सिनेमा
आन्तरिक स्रोतसाधनमा आत्मनिर्भर हुन, सहभागितामूलक साझा थलो बनाउन र अन्तर्राष्ट्रिय अभ्यासअनुसारकै प्रोग्रामिङ गर्न चुकेका महोत्सवहरू
सिनेमा विश्लेषक अनुप सुबेदी कुनै बेला काठमाडौँमा हुने फिल्म महोत्सवहरूका लगभग सबै फिल्म नछुटाइ हेर्थे। कोभिडयताको समयमा भने उनी यस्ता महोत्सवमा एकाध सिनेमा हेर्न मात्रै उपस्थित हुन्छन्। “महोत्सवमा देखाइने फिल्मका गुणस्तर एउटा कारण हो। मलाई त्यहाँ गएर हेर्ने धेरै फिल्म, त्यहाँ हुने छलफल र भेटिने मानिसहरू उस्तै–उस्तै लाग्न थाले। नयाँपन कम हुँदै गयो,” उनी भन्छन्, “बौद्धिक वा सिर्जनात्मक सन्तुष्टि नपाएपछि मेरो रुचि पनि घट्दै आएको हो।”
अनौपचारिक कुराकानीमा धेरै जनाबाट सुवेदीजस्तै नेपालमा आयोजना हुने फिल्म महोत्सवहरूको गुणस्तर वृद्धि हुन नसकेको गुनासो सुनिन्छ। यसले महोत्सवका गुणवत्ताबारे बहसको माग गर्छ।

निफमा बलिउडका निर्माता-निर्देशक रमेश सिप्पीसँग संवाद गर्दै अभिनेता राजेश हमाल। तस्बिरहरू : सम्बन्धितको फेसबुक
नेपालमा अहिले करिब एक दर्जन साना ठूला फिल्म महोत्सव आयोजना हुन्छन्। तीमध्ये झन्डै तीन दशक पुग्न लागेको फिल्म साउथ एसिया (एफएसए, सन् १९९७) र २६ वर्ष पूरा गरेको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ, २०००) नेपालकै पुराना महोत्सव हुन्। यी बाहेक केही महोत्सव दशक हाराहारी उमेर पुगिसकेका छन्। हरेक एक दुई वर्षमा नयाँ महोत्सवहरू थपिइरहेका छन्। संख्या थपिए पनि केही महोत्सव अनियमित रूपमा आयोजना हुन्छन् भने कति त बन्द नै भइसके। आइफा, एकादेशमा, पोखरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राम्रो हुँदाहुँदै पनि बन्द भएका महोत्सव हुन्।
नेपालमा फिल्म महोत्सव सुरु हुनुको प्रारम्भिक उद्देश्य स्तरीय राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म हेर्ने–देखाउने संस्कृति विकास गर्नु थियो। हलमा प्रदर्शन नहुने फरक धारका स्तरीय फिल्मतर्फ दर्शकलाई आकर्षित गर्न आयोजकहरूलाई हम्मेहम्मे पर्ने समय थियो त्यो। वृत्तचित्र विशेष एफएसए र हिमाल पर्वतको संस्कृति प्रदर्शन र प्रवर्धन गर्ने किम्फमा आबद्ध वसन्त थापा सुरुसुरुका वर्षमा नेपालीभन्दा विदेशी दर्शकको सहभागिता बढी हुने गरेको स्मरण गर्छन्।
उनका अनुसार, किम्फमा ७० प्रतिशत दर्शक त विदेशी नै हुन्थे। तेस्रो चौथो संस्करणमा आइपुगेपछि बल्ल नेपाली दर्शकको संख्या बढ्न थालेको हो।

