भाषा
प्रज्ञा–प्रतिष्ठानको पछिल्लो बृहत् शब्दकोशले नेपाली भाषाको मानक निर्धारणमा सहयोग गर्नुपर्नेमा पुराना त्रुटि, भाषिका–प्रयोग, वर्णविन्यास र अर्थलेखनका अन्योललाई अझै अनुत्तरित छाडेको छ।
नेपाली भाषामा उपलब्ध सबभन्दा ढड्डु शब्दकोश हो– प्रज्ञा नेपाली बृहत् शब्दकोश। यसबारे कुरा गर्न सिलसिला बुन्दा निख्लो यसैको मात्र कुरा गरेर हुँदैन। यो छाप्ने संस्थाले यसअघि निकालेका तीन ओटा नेपाली शब्दकोशसित तुलना आवश्यक हुन्छ। राज्यको एकै आधिकारिक संस्थाबाट एक भाषाका लागि एकै खाले कोश अनेक थरीका निकालिरहन्छ भने तिनका औचित्य र अनौचित्यको प्रश्न पनि सँगै गाँसिएर आउँछ।
यस संस्थाले विसं २०१९ मा नेपाली शब्दकोश (बालचन्द्र शर्मा सम्पादित, चलनचल्तीको भाषामा बालचन्द्रको शब्दकोश) निकाल्यो। सो कोश धेरै समयदेखि अनुपलब्ध भएको हुँदा विद्यार्थी र साहित्यका साधारण पाठकका लागि भनेर मझौला शब्दकोश सूर्यविक्रम ज्ञवालीको प्रधान सम्पादकत्वमा नेपाली संक्षिप्त शब्दकोश निकाल्यो। यसको शीर्षकमा पञ्चमवर्णको प्रयोग देखिएन (भित्र प्रविष्टिमा भने पञ्चमवर्णको प्रयोग छ) र यो नेपाल प्रज्ञा-प्रतिष्ठानको निर्णयअनुसार निकालिएको कुरा ‘प्रस्तावना’ मा जनाइएको छ। यसमा “नेपाली भाषामा प्रयोग हुने संस्कृत शब्द पनि समावेश” छन् भन्ने जनाएर “स्थाणु – वि. अचल, दृढ, स्थिर। (ना.) खम्बा। हाँगाबिंगा नभएको रूख; ठुटो।”, “शिंशपा – (ना.) सिसौको रूख।” जस्ता संस्कृत शब्द पनि प्रविष्ट छन्।
त्यसै वर्ष उही संस्थाबाट नेपाली बृहत् शब्दकोश निस्क्यो। यही कोश नेपाल प्रज्ञा-प्रतिष्ठानको कोशका रूपमा व्यापक प्रचार र प्रयोगमा रह्यो। यसलाई धेरै प्रयोगकर्ताले नेपालीको आधिकारिक मानक कोश माने।
२०७५ सालसम्ममा यसको दशौँ संस्करण निस्केको पाइन्छ र हरेक संस्करणका अनेक पुनर्मुद्रण। यसरी यो नेपाली भाषामा सर्वाधिक प्रति निस्केको कोश बन्यो। यस कोशले बालचन्द्रको शब्दकोशको योगदानलाई स्वीकार गरेको छ। पाँच दश वर्षको अन्तरालमा नयाँ शब्द निकै प्रचलनमा आउने भएकाले ती शब्द समेट्न र अपेक्षाअनुसार धेरै विद्वान्हरूको सहभागितामा स्तरीय शब्दकोश तयार गर्न कोश बृहत् नेपाली शब्दकोश निकालिएको प्रज्ञा-प्रतिष्ठानले जनायो।
यसले अप्रचलित, अति क्षेत्रीय र अति कथ्य शब्द समावेश गरेन, नेपालीमा एक पदमा भाव अभिव्यक्त नहुने अवस्थामा क्षेत्रीय भाषिकाबाट शब्द लिने नीति अँगाल्यो। पूर्ववर्ती कोशमा भएका ‘अडचन’, ‘एहसास’, ‘दिक्कत’, ‘पडोसी’, ‘परेसान’ जस्ता शब्द हटायो। नेपाली जिब्रोमा पचिसकेका अङ्ग्रेजी शब्द समावेश गऱ्यो। वर्णविन्यासका सन्दर्भमा “शिष्ट परम्पराका मान्य स्वरूपलाई नै स्वीकार गरी एकाध कुरामा हाल देखा परेका नयाँ सहमतिका कुरालाई पनि वैकल्पिक रूपमा प्रयोग” गऱ्यो।
प्रज्ञा-प्रतिष्ठानबाट २०४० सालमा प्रकाशित दुई शब्दकोशका सम्पादकीय कथनहरूबाट नेपाली शब्दकोश प्रज्ञा-प्रतिष्ठानको संस्थागत कोश नभई बालचन्द्र सम्पादित निजी कोश जस्तो बुझिन्छ। यसको पुष्टि प्रज्ञा-प्रतिष्ठानले यसको प्रकाशन नगरेपछि अन्य निजी प्रकाशनगृहबाट हुन थालेकोबाट पनि हुन्छ। २०४० सालका दुवै कोशले ‘स्कूल’ र ‘शहीद’ शब्दलाई प्रविष्ट गरेका छन्, दुवैमा ‘स्कुल’ र ‘सहिद’ छैन।
प्रश्न उठ्छ एउटै संस्थाले एउटै भाषाको चार ओटा भिन्दाभिन्दै नाममा कोश निकाल्नुपर्ने कारण के थियो? एउटै कोशको स्तरोन्नति गर्दै संस्करण निकालिरहे हुँदैनथ्यो?
