क्रिकेट
लिग-२ मा कायम रहला अमेरिकाविरुद्ध नेपालको पुरानो दबदबा?
आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अब नेपालले खेल्ने हरेक खेल नतिजासँग मात्र जोडिएको छैन, त्यसले उपाधि दौडमा रहेका टोलीको भविष्य पनि निर्धारण गर्नेछ। यही कारण नेपाल मैदानमा उत्रिँदा सम्भवतः सबैभन्दा चासोका साथ हेरिने टोलीमध्ये एक हो- अमेरिका।
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार घरेलु शृंखलाको दोस्रो खेलमा लिग-२ को शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध खेल्दै छ। स्कटल्यान्डसँग पहिलो खेलमा डकवर्थ लुइस मेथर्ड (डीएलएस) मार्फत २ रनले पराजित भएको नेपाल यो खेलमा ‘कमब्याक’को खोजीमा हुने मुख्य प्रशिक्षक स्टुअर्ट ल बताउँछन्। “केही लेजी ब्याटिङका कारण पहिलो खेल हार्न बाध्य भयौँ। अब एक दिन विश्राम गरेर पुन: अभ्यासमा फर्किनेछौँ। कमजोरी सुधार्दै अमेरिकाविरुद्धको खेलका लागि पूर्ण तयारी गर्नेछौँ,” उनले भने।
अघिल्लो लिग-२ चक्रअन्तर्गत घरेलु मैदानमा भएका पछिल्ला आठ खेलमा अपराजित रहँदै नेपालले ३६ खेलबाट ४० अंक जोडेको थियो। यो सफलतासँगै नेपाल एकदिवसीय मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो। यही टोली यसपटक पनि घरेलु मैदानमा हुने अन्तिम दुई शृंखलाका आठ खेलमा त्यही सानदार लय दोहोर्याउने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो।
५ मेमा सम्पन्न युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमान सम्मिलित शृंखलामा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। यो टोली ओमानसँग डीएलएस मेथडमा १०२ रनले पराजित हुन पुग्यो। यद्यपि चारमध्ये तीन खेल जित्दै एकदिवसीय मान्यता जोगाउने र विश्वकप छनोटमा स्थान बनाउने सम्भावना भने जीवित राखेको थियो।
२४ खेलबाट १८ अंक जोड्दै सातौँ स्थानमा रहेर नेपालले अमेरिका र स्कटल्यान्डविरुद्धको अन्तिम घरेलु शृंखला सुरु गरेको थियो। तर लिग-२ उपाधि जित्ने दौडमा रहेको स्कटल्यान्डले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई दुई रनले पराजित गर्यो। योसँगै स्कटल्यान्डले २९ खेलबाट ३६ अंक पुर्याउँदै अमेरिकासँग बराबरी गरेको छ। अमेरिकाले स्कटल्यान्डभन्दा पाँच खेल कम खेलेको छ। यो शृंखलामा ‘क्लिन स्विप’ गर्न सके अमेरिकाले उपाधि पक्का गर्नेछ।
कठिन प्रतिस्पर्धी
नेपालले ८ फेब्रुअरी २०२० मा घरेलु मैदानमा पहिलोपटक अमेरिकाको आतिथ्य गरेको थियो। उक्त खेलमा करण केसी र सुशान्त भारीले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि १९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रनमा समेटियो।
त्यतिबेला नेपालले सोही शृंखला खेल्न आएको ओमानसँग दुई हार बेहोरे पनि अमेरिकाविरुद्धको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आठ विकेटको जित निकालेको थियो। यो खेलमा नेपालले अमेरिकालाई मात्र १२ ओभरमा ३५ रनमै अलआउट गरेको थियो। त्यस क्रममा सन्दीप लामिछानेले ६ तथा सुशान्तले चार विकेट लिएका थिए। योसँगै नेपालले सबैभन्दा कम रनमा कुनै पनि टोलीलाई अलआउट गर्ने श्रीलंकाको कीर्तिमान बराबरी गरेको थियो।
त्यसयता लिग-२ मा नेपाल र अमेरिकाबीच आठपटक भेट भएको छ। जसमा ६ खेल अमेरिकाले जितेको छ भने एक खेल बराबरीमा टुंगिएको थियो। नेपालले यसपटक यही प्रतियोगिताअन्तर्गत अमेरिकालाई ६ वर्ष तीन महिनापछि पुनः घरेलु मैदानमा आतिथ्य गर्न लागेको हो।
