लुगा कसले धुने वा कसले धेरै काम गर्यो भन्ने विषयमा उनीहरूबीच कहिल्यै झगडा भएन। हामी त्यस्ता कुरामा विश्वास गर्दैनौँ।
प्रतिक्रिया होइन, प्रमाण
म एउटा ‘कथा’ बारे बताउँछु, जुन मैले भर्खरै लेख्न अस्वीकार गरेँ, किनभने त्यसले समाधानमुखी पत्रकारिताको मापदण्ड पूरा गरेन। मैले काभ्रेपलान्चोकको पनौतीबारे धेरै सुनेकी थिएँ। त्यहाँ ‘कम्युनिटी होमस्टे’ सुरु भएको छ। उनीहरू नाफा संकलन गर्छन्, जसको ८० प्रतिशत समुदायमा फिर्ता जान्छ र २० प्रतिशत सञ्चालकहरूले राख्छन्। यसैमार्फत उनीहरूले सम्पदा संरक्षण गरिरहेका छन्। यो एक अद्भुत पहल हो।
यस्तो कार्यले ‘रिभर्स माइग्रेसन’ निम्त्याएको छ। मानिसहरू आफ्नो घर छोड्दैनन्; उनीहरू काठमाडौँ वा दिल्ली जानुको सट्टा त्यहीँ बस्न चाहन्छन्। यद्यपि, यो प्रमाणित गर्ने कुनै ठोस तथ्यांक छैन। त्यहाँ केवल व्यक्तिगत अनुभवहरूमा आधारित किस्साहरू छन्।
समाधानमुखी पत्रकारिता केवल प्रतिक्रिया होइन, प्रमाण पनि हो। विज्ञान पत्रकार पनि भएकाले मलाई केही कुरा वास्तवमा भइरहेको छ भनेर प्रमाणित गर्न स्वतन्त्र स्रोत वा तथ्यांक आवश्यक पर्दछ। र, कथाका सीमा पनि खुलाउनुपर्छ। यो कुनै समस्या नभएको ‘फिल-गुड’ (सुन्दा राम्रो लाग्ने) आलेख मात्र हुन सक्दैन।
यसपटक मसँग यस कथालाई पूर्ण न्याय गर्न समय वा सीप थिएन। खोजमूलक पत्रकारिता गर्न समय निकाल्न सकिनँ। घर घर गएर सर्वेक्षण गर्न र तथ्यांक संकलन गर्न धेरै समय, पैसा र समाजशास्त्रीय उपकरणहरू चाहिन्छ, जुन मसँग छैन। हुनसक्छ, कसैले त्यो काम गरेपछि पछ्याउन वा थप काम गर्न सक्छु वा कसैले यसलाई समाधानमुखी पत्रकारिताको समाचार कथामा बदल्न पनि सक्छ। त्यसका लागि उक्त कार्य साँच्चै सफल भएको छ कि छैन भनेर हेर्न केही तथ्यांक खोज्नुपर्छ। यसका लागि केही विज्ञहरूसँग कुरा गर्न सकिन्छ। यसो हुँदा कथाप्रति न्याय हुन्छ।

नेपालन्युज समाचार कक्षमा छलफल गर्दै भारतीय पत्रकार छवि सचदेव। तस्बिर : बिक्रम राई
मलाई थाहा छ– तपाईंहरू पनि कसैले भनेको कुरालाई आँखा चिम्लेर विश्वास गर्नुहुन्न। यसपटक मैले यसबारे कुरा गर्न कुनै शैक्षिक अनुसन्धाता वा निष्पक्ष व्यक्ति फेला पार्न सकिनँ, सायद यो धेरै नयाँ विषय भएकाले पनि होला। म यो काम तपाईंहरूलाई छोड्छु। तर सम्झनुहोस्, तपाईंले पनि मापदण्डहरू पूरा गर्नुपर्छ।
यो कथा छोड्नुपर्दा मलाई दुःख लागेको थियो। म साँच्चै पनौती जान र सामुदायिक होमस्टेमा बस्न चाहन्थेँ, तर सकिनँ। किनभने, मैले आफूलाई पनि केही ‘फिल्टर’ मा राख्नुपर्छ। र, म आधा काम गर्न सक्दिनँ। बीबीसीले यस्तो कथा स्वीकार पनि गर्दैन।