नेपाली संक्षिप्त शब्दकोश फेरि प्रकाशित भएन। नेपाली बृहत् शब्दकोशको दशौँ संस्करण २०७५ सम्म आइपुग्दा ‘स्कुल’ र ‘सहिद’ प्रविष्ट भएको पाइन्छ र ‘शहीद’ पनि प्रविष्ट गरी हे. सहिद गरिएको पाइन्छ तर ‘स्कूल’ चाहिँ छैन। पहिलो संस्करणले ‘स्कूल’ को कू दीर्घ लेखे पनि स्कुटर र स्टुल जस्ता अङ्ग्रेजी शब्दको ‘कु’ हस्व गरेको छ। अङ्ग्रेजीको school, scooter, stool जस्ता हिज्जेमध्ये कुनै ह्रस्व कु र कुनै दीर्घ कू किन बनाइयो भन्ने कुरा स्पष्ट नभए पनि सम्पादकीयको विवरणअनुसार शिष्ट वा परम्परादेखि चलेको र नयाँ प्रयोगमा आएको आधारमा दुई थरी नेपाली हिज्जे बन्न गएको देखिन्छ र क्रमशः प्रज्ञा-प्रतिष्ठान ह्रस्व र दन्त्य ‘स’ को प्रयोगमा प्रवृत्त भएको देखिन्छ, जागिर, जुलुस जस्ता शब्दको ह्रस्व प्रविष्टिले पनि यस कुरालाई झल्काउँछ।
वर्णविन्यासका सम्बन्धमा यस्तो भए पनि यसले छिमेकी भाषाका शब्दको अनावश्यक प्रयोग वा प्रभावलाई रोक्ने र नेपालीका भाषिकाका शब्द पनि नेपालीमा स्तरीय प्रयोगमा आएका मात्र अङ्गीकार गर्ने नीति लिएर नेपाली भाषाको स्तरीकरण वा मानकीकरणमा जोड दिएको देखिन्छ। यसले स्पष्टतः ‘पडोसी’, ‘परेसान’ जस्ता शब्दलाई निषेध गऱ्यो। यसरी नेपाली भाषाको आफ्नोपन जोगाउने लक्ष्य यसले लिएको देखिन्छ।
यसै पृष्ठभूमिमा प्रज्ञा नेपाली बृहत् शब्दकोशबारे चर्चा थाल्न सकिन्छ। प्रश्न उठ्छ एउटै संस्थाले एउटै भाषाको चार ओटा भिन्दाभिन्दै नाममा कोश निकाल्नुपर्ने कारण के थियो? एउटै कोशको स्तरोन्नति गर्दै संस्करण निकालिरहे हुँदैनथ्यो? लौ, चारमध्ये एउटा निजी सम्पादन हो, अर्को विद्यार्थी संस्करण हो तर नेपाली बृहत् शब्दकोश त दशौँ संस्करणसहित अनेक पुनर्मुद्रण निक्लिसकेको बहुप्रचलित शब्दकोश हो। यदि योभन्दा विषय वा प्रवृत्तिगत भिन्न प्रकृतिको कोश निकाल्नु छैन भने यसैमा सुधार गर्दै नयाँ संस्करण निकाल्दै रहेको भए के हुन्थ्यो?
