काठमाडौँ। नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ काठमाडौँमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३’ हुने भएको छ।
‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आगामी ४, ५ र ६ मंसिर २०८३ (२०, २१ र २२ नोभेम्बर २०२६) भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि १ साउनदेखि स्टल बुकिङ खुला गरिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागअन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।
नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रका रूपान्तरणमा टेवा पुर्याउने उद्देश्यले मेला आयोजना गरिने भएको हो। २०७१ सालमा स्थापना भएको गैरनाफामूलक संस्था नेपाल कृषि मेसिनरी व्यवसायी संघ र सरकारका विभिन्न निकायहरूको सहकार्यमा हालसम्म पाँचपटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एकपटक प्रादेशिक प्रदर्शनी तथा एकपटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
२०७० सालमा चितवनको भरतपुरमा तत्कालीन कृषि इन्जिनियरिङ निर्देशनालयको अगुवाइमा प्रथम प्रदर्शनी आयोजना गरिएको पृष्ठभूमिमा यस वर्षको अन्तर्राष्ट्रिय संस्करण थप बृहत् र प्रविधिमैत्री हुने विश्वास लिइएको नेपाल कृषि मेसिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनीता नेमाफुकीले जानकारी दिइन्।
नेमाफुकीका अनुसार प्रदर्शनीमा एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीकर्ताको सहभागिता रहनेछ। कुल स्टल संख्या दुई यसभन्दा बढी रहने, विश्वका करिब १० मुलुकका दुई हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा नवीनतम प्रविधिहरू एकै थलोमा प्रदर्शन गरिनेछ।
यस्तै नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यका साथै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अन्तर्गतका कम्पनीलाई विशेष छुट प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
कृषक, उद्यमी तथा सर्वसाधारणका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, आधुनिक सिँचाइ प्रणाली, पोस्ट–हार्भेस्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक यन्त्र-उपकरणका साथै उन्नत बिउबिजनको प्रदर्शनी गरिनेछ। यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक र विक्रेताहरूको सहभागिता सुनिश्चित भइसकेको छ।
आयोजकका अनुसार यस मेलाको मुख्य उद्देश्य कृषक, कृषि उद्यमी, उपभोक्ता र नीति निर्माताहरूलाई नवीनतम प्रविधिबारे जानकारी गराउनु हो। साथै कृषि यन्त्रहरूको प्रचार गरी आन्तरिक बजारको प्रवर्द्धन गर्ने, व्यवसायी र उपभोक्ताबीच सिधा समन्वय कायम गर्ने तथा व्यावसायिक कृषि प्रणालीबारे चेतना अभिवृद्धि गरी नयाँ लगानीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
मेलाले कृषि विज्ञ, उत्पादक, आयातकर्ता र कृषकबीच समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा कृषक, कृषक समूह, कृषि सहकारी, कृषि उद्यमीका साथै कृषि विधाका विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, वैज्ञानिक र नीति निर्माताहरूको बाक्लो अवलोकन रहने अनुमान गरिएको छ।