महिला भलिबल
लगातार खेलाडी पलायन हुँदा पनि नेपाली टोलीको आत्मविश्वास उच्च
भारतसँग सामना हुँदा नेपाली महिला भलिबल टोलीलाई एउटा भय मिसिएको पीडाले सताउने गर्छ। गएको सात वर्षमा नेपालले भारतविरुद्ध घरेलु कोर्टमै १३औँ दक्षिण एसियाली खेलकुद (साग), एभीसी सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप र काभा महिला नेसन्स लिग गरी तीन फरक प्रतियोगिता खेलेको छ। तर, उपाधि जित्ने सपना अझै पूरा भएको छैन।
नेपाललाई सपना पछ्याउने अर्को अवसर प्राप्त भएको छ। नेपाली टोलीले आउँदो शुक्रबार घरेलु कोर्टमा भारतको सामना गर्दै काभा महिला भलिबल च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ। आठ राष्ट्र सहभागी यो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा ८-१५ जेठ (२२-२९ मे) सम्म सञ्चालन हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित भारत, किर्गिजस्तान र माल्दिभ्स छन्। उज्वेकिस्तान, किर्गिजस्तान, ताजकिस्तान, कजाखस्तान र श्रीलंका भने अर्को समूहमा छन्।
नेपालले आफ्नो पहिलो खेल ८ जेठमा भारतविरुद्ध खेल्नेछ। त्यही दिन किर्गिजस्तान र माल्दिभ्स तथा इरान र बाङ्लादेशबीच पनि प्रतिस्पर्धा हुनेछ। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल १५ जेठमा हुनेछ।
नेपाली टोलीका केही सिनियर खेलाडी विदेश पलायन भएका छन्। तर, टोलीमा नयाँ र प्रतिभाशाली खेलाडी थपिएको स्पाइकर निरुता ठगुन्ना बताउँछिन्। “पुराना र नयाँ खेलाडीको सम्मिश्रण हुँदा उपाधि जित्न सक्छौँ भन्नेमा विश्वस्त छौँ,” उनी भन्छिन्।
बाधक भारत
भलिबलको चर्चा हुँदा नेपाल र भारतबीचको प्रतिस्पर्धा सधैँ स्मरण गरिन्छ। यी दुई टोली सन् २०१९ मा काठमाडौँस्थित राखेप कभर्डहलमा सम्पन्न १३औँ सागको फाइनलमा आमनेसामने भएका थिए।
नेपालले यसअघि १९९९, २००६ र २०१६ मा गरी तीन पटक कांस्य पदक जितेको थियो। त्यसैले घरेलु मैदानमा पहिलो पटक स्वर्ण पदक जित्ने सुनौलो अवसर नेपाली टोलीसामु थियो। प्रतियोगिताभन्दा तीन साताअघि मात्र बाङ्लादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेर आत्मविश्वासका साथ फर्किएको नेपालले सागको सुरुआती खेलमा सोही टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुआत गर्यो। तर, त्यसपछि ३-० को सोझो सेटमा पराजित हुन पुग्यो।
यद्यपि, नेपाली टोलीले उत्कृष्ट लय कायम राख्दै सेमिफाइनलमा श्रीलंकालाई ३-० ले हरायो र साग इतिहासमा पहिलो पटक रजत पदक पक्का गर्यो।
फाइनलमा पुनः भारतसँग भिडेको नेपालले साहसिक प्रदर्शन गर्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल ३-२ को सेटमा पराजित हुँदै उपविजेतामा सीमित भयो। त्यसयता नेपाल र भारतबीचको प्रतिस्पर्धा निरन्तर हुँदै आएको छ। दक्षिण एसियाली महिला भलिबलमा यी दुई टोली प्रायः एकअर्काका मुख्य प्रतिद्वन्द्वी मानिन्छन्। तर, अधिकांश भेटमा भारतले नै बाजी मार्दै आएको छ।

काभा महिला भलिबल च्यालेन्ज कपमा भारतविरुद्ध स्पाइक प्रहार गर्दै नेपाली खेलाडी उषा भण्डारी। तस्बिर : काभा