यलमाया केन्द्र, पाटनमा फिल्म साउथ एसियाको एक झलक।
एफएसए र किम्फभन्दा धेरैपछि सन् २०१० देखि आयोजना हुन थालेको अधिकार चलचित्र महोत्सव आरम्भ गर्नेबेला पनि आयोजकका लागि दर्शकलाई मसलेदार सिनेमाबाट कसरी गम्भीर सिनेमातिर तान्ने भन्ने नै मुख्य चुनौती थियो।
मानवअधिकारका सवाललाई केन्द्रमा राखेर सुरु गरिएको सो महोत्सवका संस्थापक महासचिव दीलिप नेपाली भन्छन्, “नाचगान, एक्सन र कमेडी फिल्मको बोलबाला थियो। हामीले राजनीतिक फिल्महरू देखाउने काम रोज्यौँ। तर फिल्म वा वृत्तचित्रमा मानवअधिकारका कुरा देखाउने नेपाली कन्टेन्ट नै थिएनन्। दर्शकलाई मुद्दाकेन्द्रित फिल्ममा बानी पार्न झन् धेरै समय लाग्ने नै भयो।”
एक दशक पुग्न लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का संस्थापक केपी पाठकको भनाइ पनि उस्तै छ। उनी फिल्म हेर्ने संस्कृति बढाउने र दर्शक बनाउने उद्देश्य महोत्सवको सुरुवाती आधार रहेको बताउँछन्। उनी भन्छन्, “त्यतिबेला मूलधारका सिनेमाले नेपाली फिल्म महोत्सवको मुख्य धारलाई पर्याप्त रूपमा समेट्न नसकेको महसुस गरेर त्यसलाई जोड्ने उद्देश्यले निफ सुरु गरेका थियौँ।”

किम्फमा सहभागीहरू।
त्यसयता जति महोत्सवहरू थपिँदै गए नयाँ स्वाद शैलीका अर्थपूर्ण फिल्म हेर्ने दर्शकहरू पनि बढिरहेका छन्। हाल नेपालमा नियमित रूपमा हुने महोत्सव संख्या करिब दर्जन पुगिसकेको छ। यी महोत्सवले दर्शक मात्र कमाएका छैनन्, फिल्मकर्मीहरूका लागि कथा भन्ने, सिप तिखार्ने र अवसर सिर्जना गर्ने थलोका रूपमा समेत आफूलाई स्थापित गरेका छन्।
वृत्तचित्र र छोटा फिल्मलाई लोकप्रिय बनाउने एफएसए र किम्फ नयाँ पुस्ताका निर्देशक तथा निर्माता स्थापित गर्ने महोत्सवका रूपमा समेत प्रशंसित छ। केसाङ छेतेन, छिरिङ रितार शेर्पा, मीन भाम, दीपक रौनियार, अविनाश विक्रम शाहलगायत थुप्रै फिल्मकर्मीका प्रारम्भिक काम दर्शकले यिनै महोत्सवमार्फत हेरे। यिनै महोत्सवमा सहभागी भएका केही निर्देशकले पछि अन्तर्राष्ट्रिय पहिचान समेत बनाए।

काठमाडौँको महोत्सवमा उपस्थित बलिउड निर्देशक प्रकाश झा (कालो चस्मा लगाएका)।
अहिले नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एनसीएफसी), अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव (आइवर्ट), पामे अन्तर्राष्ट्रिय फिल्म महोत्सव, जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (जेआईएफएफ), कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (केआइएफएफ), समथिङ लाइक अ फिल्म फेस्टिभल, थाहा चलचित्र महोत्सव, नेपाल ग्रामीण चलचित्र महोत्सव, भक्तपुर फिल्म फेस्टिभललगायत विधागत तथा क्षेत्रीय महोत्सवहरू बढिरहेका छन्।
काठमाडौँ केन्द्रित महोत्सवहरू मधेसदेखि सुदूरपश्चिमसम्म फैलिनुलाई विकास र विस्तारका रूपमा लिन सकिन्छ। प्रतिभा पहिचान गर्ने र नयाँ पुस्तालाई अवसर दिने काममा यी महोत्सवहरूको योगदानलाई अस्विकार गर्न मिल्दैन।
तर फिल्म महोत्सवले कला, समाज, समुदाय, पर्यटन, पहिचान, रचनात्मकताजस्ता विविध पक्षलाई समेट्न सकेको छ छैन, त्यसको पनि मूल्यांकन पनि जरुरी छ। किनकि, संख्यात्मक वृद्धि र निरन्तरता मात्र पर्याप्त हुँदैन। एउटा महोत्सव अर्कोभन्दा किन फरक छ? हरेक महोत्सवको आफ्नो विशिष्टता, उद्देश्य र लक्ष्य के हो यसबारे पनि स्पष्ट मार्गचित्र चाहिन्छ।