कथाको संरचना
नीति वा आर्थिक मामिलामा लेख्ने हे भने त्यसलाई शीर्षकदेखि नै समस्याका रूपमा प्रस्तुत गर्नु हुन्न। त्यस्ता मानिसहरूमा ध्यान केन्द्रित गर्नुपर्छ, जसले परिवर्तनका लागि प्रयास गरिरहेका छन् वा केही राम्रो गरेका छन्। मानौँ, ट्राफिक कोषको दुरुपयोग भइरहेको छ, तर त्यहाँ कुनै व्यक्तिले राम्रो काम गरिरहेको हुन सक्छ।
उक्त उदाहरणलाई प्राथमिकता दिएर भन्न सकिन्छ, ‘यसले काम गर्यो, तर बाँकीले गरेनन्।’ यसरी समाचार प्रस्तुत गर्न सकिए मानिसहरू सकारात्मक समाचारप्रति आकर्षित हुन्छन्। जब उनीहरूलाई लाग्छ, केही कुराले काम गरिरहेको छ र सबै कुरा बिग्रिएको छैन। तब उनीहरू लामो समय समाचारसँग जोडिरहन्छन्।
सर्वेक्षणहरूले देखाएका छन् कि समस्याबारे पारदर्शी रूपमा कुरा गर्दै समाधानमा ध्यान केन्द्रित गर्ने समाचार स्रोतलाई मानिसहरू बढी विश्वास गर्छन्। त्यसैले विश्वसनीयता बढाउँछ।
शीर्षक संरचना
समाचारको शीर्षक कस्ते बनाउने भन्ने कुरा तपाईं त्यसबाट के प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ। यद्यपि, शीर्षक ध्यान तान्ने हुनुपर्छ र मानव हृदयलाई छुनुपर्छ। यस्तो अवस्थामा उपशीर्षकलाई बढी वस्तुनिष्ठ बनाएर सन्तुलन कायम गर्न सकिन्छ।
शीर्षक आकर्षक हुनुपर्छ र पूर्ण नकारात्मक सन्देश दिने खालको हुनु हुँदैन। यसले सबै कुरा नराम्रो छैन, कतै आशा छ भन्ने संकेत गर्नुपर्छ। जब म रेडियो कथाहरू गर्छु, कहिलेकाहीँ सबैभन्दा बलियो पक्ष समस्या नै हुन्छ, जस्तै कसैले रोएको आवाज। तर, शीर्षक र विवरणमा हामीले पहिले नै उल्लेख गरिसकेका हुन्छौँ कि यसमा निराशा मात्र छैन, समाधान र आशा पनि छ।

शीर्षकमा प्रश्नचिह्न पनि राख्न सकिन्छ, ‘यो भइरहेको छ, तर के यसले काम गर्ला?’ यस्तो शीर्षकले पाठकलाई आफैँ बुझ्न उत्प्रेरित गर्छ। यसको जवाफ सामान्यतया ‘हो, यसले पूर्ण रूपमा काम गर्छ’ भन्ने हुँदैन। यसको जवाफ अक्सर यस्तो हुन्छ, ‘यसले धेरै हदसम्म काम गर्छ, तर यी कुरामा अझै सुधार गर्न सकिन्छ।’ विषयलाई खुला राखेर र सुरुदेखि नै आशाको संकेत दिएमा मानिसहरू आकर्षित हुन्छन्।
समाधानमुखी सोच
नकारात्मक समाचारका बीचमा पनि समाधानमुखी पत्रकारिताले साँच्चै काम गर्छ। जबसम्म हामी हल्का गफगाफको कुरा गर्दैनौँ, यसले प्रभाव पार्छ। उदाहरणका लागि, भारतको एउटा सामान्य समाचारलाई लिनुहोस्– एक धनी युवकले लापरवाहीपूर्वक गाडी चलाएर धेरै मानिसहरूको ज्यान लियो। स्वाभाविक रूपमा, सबै जना यो पढ्न चाहन्छन्, किनभने उनीहरू अम्बानी जस्ता धनी मानिसको जीवनबारे जिज्ञासु हुन्छन्।