मेरो भनाइको तात्पर्य के हो भने प्रज्ञा नेपाली बृहत् कोश कोशवैज्ञानिक (lexicographic) दृष्टिले नेपाली बृहत् शब्दकोश भन्दा भिन्न प्रकृतिको होइन। माथिका प्रश्नको जवाफको खोजीमेली गर्दा यस शब्दकोशले ४० वर्षयताको नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञपरिषद्को मनोवृत्तिको झलक दिन्छ। देश जस्तै यो संस्था पनि दीर्घकालीन नीति र योजनाविहीन बन्यो। देशका पञ्चवर्षीय योजनाहरू जसरी असफल हुँदै गए त्यसरी नै यसको शब्दकोश योजना लक्ष्यहीन भयो।
शब्दका प्रविष्टिमा भएका कमीकमजोरी सुधार्ने, अर्थ लेखनमा स्पष्टता र गहनता अद्यावधिक गर्ने, शब्द व्युत्पत्तिको ऐतिहासिकताको थप खोजी गर्ने जस्ता कुरा शब्दकोशका नयाँ संस्करणहरूमा खासै भएको पाइँदैन।
प्रत्येक चारपाँच वर्षमा प्राज्ञपरिषद्मा सम्पूर्ण नयाँ अनुहार देखा पर्ने गऱ्यो तर प्रतिष्ठानसित शब्दकोश कस्तो बनाउनुपर्छ भन्ने लक्ष्य रहेन। त्यसैले बजारमा शब्दकोशको अभाव हुँदा नयाँ संस्करण वा पुनर्मुद्रणहरू निक्ले तर कोशको स्तरोन्नति कसरी गरिनुपर्छ भन्ने योजनाविहीन ढङ्गले प्रत्येक परिषद्बाट आफ्नै पाराको मनगढन्ते परिमार्जनहरू भए।
कोशको स्तरोन्नतिका लागि एउटै सम्पादक समूह (मृत्यु र आवश्यकताले नयाँ थपी)ले संशोधनको काम गरिरहनुपर्नेमा हरेक पटक फरक फरक सम्पादक मण्डलले संशोधन गरेको पाइन्छ। यसले गर्दा पहिला के गरिएको थियो, त्यसो गरिनाको कारण वा उद्देश्य के थियो, त्यतिखेर के कमजोरी भयो र कोशले हासिल गर्न खोजेको लक्ष्य के हो भन्ने कुराहरूमा ज्ञानको निरन्तरतामा कमी हुन गई सुधारिनुपर्ने पक्षहरूमा खास ध्यान नपुगेको देखिन्छ। यसो हुँदा परिमार्जनका नाममा शब्द थप्ने र हिज्जेमा केही परिवर्तन गर्ने काममा मात्र ध्यान गएको देखिन्छ। त्यति नै मात्र गरिरहनु परिमार्जन होइन। शब्दका प्रविष्टिमा भएका कमीकमजोरी सुधार्ने, अर्थ लेखनमा स्पष्टता र गहनता अद्यावधिक गर्ने, शब्द व्युत्पत्तिको ऐतिहासिकताको थप खोजी गर्ने जस्ता कुरा नयाँ संस्करणहरूमा खासै भएको पाइँदैन।
दसौँ (दशौँ?) संस्करणको “संशोधन समितिको भनाइ” मा क् र त मिलेर बनेको संयुक्त वर्णलाई भने वैकल्पिक (शक्ति, शक्ति) रूपमा प्रविष्टि दिइएको छ” भनेर महत्त्वका साथ लेखिएको छ भने ‘दसौँ संस्करण पुनर्मुद्रणका सन्दर्भमा’ “दसौँ संस्करणले नेपाली वर्णविन्यासका सम्बन्धमा आएका केही गुनासाहरूलाई सम्बोधन गरिसकेको हुँदा सोही मान्यतालाई कायम राखी विज्ञ प्रयोक्ताहरूले औँल्याएका त्रुटिलाई समेत यस पुनर्मुद्रणमा सम्बोधन गरिएको छ” भन्दै पुनर्मुद्रित प्रति एपमा पनि राखिएको कुरा गौरवसाथ प्रस्तुत गरिएको छ। “संशोधन समितिको भनाइ” मा संयोजकका हैसियतले र ‘दसौँ संस्करण पुनर्मुद्रणका सन्दर्भमा’ मा कुलपतिका हैसियतले गङ्गाप्रसाद उप्रेतीको नाम अङ्कित भएबाट त्यस लेखोटको जिम्मेवारी उनको हो। यदि ‘त्रुटिलाई समेत यस पुनर्मुद्रणमा सम्बोधन गरिएको छ’ भने त्यो कसरी पुनर्मुद्रण हुन्छ? अनि ‘क्त/ क्त’ के वर्णविन्यासमा आएको परिवर्तन हो? कोशकारमा नाम दर्ज गर्नेहरूको बुद्धिको धार्नी जोखाइ यतिबाट यथेष्ट हुन्छ।
२०७७ सालको पुनर्मुद्रित भनिएको संशोधित दशौँ संस्करणमा ‘तुर्किस्तान’ शब्द देखिन्छ र त्यस शब्दको प्रविष्टिमा अर्थ दिइएको छ “-ना. तुर्क्याउने ठाउँ, पिसाब फेर्ने ठाउँ, मूत्रालय।” त्यसमा ‘तुर्क देश’ भन्ने अर्थ जनाइएको छैन। तर लगत्तै ‘तुर्की’ शब्दमा अर्थ लेखिएको छ “- वि. [तु. तुर्क+ई] १. तुर्किस्तानसम्बन्धी, तुर्क देशमा बस्ने। ना. २. तुर्केली भाषा। ३. तुर्केलहरूको देश।” अनि ‘तुर्केल’ शब्दमा लेखिएको छ “- ना. [तुर्क+एल] तुर्किस्तानको जाति।” के तुर्किस्तानको अर्थ ‘तुर्क्याउने ठाउँ, पिसाब फेर्ने ठाउँ’ भनेर कोशमा अर्थ लेख्ने स्तरको शब्द तुर्किस्तान हो? के अब शौचालयको सट्टा तुर्किस्तान लेखे पनि हुने भयो?