हुन त यो शृंखलाअघि नेपाली वातावरणमा अमेरिका घुलमिल भइसकेको छ। यो टोलीले माथिल्लो मूलपानी क्रिकेट मैदानमा ओमान र नेपाल ‘ए’सँग चार खेलको शृंखला खेलेको थियो। उक्त खेलमा नेपाल ‘ए’ अपराजित रह्यो। टोलीले अमेरिकालाई पहिलो खेलमा तीन विकेट र दोस्रो खेलमा सात रनले पराजित गर्यो। यो जितले सिनियर टोलीलाई शनिबार खेल्दा मनोबल उच्च राख्न सहयोग पुग्ने ‘ए’ टोलीका कप्तान अनिलकुमार साह बताउँछन्।
“जुनसुकै टोली आएर ए टिमसँग हारेर सिनियर टोलीसँग खेल्न गयो भने मोरल लो नै हुन्छ। त्यसैले अमेरिकाको मुख्य टोलीलाई हराउने लक्ष्य बनाएका थियौँ। हामीसँगको खेलले हाम्रो सिनियर टोलीलाई यो विपक्षीविरुद्ध कसरी खेल्नुपर्छ भनेर आइडिया पनि मिल्यो होला,” उनी भन्छन्।
नेपाललाई सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकपमा पुर्याउने प्रशिक्षक पुबुदु दासानायके यसपटक अमेरिकी टोलीसँगै काठमाडौँ आएका छन्। नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान दिएका प्रशिक्षकका रूपमा उनलाई स्मरण गरिन्छ। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई २३ अगस्त २०११ मा प्रारम्भिक रूपमा ६ महिनाका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। उनीअघि श्रीलंकाली प्रशिक्षक रोय लुक डायसले करिब नौ वर्षसम्म नेपाली टोली सम्हालेका थिए।
दासानायकेकै प्रशिक्षणमा नेपालले २०१३ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेको थियो। उनले तीन वर्षअघि व्यक्त गरेको प्रतिबद्धताअनुसार नेपाललाई २०१४ को आईसीसी टी-२० विश्वकपमा छनोट गराउन सफल भए।
अक्टोबर २०१५ मा व्यक्तिगत कारण देखाउँदै उनले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए। त्यससँगै उनको चारवर्षे कार्यकाल समाप्त भयो। प्रशिक्षकका रूपमा उनको अन्तिम खेल नोभेम्बर २०१५ मा पपुवा न्युगिनीविरुद्ध थियो। त्यसपछि पनि आईसीसीको विशेष अनुरोधमा नामिबिया र एमसीसीविरुद्धका खेलका लागि उनी नेपाल टोलीको ‘कन्सल्ट्यान्ट’ प्रशिक्षक बनेका थिए।
पछि डिसेम्बर २०२१ मा दासानायके पुनः नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। क्यानले छोटो सूचीमा परेका १५ प्रशिक्षकमध्ये उनलाई दोस्रोपटक जिम्मेवारी दिएको थियो। त्यतिबेला लिग-२ मा लगातार खराब प्रदर्शन गरिरहेको नेपाली टोलीलाई सुधार्ने उद्देश्यले उनलाई पुनः ल्याइएको थियो।
तर तीन शृंखलामा नेपाली टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। त्यसपछि उनले टोलीभित्र गुट/उपगुट रहेको आरोप लगाउँदै २० जुलाई २०२२ मा पुनः राजीनामा दिए। करिब आठ महिनाको अवधिमा नेपालले १२ मध्ये सात खेलमा हार बेहोर्यो। यद्यपि लिग-२ को २०२४-२०२७ चक्रको सुरुआत क्यानडाको प्रशिक्षकका रूपमा रहेका दासानायके २५ मे २०२५ देखि अमेरिकाको मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्।

नेपाली क्रिकेट टोली। तस्बिर : क्यान
उनको प्रशिक्षणमा अमेरिका पछिल्ला ६ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ। आफ्नो अपराजित यात्रा निरन्तरता दिने लक्ष्यमा रहेका दासानायके नेपालमा खेल्न सधैँ चुनौतीपूर्ण हुने स्विकार्छन्। “खेल्नका लागि नेपाल कठिन ठाउँमध्ये एक हो। नेपाललाई उसकै घरेलु मैदानमा हराउन सजिलो हुँदैन। यहाँको स्पिनमैत्री पिचले ठूलो चुनौती दिन्छ,” उनी भन्छन्।
पछिल्ला तथ्यांकले नेपालभन्दा अमेरिका बलियो देखिएको छ। अमेरिकाले २७ अक्टोबर २०२४ यता नेपालविरुद्ध कुनै हार बेहोर्नुपरेको छैन। चार खेलमा अपराजित रहेको अमेरिकाविरुद्ध नेपालको पछिल्लो जित एकदिवसीय विश्वकप छनोटमा आएको थियो। जिम्बाबेको हरारेमा २० जुन २०२३ मा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्यो। उक्त प्रतियोगिताको समूह चरणमा नेपालले हात पारेको त्यही एक जित थियो।
