अमेरिका । जबरजस्ती श्रम (फोर्स लेबर) बाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै अमेरिकाले करिब ६० व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ।
नयाँ शुल्कअन्तर्गत बेलायत, चीन, युरोपेली संघ (ईयू), क्यानडा, जापान र भारतलगायत मुलुकका वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त ट्यारिफ लगाइएको छ। यो निर्णय शुक्रबारदेखि लागू भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा तीव्र बनेको व्यापारिक नीतिअन्तर्गत यो पछिल्लो कदम भएको बताइएको छ। अमेरिकी व्यापार प्रतिनिधि जैमिसन ग्रियरले नयाँ शुल्कले जबरजस्ती श्रम, मानवअधिकार उल्लंघन र अनुचित व्यापारिक अभ्यास नियन्त्रण गर्न सहयोग गर्ने दाबी गरेका छन्।
अमेरिकाले फोर्स लेबरबाट उत्पादित वस्तुको आयात रोक्न प्रभावकारी व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाएका देशलाई १० प्रतिशत र त्यस्तो प्रतिबद्धता नजनाएका देशलाई १२.५ प्रतिशत शुल्क लगाएको बीबीसीले जनाएको छ।
तर अर्थशास्त्रीहरूले नयाँ ट्यारिफका कारण उपभोक्ता वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्। प्रभावित देशहरूले अमेरिकी निर्णयविरुद्ध कानुनी चुनौती दिने वा प्रतिशोधात्मक शुल्क लगाउन सक्ने सम्भावना पनि रहेको जनाइएको छ।