‘मानक नेपाली शब्दकोश : किन र कस्तो’ गोष्ठीमा भाषाविद् भिम नारायण रेग्मी, हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा र लेखक तथा समालोचक भिक्टर प्रधान (बायाँबाट क्रमश:)। तस्बिर स्रोत : चिरन घिमिरे
तुर्किस्तानको यो अर्थ यदि कोशमा स्थान पाउँछ भने त्यसमा slang (समूह विशेषमा प्रचलित, अनौपचारिक) भनेर पनि जनाउनुपर्छ, त्यस्तो सङ्केत कोशमा यस स्तरका (जस्तो च्वाँक) जस्ता शब्दमा कतै छैन। अनि तुर्किस्तानको अर्थमा तुर्क देश भन्ने नजनाई तुर्की र तुर्केली शब्दको पेटबोलीमा ‘तुर्किस्तान’ दिनु कोश विज्ञानको (lexicographic) दृष्टिले गम्भीर त्रुटि हो, यसबाट तुर्केल भनेको तुर्क्याउने ठाउँ, पिसाब फेर्ने ठाउँका जाति भन्ने बुझिन्छ। यस्ता मसिना कुरामा पटक्कै ध्यान नपुऱ्याएका उनै गङ्गाप्रसाद उप्रेतीको प्रधान सम्पादकत्वमा दुई वर्ष पछि २०७९ मा प्रज्ञा नेपाली बृहत् शब्दकोश निक्ल्यो।
नेपाली बृहत् शब्दकोश को २०४० सालदेखिकै संस्करणमा lexicographic त्रुटिहरू छन्। ती प्रत्येक संस्करणहरूमा सचिँदै जानुपर्नेमा त्यसो हुन सकेन। ती त्रुटिहरू यथावत् दोहऱ्याउँदै बोसेदार प्रज्ञा नेपाली बृहत् शब्दकोश निस्क्यो। यसले ‘तुर्क्याउने ठाउँ’ जस्ता अनर्गल अर्थसहितको ‘तुर्किस्तान’ शब्दको प्रवृष्टि लठ्यौरे चातुर्यका साथ हटाए पनि नेपाली बृहत् शब्दकोशमा सुरूदेखि हलचल नगरी बसेका lexicographic त्रुटिहरूमा दृष्टि पुऱ्याउन सकेन र ‘तुर्की’ शब्दको अर्थमा ‘तुर्स्किस्तान’ र ‘तुर्केली’ भन्ने अर्थ जनाइएका छन्, जबकि ती दुवै अर्थमा जनाइएको तुर्स्किस्तान शब्द कोशको मूल प्रवृष्टिमा छैन। यस्ता त्रुटि कोशभरि अनगिन्ती छन्।
यस कोशले नेपाली बृहत् शब्दकोशभन्दा भिन्न lexicographic तात्त्विक भेद केही प्रस्तुत गर्न सकेको छैन। उल्टो शब्द सङ्कलनको नाममा शब्द सङ्ख्या बढाउने र बोसेदार डडाँक कोश निकालेर कीर्तिमान स्थापना गर्ने प्रलोभनमा नेपाली भाषालाई स्तरीय र खँदिलो बनाउने बाटो (१. प्रस्तुत शब्दकोशमा भाषिक व्यवहार र वाङ्मयका विभिन्न फाँटमा प्रचलनमा आएका नेपाली शब्दहरू दिने प्रयास गरिएको छ। ज्यादै अप्रचलित, अति क्षेत्रीय र अति कथ्य शब्दहरू कोशमा समाविष्ट गरिएका छैनन्। २. नेपाली शब्दले नै पर्याप्त अर्थ वहन गर्ने र तिनलाई प्रयोग गरिँदा हिन्दी-उर्दू आदिबाट प्रभावित भएका तथा बिटुला ठानिने आगन्तुक शब्द पनि यसमा गाभिएका छैनन्। यसरी पूर्ववर्ती कोशमा समाविष्ट अडचन, एहसान, दिक्कत, पडोसी, परेसानजस्ता थुप्रै शब्द हटाइएका छन्।— बृहत् नेपाली शब्दकोशको भूमिकामा उल्लेखित) चटक्क त्यागेर दिक्कत, पडौसी, परेसान, जस्ता अरबी फारसी शब्द भित्र्याउनाका साथै खिडकी, मुछ, रखैल, रसोइया, रसोई, रसोईखाना, बखूबी [अ., अर्थ – खास] जस्ता शब्दहरू पनि थपिए। दार्जीलिङीबाट बदक (हाँस), असमियाबाट एलापेचा (सामान्य, साधारण), एलेहुवा (अल्छी), फेँसा (लाटोकोसेरो), दँताल (अधिकार, भोग), लिम्बूबाट फेअन्दाक (झोलुङ्गो, कोक्रो), गन्गाईबाट खिडएकी (झ्याल), राजवंशीबाट भागिनी (भान्जा), नेवारबाट भाजु (महोदय, श्रीमान्, पुरुष) जस्ता शब्दहरू थपिए। के यी शब्द नेपालीमा अभाव भएर छिमेकबाट सापट लिनुपरेका शब्द हुन् अथवा छिमेकको प्रभावबाट नेपालीमा व्यापक प्रचलनमा आएर स्वीकार गर्नुपरेका शब्द हुन्?
स्तरीय र औपचारिक रूपमा प्रयोग गर्नलाई प्रयोगकर्ताले ठाउँ र अवस्था हेरी स्वविवेक प्रयोग गर्छ। परन्तु केही नजनाई स्तरीय नेपालीकै कोटिमा प्रवेश दिँदा अब हामीले बालक, केटाकेटी, बालबालिका लेखिने यावत् ठाउँमा ‘बल्क’ लेखे हुन्छ कि हुँदैन? अथवा मान्छे, मानिस, मानवका सट्टा मान्ठ लेख्न थाले हुने हो?
यसले नेपालीका भाषिकाबाट पनि निकै शब्द भित्र्याएको छ, जस्तै मान्ठ, बल्क, तम्रो (तिम्रो), तम्खाइँ (तपाइँसँग) जस्ता शब्दले प्रवृष्टि पाएका छन्। भाषिकाका शब्दले प्रवेश पाउनु राम्रो हो, तर ती कुन भाषिकाको हो भन्ने जनिनुपर्छ भन्ने मेरो जिकिर हो जसबाट यो भाषिका हो भन्ने बुझिन्छ र चाहिँदा बखत त्यसको अर्थ बुझिन्छ।
स्तरीय र औपचारिक रूपमा प्रयोग गर्नलाई प्रयोगकर्ताले ठाउँ र अवस्था हेरी स्वविवेक प्रयोग गर्छ। परन्तु केही नजनाई स्तरीय नेपालीकै कोटिमा प्रवेश दिँदा अब हामीले बालक, केटाकेटी, बालबालिका लेखिने यावत् ठाउँमा ‘बल्क’ लेखे हुन्छ कि हुँदैन? अथवा मान्छे, मानिस, मानवका सट्टा मान्ठ लेख्न थाले हुने हो? त्यस्तै ‘दुद’ शब्दको अर्थ “[सं. दुग्ध] ना. १. आइमाईको स्तन। २. दुध।” दिइएको छ, कथ्य भनेर जनाइएको छैन र लहरै दुदसंयुक्त शब्दहरू दिइएका छन्। ‘दुध’ शब्द प्रविष्टिको अर्थमा दुद दिइएको छैन। के अब विद्यार्थीले दुध नलेखी दुद लेखे हुने भयो? यसरी यसले कथ्य र लेख्य भेद छुट्याउन सकेको छैन।
‘सम्पादकीय’ मा लेखिएको छ – “… एउटा भाषिकामा प्रयोग भएका अधिकांश शब्द अर्को भाषिकामा पनि प्रयोग भएका धेरै उदाहरण पाइने अनि पुर्वेली नेपाली नै पनि स्तरीय नेपाली नभएकाले सबै भाषिकाले लेख्य रूपमा समान अवसर पाउन् भन्ने उद्देश्यले यस शब्दकोशमा भाषिका क्षेत्र छुट्ट्याइएको छैन। असममा बोलिने नेपाली भने त्यहाँका स्थानीय भाषाका शब्दप्रयोग हुने हुनाले त्यस्ता शब्दलाई स्रोत खुलाउँदा अस. भनी उल्लेख गरिएको छ।” यस लेखोटले अब स्तरीय नेपालीमा खिड्की, रसोई, मुछ, मान्ठ, दुद, र बल्क आदि लेख्न भनेको छ।