सन् २०२३ मा यही कोर्टमा भएको काभा महिला भलिबल च्यालेन्ज कपमा पनि नेपाल र भारत भिडेका थिए। समूह ‘ए’ अन्तर्गत भएको उक्त खेलमा भारतसँग नेपाल ३-१ को सेटमा पराजित भयो। त्यसपछि यी दुई टोलीको भेट ७ अगस्ट २०२४ मा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा भयो। समूह चरणको रोमाञ्चक खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गर्यो। तर, फाइनलमा भारतले हारको बदला लियो। निकै प्रतिस्पर्धात्मक बनेको उपाधि भिडन्तमा भारतले नेपाललाई ३-२ कै सेटमा हराउँदै ट्रफी आफ्नो नाममा गर्यो।
यसपल्ट सोही हारको बदला लिने गरी तयारी भइरहेको स्पाइकर उषा भण्डारी बताउँछिन्। “हामीले यसअघि पनि भारतलाई पराजित गरिसकेका छौँ। फाइनलमा पनि हाम्रो हार लज्जास्पद थिएन। हामी टाइट पोइन्टमा चुकेका हौँ। त्यसैले फेरि भारतलाई हराउने जिम्मेवारी अहिले हाम्रो काँधमा आएको छ। तर, दिदीहरूको अभाव खट्किनेछ,” उनी भन्छिन्।
सन् २०२४ मा पहिलो पटक आयोजना भएको काभा प्रतियोगितामा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकी अरुणा शाही अहिले अस्ट्रेलियामा छिन्। उनीसँगै हिटर सरस्वती चौधरी, आउटसाइड हिटर पुनम चन्द, ब्लकरद्वय कविता भट्ट र साफिया पुन तथा उदीयमान खेलाडी मनीषा चौधरी पनि यसै वर्ष अस्ट्रेलिया पुगेका छन्।
अघिल्लो टोलीबाट निरुता र उषासँगै मिडल ब्लकर सुमित्रा रेग्मी, लिबेरोद्वय सलिना श्रेष्ठ र शान्तिकला तामाङ, स्पाइकरद्वय कामना विष्ट, आरती सुवेदी, सेटर प्रगति नाथ मात्र टोलीमा बाँकी छन्।

काभाको ट्रफीसहित भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द। तस्बिर : भलिबल संघ
सिनियरको अभावसिर्जित ‘ग्याप’ पूरा गर्न केही नयाँ खेलाडीलाई अवसर दिइएको छ। बन्द प्रशिक्षणमा सलिना बुढा मगर, लक्ष्मी चन्द र जसना महतोलाई समावेश गरिएको छ।
त्यस्तै, यू-१९ र यू-२० राष्ट्रिय टोलीबाट अनुभव बटुलेका खेलाडीलाई पनि प्रशिक्षणमा राखिएको छ। अलिसा मानन्धर, वसन्ती साउद, सुनीता खत्री, रिमा विश्वकर्मा र मीना सुनुवारलगायत खेलाडी अहिले प्रशिक्षणमा व्यस्त छन्।
यमुना रसाइली, आसिका क्षेत्री र जेनिसा विश्वकर्मालगायत केही खेलाडी भने प्रशिक्षणपछि बाहिरिएका छन्। अन्तिम टोलीको टुंगो लाग्न अझै बाँकी रहे पनि अधिकांश खेलाडी एउटै उमेर समूहका भएकाले प्रशिक्षण र आपसी समन्वय सहजता भएको स्पाइकर भण्डारी बताउँछिन्। “जुनियर खेलाडीहरू पनि राम्रो लयमा छन्। नयाँ र पुराना खेलाडीको संयोजनले कस्तो प्रदर्शन गर्छ भन्ने प्रतियोगितामै थाहा हुनेछ। तर, तयारी राम्रो भइरहेकाले नतिजा सुखद आउनेमा हामी विश्वस्त छौँ,” उनी भन्छिन्।
अझै कप्तानविहीन
टोलीमा धेरै नयाँ अनुहार भए पनि प्रशिक्षक भने पुरानै छन्— जगदीश भट्ट। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का मुख्य प्रशिक्षकसमेत रहेका भट्टले यही टोलीलाई करिब १५ महिनादेखि प्रशिक्षण दिँदै आएका छन्। उनले यसै वर्ष जापानमा हुने एसियाली खेलकुद (एसियाड)लाई समेत लक्षित गर्दै टोली निर्माण गरिरहेका छन्।
