जनकपुरधाम । आफ्ना पतिको दीर्घजीवनको कामना गर्दै मिथिलाञ्चलका महिलाहरूले आज बरसाइत अर्थात् बटसावित्री पर्व श्रद्धापूर्वक मनाएका छन् । बरको रुखमुनि पतिको पूजा गरिने भएकाले यस पर्वलाई बटसावित्री पर्व भनिन्छ । यो पर्वले पति–पत्नीबीचको सम्बन्ध सुमधुर बनाउनुका साथै वातावरण संरक्षणको सन्देश पनि दिने गरेको छ ।
हरेक वर्ष जेठ महिनाको औंसीका दिन मनाइने बटसावित्री पर्वलाई नारीत्व रक्षासँगै सन्तान प्राप्तिमा सहयोग गर्ने पर्वका रूपमा लिने गरिन्छ । जसरी बरको बोटले वर्षौंसम्म शीतलता प्रदान गर्छ, त्यसैगरी यसको बोटमुनि आफ्ना पतिको पूजा गर्दा दीर्घायु प्राप्त हुने जनविश्वास रहिआएको छ ।
यही विश्वासका साथ नयाँ लुगा तथा श्रृंगारले सजिएका मिथिलाञ्चलका विवाहित महिलाहरू बिहानैदेखि पूजाका लागि बरको रुखमुनि जम्मा हुने गरेका छन् । जेठ महिनाको कडा घामबाट बच्न बरको बोटमुनि पूजा गर्ने चलन पछि धार्मिक परम्पराका रूपमा विकसित भएको मानिन्छ । दार्शनिक दृष्टिकोणले पनि बरको बोटलाई दीर्घायु तथा अमरत्वको प्रतीकका रूपमा स्वीकार गरिएको छ ।
यो पर्वलाई सावित्री र सत्यवानको कथासँग पनि जोड्ने गरिन्छ । पौराणिक कथाअनुसार सत्यवानको मृत्युपछि सावित्रीले बटवृक्षनजिक भगवानको आराधना गरी आफ्ना पतिलाई पुनर्जीवन दिलाएकी थिइन् । त्यसैले यो पर्वलाई वैवाहिक निष्ठा र समर्पणको प्रतीकका रूपमा समेत लिने गरिन्छ ।
पर्वका दिन विवाहित महिलाहरू बिहान सबेरै उठेर नदी तथा पोखरीमा स्नान गरी बटवृक्षमुनि सावित्रीको पूजा–आराधना गर्छन् । सावित्रीसँगै पार्वती र नाग देवताको पूजा गर्ने परम्परा पनि रहेको छ ।
नवविवाहित महिलाले पहिलो बरसाइत अनिवार्य रूपमा ससुरालमै मनाउनुपर्ने परम्परा छ । उनीहरूका लागि लुगादेखि चुरासम्मका सबै श्रृंगार तथा पहिरनका सामग्री माइतबाट पठाइन्छ । त्यसपछि उनीहरू त्यही लुगा, गहना र श्रृंगारमा सजिएर बरको बोटमुनि भेला भई श्रद्धाभक्तिपूर्वक पतिको पूजा गर्छन् ।