काठमाडौं । भारतको तीव्र आर्थिक वृद्धि भइरहेका बेला भारतीय रुपैयाँ लगातार कमजोर बन्दै गएको विषयले नयाँ बहस सिर्जना गरेको छ। निक्केई एशियाका अनुसार अर्थविश्लेषक करण मेहरिशीले रुपैयाँको अवमूल्यनले भारतको वित्तीय र मौद्रिक संरचनामा गहिरो कमजोरी देखाएको बताएका छन्।
भारतीय रिजर्भ बैंकको हस्तक्षेप हुँदाहुँदै पनि रुपैयाँ ओरालो लागिरहेको छ भने विदेशी लगानीकर्ताले भारतीय बजारबाट अर्बौं डलर फिर्ता लगिरहेका छन्। उनले वित्तीय लोकलुभावन नीति, अत्यधिक बजार मूल्यांकन र लगानीकर्ताको घट्दो विश्वासलाई मुख्य कारण मानेका छन्।
यसैबीच, विश्व व्यापारको मेरुदण्ड मानिने समुद्री ढुवानी प्रणाली पनि संकटतर्फ उन्मुख भएको विश्लेषण सार्वजनिक भएको छ। जेम्स डेभिड स्पेलम्यानका अनुसार अमेरिका–इजरायल र इरानबीचको तनावले पुराना जहाज, कमजोर बन्दरगाह र असुरक्षित समुद्री संरचनामाथि निर्भर विश्व व्यापारको जोखिम उजागर गरेको छ।
एशियाली मुलुकहरूका लागि समुद्री मार्ग अत्यन्त महत्वपूर्ण भएकाले यसले ऊर्जा र उत्पादन आपूर्तिमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ।
उता थाइल्याण्डले म्यानमारका सैनिक शासक मिन आङ ह्लाइङको नागरिक शासनको नयाँ आवरणलाई स्वीकार गरेपछि क्षेत्रीय राजनीतिमा विवाद बढेको छ। विश्लेषक पाविन चाचाभालपोङपुनले यसलाई “आसियान लोकतन्त्रको मृत्यु घोषणा” भनेका छन्। उनका अनुसार थाइल्याण्डले अब केवल अधिनायकवाद सहने मात्र होइन, त्यसलाई क्षेत्रीय रूपमा वैधता दिने भूमिका खेलेको छ।
दक्षिण कोरियामा भने राष्ट्रपति ली जे म्युंगको नेतृत्वमा शेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। कृत्रिम बुद्धिमत्ता सम्बन्धी विश्वव्यापी उत्साहका कारण सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता प्रविधि कम्पनीहरूको मूल्य तीव्र रूपमा बढेको छ। तर विश्लेषक विलियम पेसेकले उच्च घरेलु ऋण, कमजोर उत्पादकत्व र चीनसँगको बढ्दो प्रतिस्पर्धाले यो आर्थिक उछाललाई जोखिममा पार्न सक्ने चेतावनी दिएका छन्।