त्यसपछि अमेरिकाले लगातार चार खेल आफ्नो पक्षमा पारेको छ। तीमध्ये दुई खेल अमेरिकाको घरेलु मैदानमा भएका थिए भने बाँकी दुई खेल यूएईमा भएका थिए। “अहिले टोलीका केही खेलाडीले यहाँको एनपीएल खेलिसकेका छन्। त्यसैले उनीहरू यहाँको अवस्थाबारे परिचित छन्,” दासानायके भन्छन्। अलराउन्डर मिलिन्द कुमार, बलिङ अलराउन्डर हर्मित सिंह, विकेटकिपर ब्याटर एन्ड्रिस गाउसले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेलेका थिए।
‘गर या मर’ मा नेपाल
लिग-२ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोटमा स्थान बनाउने प्रावधान छ। त्यस हिसाबले अमेरिका अहिलेको बलियो दाबेदार हो। नेपाल भने एकदिवसीय मान्यता जोगाउने संघर्षमा छ। टोलीका अब ११ खेल बाँकी छन्। यसमा तीन खेल घरेलु मैदानमा खेलिन बाँकी छन्। त्यसैले नेपालका लागि अहिलेको अवस्था ‘गर या मर’ जस्तै बनेको छ।
नेपालको लक्ष्य नै यो शृंखलामा सके सबै खेल जित्ने, नसके कम्तीमा तीन जित निकाल्ने थियो। टोलीका अलराउन्डर गुल्सनकुमार झाले पनि यसअघि भनेका थिए, “पोइन्ट तालिकामा हामी निकै तल छौँ। त्यसैले घरेलु मैदानको फाइदा उठाउनुपर्छ।”
स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल जितनजिक पुगेको थियो। गुल्सनले ३५ बलमा अविजित ६१ रन बनाएर टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर वर्षाका कारण खेल डीएलएस पद्धतिअनुसार ३९ ओभरमा घटाइएपछि नेपालले २२१ रनको नयाँ लक्ष्य पायो। सात विकेट गुमाएको नेपाल निर्धारित ओभरमा २१८ रनमै सीमित भयो।
नेपालको हारको मुख्य कारण २६ देखि २८औँ ओभरसम्मको कमजोर प्रदर्शन बन्यो। ती ओभरमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख आउट भए। नेपालले ती तीन ओभरमा ११ रन मात्र जोड्न सक्यो। रोहितबाहेक अन्य ब्याटर क्याच भए। पिच खासै खराब नभए पनि हावामा खेल्ने प्रयास गर्दा नेपाली ब्याटर दबाबमा परे।
नेपाली टोलीको विशेषता भनेकै ‘ग्याप’मा बल प्रहार गर्दै तीव्र गतिमा रन बटुल्नु हो। तर हरेक बलमा चौका-छक्का खोज्ने प्रयासले टोली जितनजिक पुगेर हार्नुपरेको मुख्य प्रशिक्षक स्टुअर्ट स्विकार्छन्।
“रोहित र दीपेन्द्रले साझेदारी गर्दा ग्यापमा खेले, राम्रो दौडिए र एक रनलाई दुईमा बदले। त्यसपछि बाउन्ड्री पनि आयो। तर माथिल्लो क्रममा अनावश्यक रूपमा छक्का खोज्यौँ। हामी छक्का मात्र हान्ने टोली होइनौँ,” उनले भने।
रोहित र दीपेन्द्रले चौथो विकेटका लागि ७६ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। रोहितले ४६ बलमा दुई चौकासहित ३२ रन बनाए भने दीपेन्द्रले ४९ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ५५ रन जोडे। त्यसका बाबजुद पनि नेपाल जित निकाल्न असफल रह्यो।
नेपालका लागि सकारात्मक पक्ष भने दीपेन्द्रको उत्कृष्ट लय हो। उनले अघिल्लो शृंखलामा एक शतक र दुई अर्धशतकसहित २६८ रन बनाएका थिए। यस शृंखलामा पनि उनी निरन्तर लयमा छन्। त्यस्तै अघिल्लो शृंखलामा यूएईविरुद्ध बाहेक खासै प्रभाव जमाउन नसकेका गुल्सन पनि बिस्तारै लयमा फर्किरहेका छन्। यसले ब्याटिङमा अब नेपाललाई दीपेन्द्रमाथि नै दबाब दिनुपर्ने अवस्था छैन। “ब्याटिङबारे धेरै चिन्ता छैन। यो एउटा मात्र खेल हो। अघिल्लो शृंखलामा ब्याटरहरूले राम्रो प्रदर्शन गरेका थिए। पहिलो खेलमा त्यो लय देखाउन सकेनौँ। तर ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभाग राम्रो देखिएकाले हामी शृंखलामा फर्किनेछौँ,” प्रशिक्षक स्टुअर्टले भने।