अर्को चालकले कसरी दोष आफ्नो टाउकोमा लियो र उसलाई कति करोड रुपैयाँ तिरियो भन्ने कुरामा सबैको चासो हुन्छ। तर, त्यो अर्कै प्रकारको रिपोर्टिङ हो। मैले कुरा गरिरहेको विषय त्यो होइन। तपाईं त्यसलाई पनि समाधानमुखी पत्रकारिताका रूपमा ढाल्न सक्नुहुन्छ, तर त्यो अत्यन्त गाह्रो हुनेछ।
त्यस्ता विशिष्ट घटनाको ‘अपडेट’ दिनुको सट्टा कम उमेरमा गाडी चलाउने बृहत् समस्यालाई समाधानमुखी कथामा बदल्न सक्नुहुन्छ। धनीको छोराको कथा आफैँमा समाचार भएपछि तपाईं अरू के गर्न सक्नुहुन्छ? सायद कुनै यस्तो संस्था वा समुदायबारे लेख्न सक्नुहुन्छ, जसले मानिसलाई मादक पदार्थ सेवन गरेर वा कम उमेरमा गाडी नचलाउन शिक्षित गर्ने प्रयास गरिरहेको छ। उनीहरूले कुनै परिवर्तन ल्याएका छन् कि छैनन् भनेर खोजी गर्न सक्नुहुन्छ। उनीहरूले पक्कै पनि केही प्रभाव पारेको हुनुपर्छ।
अमेरिकामा ‘मदर्स अगेन्स्ट ड्रंक ड्राइभिङ’ संस्था छ, जुन कानुन परिवर्तन गर्नमा धेरै सफल भएको छ। के तपाईं समाधानमुखी पत्रकारिताको दृष्टिकोणबाट यस्तो कथा लेख्न सक्नुहुन्न? के मानिसहरू त्यो पढ्न चाहँदैनन् र?
‘सोलुसन्स जर्नालिज्म नेटवर्क’ को स्थापना यसैकारण गरिएको हो, किनभने यस्तो दृष्टिकोणले काम गर्छ र प्रेरणा दिन्छ। कसैले सोच्न सक्छ, ‘मेरो समुदायमा पनि यस्तै संस्था सुरु गर्न सकिन्छ।’ चाहे त्यो मानव बेचबिखनबारे होस् वा बजेटको दुरूपयोगबारे, जहाँ राम्रो काम भइरहेको छ, त्यसमा ध्यान केन्द्रित गर्दा अरूले पनि ती प्रयास पछ्याउन सक्छन्।
संसारमा बुद्धिमान् मानिसहरू छन् नै, जो परिवर्तन ल्याउन चाहन्छन्। जो सशक्त भएको महसुस गर्न चाहन्छन् र सबै कुरा सुधार्नै नसकिने गरी बिग्रिएको छ भन्ने कुरामा विश्वास गर्दैनन्। हाम्रो प्रणाली बिग्रिएको हुन सक्छ, तर आशा खोज्ने र योगदान दिन चाहने मानिसहरू सधैँ हुनेछन्। मेरो विचारमा त्यस्ता मानिसहरू अझै अस्तित्वमा छन्, र त्यसैले मलाई काम गरिरहन ऊर्जा दिन्छ।
(सचदेव भारतकी अग्रणी पोडकास्टरमध्ये एक हुन्। उनी पोडकास्ट उत्पादन कम्पनी ‘सोनोलोग’ की संस्थापक हुन्। उनका आवाज र कथाहरू बीबीसी वर्ल्ड सर्भिस, एनपीआर र डीडब्ल्यू जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्फत लाखौँसम्म पुगेका छन्। ‘सोलुसन्स जर्नालिज्म नेटवर्क’ बाट मान्यताप्राप्त समाधानमुखी पत्रकारिता प्रशिक्षक सचदेवले ४ वैशाख २०८३ मा नेपालन्युजको समाचारकक्ष भ्रमणका क्रममा व्यक्त गरेका अनुभव र विचारको सम्पादित अंश।)