नेपालमा आयोजना हुने साना ठूला महोत्सवहरूमा छिमेकी देश भारत, चीन, भुटान, श्रीलंका, बंगलादेश, पाकिस्तानदेखि युरोप अमेरिकासम्मका फिल्मकर्मी सहभागी हुने गरेका छन्। यसक्रममा थुप्रै प्रभावशाली सर्जकहरू नेपाल आउनु सामान्य कुरा भइसकेको छ। तर एकाध चर्चित सिनेमा, दुई चार नाम चलेका फिल्मकर्मीको सहभागिता मात्रले कुनै पनि महोत्सवलाई अन्तर्राष्ट्रिय बनाउँदैन। यसले समुदाय र संस्कृतिबीच संवाद गर्दै अन्तर्राष्ट्रिय ब्रान्डिङसमेत गर्न सक्नुपर्छ।
अधिकांश महोत्सवका नाममा अन्तर्राष्ट्रिय शब्द झुन्ड्याइएको छ। तर के ती साँचो अर्थमा अन्तर्राष्ट्रिय छन् त?
अन्तर्राष्ट्रिय बन्न यस्ता महोत्सवहरू साझा बन्न सक्नु पर्छ। महोत्सवले देशभित्रका मात्र नभई देशबाहिरका फिल्मकर्मी र सिनेमाप्रेमीहरूलाई आकर्षित गर्नुपर्ने हुन्छ। तर हामीकहाँ कुनै बेला साझा बन्ने विशेषता र क्षमता बोकेका एफएसए र किम्फजस्ता महोत्सवसमेत फैलिनुको साटो खुम्चिँदै गएको अवश्था छ। एकबेला रुसी सांस्कृतिक केन्द्रमा आयोजना हुने एफएसए अहिले यलमाया केन्द्रमा खुम्चिएको छ। राष्ट्रिय सभा गृहजस्ता सार्वजनिक र पायक ठाउँमा आयोजना हुने किम्फ चर्को पार्किङ शुल्क तिर्नुपर्ने अपायक छाया सेन्टर (ठमेल) सरेको छ।

मानवअधिकार फिल्म फेस्टिभल।
कुनै पनि महोत्सवको विकास भइरहेको छ छैन भन्ने कुरा त्यसमा समावेश हुने फिल्म, सहभागिता जनाउने फिल्मकर्मी, निर्णायक मण्डल, अतिथि, पुरस्कारको स्तर र गरिमाले देखाउँछ। त्यहाँ हुने बौद्धिक संवाद र अन्तक्र्रियाले पार्ने प्रभावका आधारमा पनि यसको मापन गर्न सकिन्छ।
किम्फका पूर्वअध्यक्ष थापा नेपालमा यस्तो खालको वृद्धि निरन्तर रूपमा हुन नसकेको टिप्पणी गर्छन्। हाम्रा महोत्सवहरू फैलिनुको साटो संकीर्ण बन्दै गएको उनको चिन्ता छ। “लामो अनुभव र विरासत बोकेका महोत्सवहरूसमेत सांस्कृतिक अभियानभन्दा फगत कार्यक्रममा खुम्चिएको महसुस हुन्छ। यो कुरा हामी सबैले स्वीकार्नुपर्ने अवस्था छ,” उनी भन्छन्।

