काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१२ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात्, बर्ड फ्लु रोग पुष्टि भएको छ।

नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । नगरपालिकाले यसको नियन्त्रण र रोकथामका लागि विशेष अभियान सुरु गरेको जानकारी दिएको छ।

सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ।

रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागू गरेको छ।

एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेको अन्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ। साथै, खोरभित्र जाँदा छुट्टै बुट र एप्रोनको प्रयोग गर्न र दैनिक रूपमा खोर निसंक्रमण गर्न समेत कृषकहरूलाई भनिएको छ।

यसैगरी, नगरपालिकाले पन्छी फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तवरले खाल्डोमा गाड्न आग्रह गरेको छ।

पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने र मासु तथा अण्डाजन्य पदार्थहरू राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ।

यदि कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ।