काठमाडौँ
००:००:००
१२ असार २०८३, शुक्रबार

उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ।

पाटन उच्च अदालतले चलचित्र ‘लालीबजार’ प्रदर्शनका लागि बाटो खोलिदिएको हो। यसअघि चलचित्रको प्रदर्शनमा रोक लगाउने गरी जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै प्रदर्शनको अवरोध हटेको हो।

१५ वैशाखमा मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालीन आदेश दिएर दुवै पक्षलाई छलफलमा बोलाएको थियो। जसअनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन मंगलबार आदेश दिएको थियो।

न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले बुधबार ‘अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने’ निर्णय गरेको हो। अदालतको यो आदेशसँगै अब ‘लालीबजार’ सिनेमा हलहरूमा प्रदर्शन हुनेछ।

रोशनी नेपालीले चलचित्रका केही दृश्य र संवादमा आपत्ति जनाउँदै अदालतमा रिट दायर गरेकी थिइन्। चलचित्रमा प्रयोग गरिएको ‘बादी’ शब्दले उक्त समुदायको मानमर्दन गरेको र समुदायको भावनामा चोट पुर्‍याएको उनको दाबी थियो। मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि विपक्षी बनाइएको थियो।

यसअघि अदालतले सोही रिटमाथि सुनुवाइ गर्दै तत्कालका लागि प्रदर्शनमा रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सोही कारण १८ जेठका लागि तय गरिएको चलचित्रको प्रदर्शन रोकिएको थियो।

यम थापाद्वारा निर्देशित यो चलचित्रले अब कानुनी अड्चन पार गरेसँगै नयाँ मितिमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।