यद्यपि, पहिलो संस्करणको तुलनामा यसपटक प्रतियोगिता निकै कठिन हुने अनुमान गरिएको छ। दक्षिण एसियाली क्षेत्रमै तुलनात्मक रूपमा कमजोर मानिँदै आएका श्रीलंका र माल्दिभ्सले उल्लेखनीय सुधार गरेका छन्। नेपालले अघिल्ला प्रतियोगितामा पराजित गरेका उज्वेकिस्तान र किर्गिजस्तान अहिले एसियन च्याम्पियनसिप खेल्ने स्तरमा पुगिसकेका छन्।

मुख्य प्रशिक्षक जगदीश भट्ट। तस्बिर : भलिबल संघ
भारतसँग नेपालले एक पटक ऐतिहासिक जित निकाले पनि अहिले यो टोली अझ बलियो र बराबरीको प्रतिस्पर्धीका रूपमा हेरिएको छ। यसपटक भारत युवा टोलीसहित पहिलो पटक विदेशी प्रशिक्षकको नेतृत्वमा काठमाडौँ आउँदै छ। महिला भलिबललाई थप सशक्त बनाउने उद्देश्यसहित भारतले ३८ वर्षीया स्लोभाकमूलकी अजरबैजानी प्रशिक्षक जाना कुलनलाई नियुक्त गरिसकेको छ। इरान भने लगातार पाँच वर्षदेखि एउटै ‘कोर’ टोलीलाई निरन्तरता दिँदै अनुभवी खेलाडीका साथ प्रतियोगितामा सहभागी हुँदै छ।
समग्रमा यो प्रतियोगिता नेपालका लागि सहज हुने देखिँदैन। अझ राष्ट्रिय खेल भलिबल भए पनि नेपालले घरेलु मैदानमा अहिलेसम्म उपाधि जित्न सकेको छैन। यस्तो अवस्थामा उपाधिको प्रतीक्षामा रहेको नेपाली टोली अझै कप्तानविहीन छ। तर, कप्तान छनोटभन्दा टोलीको एकता र प्रदर्शनमा आफू केन्द्रित रहेको प्रशिक्षक भट्ट बताउँछन्। “कसले टोलीलाई एकताबद्ध राख्न सक्छ र मैदानमा कस्तो प्रदर्शन गर्छ भन्ने आधारमा कप्तान छनोट गरिन्छ। आज वा भोलिसम्म कप्तानको टुंगो लागिसक्नेछ,” उनी भन्छन्।
उक्लने अवसर
नेपाल अहिले एसियाली स्तरभन्दा माथि उक्लन सकेको छैन। त्यसैले नेपालले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता नै काभा हो। यस्तो सीमित प्रतियोगितामा रहनुको कारण भने विश्व भलिबलको संस्था एफआईभीबीको वरीयताविहीन हुनु हो।
हुन त यसअघि नेपाल एफआईभीबी वरीयतामा ८६औँ स्थानमा थियो। सन् २०२२ मा चीनको हन्झाउमा भएको १९औँ एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली टोलीले ११औँ स्थानमा चित्त बुझायो। त्यसपछि नेपालले सीमित प्रतियोगिता मात्र खेल्न पायो।
हालैका वर्षहरूमा पर्याप्त अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलिएकै कारण वरीयताबाट बाहिरिएको नेपालले यस प्रतियोगितालाई सो वरीयता हासिल गर्ने अवसरका रूपमा पनि हेरिरहेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द बताउँछन्। “यो प्रतियोगिता जित्न सके अर्को वर्ष एसिया कप खेल्ने अवसर प्राप्त हुनेछ। त्यसमा पनि शीर्ष ६ भित्र पर्न सके अझ माथिल्लो स्तरको यात्रा तय गर्न सकिन्छ,” उनी भन्छन्।
काभाको अघिल्लो संस्करण नेपालमै आयोजना हुने तय थियो। तर, २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका कारण प्रतियोगिता ताजिकिस्तान सर्यो। नेपालमै भएको भए काभाले टुँडिखेलमा पहिलो पटक आउटडोर भलिबल प्रतियोगिता गर्ने योजना बनाएको थियो। प्रतियोगितामा किर्गिजस्तान, माल्दिभ्स, बाङ्लादेश र अफगानिस्तानले मात्र सहभागिता जनाएका थिए।
एक वर्षपछि नेपाल पुनः प्रतियोगितामा भाग लिएर घरेलु कोर्ट फर्किएको हो। “घरेलु समर्थक धेरै आशावादी रहेका कारण पनि उपाधि हात पार्नुको विकल्प छैन,” चन्द बताउँछन्।