जनकपुर फिल्म फेस्टिभल।
निर्देशक गणेश पाण्डे महोत्सवहरू कुनै एउटा व्यक्ति, संस्था वा सानो समूहमा सीमित हुँदा त्यसको विस्तारमा अवरोध आउने बताउँछन्। उनको मूल्यांकन छ, “नेपालका महोत्सवहरू अपेक्षित रूपमा फैलिन नसक्नुको एउटा मुख्य कारण उनीहरू सार्वजनिक संस्थाजस्तै बन्न नसक्नु पनि हो।”
विभिन्न महोत्सवमा वक्ता र जुरीको भूमिकामा समेत निर्वाह गरेका सुवेदी महोत्सवलाई दिगो बनाउन आत्मनिर्भर तर उदार संस्था चाहिने बताउँछन्। यसका लागि सामूहिक भावना बोकेको बलियो समूह चाहिन्छ। “तर हामीकहाँ सबै महोत्सव केही सीमित व्यक्ति र सानो घेराको निर्देशन र नियन्त्रणमा भएजस्ता देखिए। व्यक्तिगत महत्त्वाकांक्षाभन्दा संस्थालाई ठूलो बनाउने काम भने अपेक्षाअनुसार हुन सकेन,” उनी भन्छन्।
फिल्म महोत्सवले भोगिरहेका समस्या र तिनको भविष्यबारे हुने चर्चामा आर्थिक पक्ष सधैं केन्द्रमा हुन्छ। आयोजकहरू जसोतसो एउटा वर्षको महोत्सवको खर्च जुटाउँछन् र अर्को वर्षको आर्थिक जुगाड कसरी गर्ने भन्ने ध्याउन्नमा लागिहाल्छन्।

नेपालमा महोत्सव सुरु हुने समयमा त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट संरचना थिएन। राज्य वा निजी क्षेत्रबाट सहयोग तथा अपनत्व प्राप्त गर्ने वातावरण थिएन, जुन आजपर्यन्त हुनसकेको छैन। किम्फ, एफएसए, आइफा जस्ता पुराना महोत्सवहरू परियोजनामार्फत नै सञ्चालन भए। तर दशकौँ बित्दा पनि विदेशी अनुदान र बाह्य स्रोतमाथिको निर्भर हट्न सकेको छैन। वैकल्पिक आन्तरिक स्रोतहरू जुटाउने पहलहरू हुन सकेका छैनन्। सुवेदी भन्छन्, हाम्रा महोत्सवहरू पब्लिक इन्टिटी बन्नुपर्थ्यो, परियोजनामुखी भइदिए।
महोत्सवहरू आत्मनिर्भर हुन नसक्नुमा आर्थिक पक्षमात्र नभई नेतृत्व हस्तान्तरण, सहभागीतामूलक संरचना र उदार अभ्यासको पनि अभाव देखिन्छ। मानव अधिकार चलचित्र महोत्सवका फेस्टिभल संयोजक आभासको मत पनि यस्तै छ। उनी कुनै पनि संस्था एक समयपछि आफ्नै खुट्टामा उभिन सक्नुपर्ने बताउँछन्। “संस्थाको वास्तविक परीक्षा नेतृत्व हस्तान्तरणपछि सुरु हुन्छ। संस्था कुनै व्यक्तिको प्रभावमा चलेको हो कि संस्थागत संरचनाले चलेको हो भन्ने कुरा नयाँ पुस्तामा जिम्मेवारी गएपछि मात्र स्पष्ट हुन्छ,” उनी भन्छन्, “हाम्रोमा सजिलै नेतृत्व हस्तान्तरण हुँदैन, भइहाल्यो भने पनि त्यो संस्थाले आफ्नो ओज गुमाउँदै धरमराउँदै गएको उदाहरण बढी छ।”
आर्थिक रूपमा टिकाउ नभई लामो समयसम्म कुनै सांस्कृतिक अभियान चलाउन गाह्रो हुन्छ। यही कारण दुई दशक किम्फको नेतृत्व सम्हालेर अवकाश लिइसकेका वसन्त थापा दीर्घायू र आन्तनिर्भरताका लागि महोत्सवले आन्तरिक स्रोतहरूमा जोड दिनुपर्ने बताउँछन्। कतिपय राम्रा महोत्सवहरू बन्द हुनुमा पनि अनुदानमाथिको निर्भरता र सहभागितामूलक अभ्यासको अभाव कारण बनेको देखिन्छ।