भाषिकाबाट शब्द लिइएको सम्बन्धमा कोशको भनाइ छ, “… पृष्ठभूमिमा नेपाली बृहत् शब्दकोशअन्तर्गत मूल प्रविष्टि र उपप्रविष्टिअन्तर्गत रहेका शब्दहरूका साथै विज्ञान र प्रविधिको विकाससँगै आएका नयाँ शब्द अनि देशविदेशमा बोलिने नेपाली भाषिकाका शब्द र विभिन्न मातृभाषाबाट आएका हाल प्रयोग भइरहेका शब्दहरूको समेत सङ्कलन गरेर तिनको सम्पादनसहित नयाँ शब्दकोश तयार गर्ने भन्ने नेपाली प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्को निर्णयानुसार भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागको सक्रियतामा प्रस्तुत प्रज्ञा नेपाली बृहत् शब्दकोश निर्माण गरिएको हो।” कुरो निकै आकर्षक देखिए पनि कुनै क्षेत्रको नेपाली भाषिकामा व्यापक प्रयोगमा आएका शब्द स्तरीय नेपाली भाषामा उत्तिकै स्वीकार्य रूपमा प्रयोग गरिनु पर्छ भन्ने कुरा हुँदैन। जुन ढङ्गले यहाँ त्यस्ता शब्दको प्रविष्टि दिइयो त्यसले ती शब्द अब नेपाली भाषामा निर्बाध प्रयोग गर्न हुने अनुमति दिएको पनि ठहरिन्छ। त्यसबाट जोगिन भाषिकाको उल्लेख हुनुपर्छ भन्ने मेरो मनसाय हो, यदि यो मानक शब्दकोशबाट विचलित नहुने हो भने।
सम्पादक मण्डलले ‘सम्पादकीय’ को पहिलो पानामा नेवार जातिको भाषालाई ‘नेपालभाषा’ भनी लगत्तै दोस्रो पानामा त्यही भाषालाई नेवारी भाषा भनेर आफ्नो भाषिक अल्पज्ञताको परिचय दिएको छ।
नजर यस कोशको शीर्षक र भूमिकामा एक पल्ट दिऔँ। मलाई यस कोशको नाम चित्त बुझेको छैन। नेपाली बृहत् शब्दकोश भन्ने नाममा आफ्नै अर्को प्रकाशन हुँदाहुँदै ‘प्रज्ञा’ शब्द थपेर उही नाम किन राख्यो? यसले मानिसमा शब्दकोश किन्दा र प्रयोग गर्दा भ्रम सृजना गरेको छ। यसलाई प्रज्ञा नेपाली शब्दकोश मात्र भनेको भए स्पष्ट फरक दुई कोशको नाममा देखिन्थ्यो। तर यसो भन्दा अघिल्लो भन्दा ठुलो ढड्डुलाई कसरी बृहत् नभन्ने भन्ने शठबुद्धि सम्पादक मण्डल वा प्राज्ञपरिषद्मा चढ्यो होला, त्यसो भएको भए ‘प्रज्ञा नेपाली बृहत्तर शब्दकोश’ नाम राखेको भए हुन्थ्यो, कमभन्दा कम मानिसहरू झुक्किन्नथे।
न्वारानको कुरा छोडी भूमिका अर्थात् ‘सम्पादकीय’ को कुरा गरौँ। सम्पादकीयको आधाजसो भाग माध्यमिक वा पूर्वमाध्यमिक तहको कुनै कक्षाको व्याकरणको किताब पढिरहेजस्तो लाग्छ जस्तै — “कुनै पनि भाषाले जुन भाषाबाट शब्द प्राप्त गर्दछ, त्यसलाई भाषिक स्रोत भनिन्छ। भाषामा शब्द प्राप्त गर्ने स्रोत कुनै भाषा आफै पनि हुन सक्छ र अरू पनि हुन सक्छन्। नेपाली भाषामा आफ्नै स्रोतका र अन्य भाषिक स्रोतका गरी मूलतः दुई किसिमका शब्दहरू प्रचलित छन्। ती हुन् : (१) मौलिक र (२) आगन्तुक।…”।
सम्पादक मण्डलले ‘सम्पादकीय’ को पहिलो पानामा नेवार जातिको भाषालाई ‘नेपालभाषा’ भनी लगत्तै दोस्रो पानामा त्यही भाषालाई नेवारी भाषा भनेर आफ्नो भाषिक अल्पज्ञताको परिचय दिएको छ। व्याकरणमा प्रत्यय जोडेर शब्द बनाउने व्यवस्था छ भन्दैमा जहाँ जे मन लाग्यो त्यो प्रत्यय जोडेर शब्द बन्दैन। जस्तै ‘दान’ शब्दलाई दानवत्ता, दानी, दानशील, दानवान् बनाउन सकिन्छ तर ‘आलु’ प्रत्यय लगाएर दानालु बनाउन सकिँदैन। त्यस्तै नेवार शब्दमा ‘ई’ प्रत्यय लगाएर ‘नेवारी’ शब्द बन्दैन।
