काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

किम्फ २३औँ संस्करणमा विश्व सिनेमा र स्थानीय आवाज

५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण २०२६ मे २७ देखि ३१ सम्म काठमाडौँमा हुने भएको छ। महोत्सवमा २९ देशका ५० भन्दा बढी सशक्त कथावाचन भएका फिल्म प्रदर्शन गरिने किम्फद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

किम्फले नेपाली चलचित्रप्रेमी, फिल्मकर्मी तथा आमदर्शकमाझ अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित फिचर, वृत्तचित्र, छोटा चलचित्र तथा साहसिक चलचित्र प्रस्तुत गर्नेछ। नेपाल पानोरमा खण्डमा समकालीन नेपालको कथा उजागर गर्ने स्थानीय प्रतिभाका चलचित्र समावेश गरिएका छन्।

महोत्सवको उद्घाटन भारतकी निर्देशक त्रिवेणी राईको सेप अफ मम (छोराजस्तै) नेपाल प्रिमियरबाट हुनेछ। फिल्ममा सहरको जागिर छोडेर हिमाली गाउँ फर्किएकी विष्णुले परम्पराको पालना गर्ने कि आफ्नो स्वतन्त्र पहिचान रोज्ने कठिन निर्णय लिनुपर्ने कथा चित्रण गरिएको छ।

नेपाल र स्विट्जरल्यान्डबीचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा किम्फले ‘अल्पाइन अलाइन्सेस : न्यु वेभ अफ नेपाली सिनेमा’ शीर्षकमा स्विस फिल्म ल्याब तथा महोत्सवमा सहभागी भइसकेका नेपाली फिल्मकर्मीसँग विशेष संवाद कार्यक्रम आयोजना गर्नेछ।

यस वर्ष ‘सिनेमा र सेन्सरसिप’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिनेछ।

विज्ञप्तिअनुसार नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा चर्चित जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित क्लाइम्बिङ फर लाइफको विशेष प्रदर्शनी हुनेछ। यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ।

किम्फ २०२६ को अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा, थाइल्यान्ड फिल्म अभिलेखालयकी निर्देशक चलिदा उअबुमरुङ्जित, नेपालका लेखक तथा कवि कुमार नगरकोटी तथा इटालीस्थित सर्भिनो सिनेमाउन्टेन फेस्टिभलका निर्देशक लुका बिच रहेका छन्। निर्णायक मण्डलले उत्कृष्ट फिचर फिक्सन (५ छनोट), फिचर वृत्तचित्र (११ छनोट), छोटो फिक्सन (७ छनोट) र छोटो वृत्तचित्र (१० छनोट) विधामा पुरस्कार प्रदान गर्नेछ।

नेपाल पानोरमा निर्णायक मण्डलमा लुसी डे बारोस, फिल्म निर्देशक नवीन चौहान तथा फिल्म पत्रकार एवं समालोचक रीना मोक्तान छन्। उनीहरूले उत्कृष्ट वृत्तचित्र (५ छनोट) र उत्कृष्ट फिक्सन चलचित्र (९ छनोट) चयन गर्नेछन्।

अन्तर्राष्ट्रिय विधाअन्तर्गत उत्कृष्ट फिचर वृत्तचित्रलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर फिक्सनलाई १५ सय डलर तथा उत्कृष्ट छोटो फिक्सनलाई एक हजार डलर पुरस्कार प्रदान गरिनेछ। नेपाल पानोरमाअन्तर्गत उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट फिक्सन चलचित्रलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ। किम्फ दर्शक पुरस्कार पनि एक लाख रहेको छ।

यस वर्ष किम्फले काठमाडौं डकल्याबको दोस्रो संस्करण आयोजना गर्दै छ। दक्षिण एसियाली प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पाकिस्तान-क्यानडाकी अनम अब्बास, भुटानका अरुण भट्टराई तथा भारतकी सर्भनिक कौरले दक्षिण एसियाली परियोजनालाई मार्गदर्शन गर्नेछन्। जसको समापन महोत्सव अवधिमा प्रत्यक्ष पिचिङ कार्यक्रममा हुनेछ।

किम्फले चलचित्र ल्याबसँगको सहकार्यमा छोटो फिक्सन ल्याब तथा स्क्रिप्ट पिचिङ फोरम पनि आयोजना गर्नेछ। जसमा नेपाली परियोजनालाई लगानी र मार्गदर्शन उपलब्ध गराउने उद्देश्य राखिएको छ।

युवा फिल्मकर्मीहरूलाई प्रोत्साहन गर्दै किम्फले ‘आशा ड्रिम्स इन मोसन’ शीर्षकअन्तर्गत नेपाली युवाका आकांक्षा झल्काउने स्क्रिनिङ तथा प्यानल कार्यक्रम प्रस्तुत गर्नेछ। जुन युरोपियन युनियन र युनिसेफको सहयोगमा आयोजना हुनेछ। युवा र प्लान इन्टरनेसनलको सहकार्यमा ‘हर क्लाइमेट स्टोरी’ शीर्षकमा स्क्रिनिङ तथा प्यानल छलफल पनि हुनेछ।

किम्फ चलचित्र महोत्सव किम्फ फाउन्डेसनद्वारा आयोजना गरिएको हो। किम्फ इन्टरन्यासनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य पनि हो। महोत्सवमा सर्वसाधारणका लागि टिकट शुल्क १५० तथा विद्यार्थीका लागि १०० निर्धारण गरिएको छ।

महोत्सव निर्देशक रम्यता लिम्बूले भनिन्, “यस वर्षको चलचित्र तथा कार्यक्रमहरूको सूचीले दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपाली समाजलाई असर गर्ने समसामयिक विषयमा गम्भीर संवादका लागि प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ।”