त्यसैले दशक नाघिसकेका महोत्सवहरू पनि आफ्नो अस्तित्व जोगाउने र निरन्तरता दिने संघर्षमै रुमल्लिएका छन्। देशभित्रको आर्थिक अवस्था, संस्थागत सहयोगको अभाव, विदेशी अनुदानको कटौतीदेखि व्यक्तिगत नेतृत्वमा अत्यधिक निर्भर हुने प्रवृत्तिसम्मले महोत्सवलाई नकारात्मक रूपमा प्रभावित पारिरहेको छ। यसका बावजुद पछिल्ला तीन दशकमा महोत्सवप्रतिको आकर्षण बढिरहेको छ। पछिल्लो तीन दशकमा नेपाली फिल्मकर्मीहरूको विदेशी महोत्सवसँगको एक्सपोजर पनि व्यापक रूपमा बढ्यो। विश्वकै प्रतिष्ठित र पुराना भेनिस, कान, लोकार्नोजस्ता महोत्सव नेपाली फिल्मकर्मीका लागि अब सुदूरका कथा रहेनन्। ती महोत्सवमा सहभागिता जनाउने मात्र नभई अब नेपाली फिल्महरू पुरस्कृत समेत हुन थालिसके।
तर नेपाली महोत्सवहरूको हालत भने टिक्नु र निरन्तरता दिनुमै खुम्चिएको छ। अन्तर्राष्ट्रिय महोत्सव त्यही स्तरकै प्राविधिक सुविधा, पहुँचयोग्य हुनुपर्छ। किम्फ अध्यक्ष रम्यता लिम्बू सरकार वा सम्बन्धित निकायले यस्तो सार्वजनिक पूर्वाधार निर्माण गर्नुपर्ने बताउँछिन्। उनी भन्छिन्, “महोत्सव आयोजनाका लागि काठमाडौंमा हामीले महसुस गरेको ठूलो अभाव यही हो।” तर समस्या ठाउँको मात्र होइन, कन्टेन्ट र प्रोगामिङको पनि हो। महोत्सवहरू फिल्मकर्मीको कार्यक्रम मात्र होइन। यसमा लागनीकर्ता, वितरक, बिक्रेता, समीक्षकलागयतको चासो हुनुपर्छ। एसियाकै बुसान फेस्टिभलको उदाहरण हेर्दा गर्दैनन्। उनीहरूले वर्षभरि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्छन्, नयाँ प्रतिभा उत्पादन गर्छन् र त्यसलाई अन्तर्राष्ट्रिय नेटवर्कसँग जोड्छन्।

“तर नेपालमा त्यस्तो काम गर्न सक्ने जनशक्ति नै सीमित छ। त्यसैले नयाँ फेस्टिभल आयोजना वा त्यसको विस्तारभन्दा पहिले हामीले सक्षम जनशक्ति निर्माणमा ध्यान दिनु आवश्यक छ,” सुवेदी भन्छन्, “अहिलेको अवस्थामा सबैभन्दा आवश्यक कुरा भनेको सक्षम जनशक्ति निर्माण, गुणस्तरीय शिक्षा र संस्थागत विकास हो भन्ने ठान्छु म।”
२०८३ मै नेपाल आभान एनिमेसन फिल्म फेस्टिभल र ग्लोबल फिल्म फेस्टिभलको घोषणा भइसकेको छ। थापा नेपालमा वर्षेनि थपिने यस्ता नयाँ महोत्सवहरूले पुरानाबाट पाठ सिक्नुपर्नेमा जोड दिन्छन्।
“देशमा सिर्जनात्मक गतिविधि बढ्नु सराहनीय पक्ष हो। तर कुनै महोत्सव किन बन्द भए, किन अनियमित छन्, कहाँ कमजोरी भयो त्यसको इमानदार समीक्षा नगरी फेरि अर्को महोत्सव आयोजना गर्नुको अर्थ हुँदैन,” किम्फमा दुई दशकको नेतृत्व सम्हालेका थापाको सुझाव छ, “नयाँ महोत्सवहरू अझ स्पष्ट दृष्टि, राम्रो व्यवस्थापन र दीर्घकालीन योजना लिएर आउनुपर्छ।”