शब्द व्याकरणिक आधारमा मात्र बन्दैन, शब्द समाज र संस्कृतिको शिष्ट परम्परागत प्रयोगको स्वीकृतिबाट पनि बन्छ। वास्तविकता के हो भने जातिजन्य शब्द आफै नाम र विशेषण दुवै हुन्छ। आलोच्य सम्पादक मण्डलले नै ‘नेवारी’ भनेकै लहरमा ‘मगरी’, ‘गुरुङी’ र ‘तामाङी’ भनिँदैन किन? किनभने त्यस्तो शब्द बन्दैन, झाँगडी र सन्थाली शब्द पनि बन्दैनन्। याद गर्नुपर्ने कुरा के हो भने भाषाका सम्बन्धमा अवध, बझाङ, मिथिला, नेपाल, हिन्द जस्ता क्षेत्रगत भाषालाई अवधी, बझाङी, मैथली, नेपाली, हिन्दी भाषा भनिन्छ तर जातिजन्य भाषामा त्यसो भन्न मिल्दैन।
गुरुङ भाषा, झाँगड भाषा इत्यादि मात्र होइन मगर संस्कृति, मगर खाना, मगर भेषभुषा इत्यादि जस्तै नेवार खाना, नेवार संस्कृति, नेवार चलन इत्यादि भनिनुपर्छ। कुनै कारणवश अरू जातिजन्य शब्दमा भन्दा बेगल ‘नेवार’ मा ‘ई’ प्रत्यय लगाइएको ‘नेवारी’ शब्दको अमिल्दो प्रचलनको देखासिकी बढ्दो छ (जसका सम्बन्धमा नेवार समुदायको विरोध पनि छ) भन्दैमा कोशले त्यसलाई अङ्गीकार गर्न मिल्दैन।
वास्तवमा भन्ने हो भने नेपाली भाषामा मानक कोश निर्माण गर्ने हो भने हालसम्मका कोशहरूका अर्थलेखनमा देखिएका त्रुटिहरूको विशद अध्ययन जरूरी छ र यसका लागि राज्यले ठुलै लगानी गर्नुपर्छ।
स्मरणीय कुरा के छ भने नेपाली बृहत् शब्दकोशले २०४० को संस्करणमा नेवारको विशेषण शब्दको रूपमा ‘नेवारी’ शब्द मूल प्रवृष्टिमा दिएको छैन तर ‘नेवारे’ शब्दको अर्थलेखनमा भने ‘नेवारी’ भनेर जनाउन छोडेको पनि छैन। नेवारको विषेशणका रूपमा ‘नेवारे’ शब्द हुँदै नहुनु पर्ने हो (नेवारे भन्ने छुट्टै झार विशेष जनाउने नाम शब्द बेग्लै हो)। तर यसको दशौँ संस्करणमा ‘आइपुग्दा १. वि. नेवार सम्बन्धी, नेवारको २. नेवार जातिको भाषा’ भन्ने अर्थ दिई नेवारी शब्द प्रवेश गरेको पाइन्छ र त्यही भुल हुबहु प्रज्ञा नेपाली बृहत् शब्दकोशले सारेको छ।
नेपाली बृहत् शब्दकोशका गल्ती प्रज्ञा नेपाली बृहत् शब्दकोशले खासै सच्याएको पाइँदैन तर यो कोश नेपाली बृहत् शब्दकोशकै मूल धरातलमा नेपालीका अनेक भाषिका र नेपाल र इन्डियाका नेपालीभाषी क्षेत्रका नेपाली भाषिकाबाट पर्याप्त शब्द सोरसार पारी भीमकाय बनाइएको कोश हो भन्ने कुरा यसको सम्पादकीयबाट स्पष्ट देखिन्छ। यदि यो छुट्टै कोश हो भने नेपाली बृहत् शब्दकोशमा यसो गरिएको ठाउँमा यहाँ यसो गरिएको छ भनेर बारम्बार भूमिकामा जनाइरहनुपर्ने थिएन।
यस कोशले स्तरीय नेपाली भाषामा प्रयोग भएका मानविकी, वाणिज्य, विज्ञान, कानुन आदि क्षेत्रसित सम्बद्ध पुस्तक र पत्रपत्रिकाबाट प्रशस्त शब्द सङ्कलन गरी यति धेरै शब्द थपेको भए यसको उपादेयता र आधिकारिकता निकै हुने थियो। तर, नेपालमा छापिएका अनेक भाषाका कोशहरूबाट शब्द बटुलेर थप्ने काम नै विशेषतः गरेको छ भन्ने कुरा ‘शब्द सङ्कलनका क्रममा सहयोग लिइएका केही शब्दकोश’ भनेर दिइएको कोशहरूको नामावलीबाट स्पष्ट हुन्छ।
यो कोश नेपाली बृहत् शब्दकोश भन्दा भिन्न प्रकृतिको नभएको हुँदा नेपाली शब्दका वर्णविन्यासमा जे विवाद हो वा जे अन्योल हो त्यसको समाधानमा यसले खासै सघाउन सकेको छैन। जस्तै नेपाली बृहत् शब्दकोशदेखि नै ‘यौटा’ शब्दमा ‘हे. एउटा’ गरिएको छैन। ‘यौटा’ को अर्थ “एक मात्र सङ्ख्या भएको; एकवटा; एउटा” दिएको छ र ‘एउटा’ मा “वि. कुनै वस्तु वा कुराको एक सङ्ख्यालाई बुझाउने; एकवटा; एकमात्र; यौटा”।
त्यस्तै ‘आफै’ र ‘आफैँ’ दुवैलाई समान स्तरमा प्रविष्टि दिइएको छ, त्यस्तै ‘ओटा’ र ‘वटा’ मा। दसौँ, दसैँ, वर्षौँ जस्ता शब्दमा तत्सम र तत्भव जस्ता कथनको म असमर्थक हुँ। वर्ष, बर्स, बर्ख केलाई मूल मान्ने? बर्ख भन्छ “१ साल; उमेर। २. बर्ष” (यसले बर्स) भन्दैन। ‘बर्स’ भन्दा “बर्ख, वर्ष”। ‘वर्ष’ मा लामै छथरी अर्थ छ। यसबाट ‘वर्ष’ लाई नै मूल मानेको देखिन्छ अनि वर्षमा ‘ए’ प्रत्यय लगाएर वर्षे पनि बनाइएको पाइन्छ, बर्से, बर्खे पनि पाइन्छ। अनि त्यससित जोडिएका अनेक अरू शब्द छन्, जस्तै बर्खेसाग इत्यादि। सङ्क्षेपमा तत्सम र तत्भव तथा कथ्य र लेख्य रूपले यस्ता शब्दको मानक स्थापनामा अप्ठेरो परेको छ। यस्ता शब्दमा सबैतिर एकै खाले शब्दबनोटको स्थिति छैन र लेखोट अभ्यासमा वर्णविन्यासमा भद्रगोलपन पाइन्छ। यतातिर शब्दकोशको गम्भीर ध्यान पुग्न सकेको छैन।
अझ मसिना कुरा धेरै छन्। सङ्क्षेपमा भन्नुपर्दा यो कोश नेपालीभाषाको लागि नेपाली बृहत् शब्दकोशभन्दा मानक हुन सक्ने अवस्था छैन। वास्तवमा भन्ने हो भने नेपाली भाषामा मानक कोश निर्माण गर्ने हो भने हालसम्मका कोशहरूका अर्थलेखनमा देखिएका त्रुटिहरूको विशद अध्ययन जरूरी छ र यसका लागि राज्यले ठुलै लगानी गर्नुपर्छ। शब्द सङ्कलनका लागि पनि विविध विषय क्षेत्रबाट गम्भीरतापूर्वक दस्तावेजहरूबाट बटुलिनुपर्छ। शब्दहरूको प्रयोगको जटिलतामा निक्लने अर्थ वाक्य प्रयोग र उद्धरणबाट देखाउनुपर्छ । तर, जताततै डाँडोमाथि प्रयोगविहीन भ्युटावर बनाउन भएको राज्यको लगानी जस्तै एक लहडी नमुना प्रज्ञा बृहत् नेपाली शब्दकोश पनि हो भन्ने मलाई लागेको छ।
(२३ जेठ २०८३ मा हिमाल एसोसिएसनले आयोजना गरेको ‘मानक नेपाली शब्दकोश : किन र कस्तो’ शीर्षकको गोष्ठीमा छलफलका लागि प्रधानले प्रस्तुत गरेको विषय उठान पत्रको सङ्क्षेपित रूप।)