काभा महिला भलिबल
इरानको बाधा चिर्ने चुनौती
नेपाली भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टका लागि सेन्ट्रल एसिया भलिबल संघ (काभा) महिला भलिबल च्याम्पियनसिप सुरु हुनुअघिको परिस्थिति सहज थिएन। राष्ट्रिय टोलीकी तत्कालीन कप्तान अरुणा शाहीसहित आधा दर्जन खेलाडी बिदेसिएपछि नेपाली टोलीको प्रदर्शनबारे चिन्ता बढेको थियो। टोलीलाई कसरी सम्हाल्ने र प्रतिस्पर्धात्मक बनाइराख्ने भन्ने चुनौती प्रशिक्षक भट्टसामु थियो।
तिनै चुनौतीबीच नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको छ। पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित नेपालले दोस्रो खेलमा किर्गिजस्तानसँग ३-० को सोझो सेटमा जित हात पार्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले अन्तिम चारको यात्रा तय गरेपछि प्रशिक्षक भट्ट अहिले उत्साहित देखिन्छन्।
“विश्वकपमा पनि ठूला टोली सानासँग पराजित भएर उपाधि उठाएको उदाहरण छन्। अझ हाम्रो टोलीको पहिलो खेलमा अनुभवको कमी देखियो। अहिले खेल मिल्दै गएको छ। अब जुनसुकै प्रतिद्वन्द्वीलाई चुनौती दिएर उपाधि उठाउन सक्छौँ,” उनी भन्छन्।
६ खेलाडीको ‘डेब्यु’
अरुणालाई नेपाली महिला भलिबल इतिहासकै सफल कप्तानमध्ये एक मानिन्छ। नियमित कप्तान विनीता बुढाथोकी राष्ट्रिय टोलीबाहिर रहेपछि नेपाल भलिबल संघले १५ अक्टोबर २०१९ मा सेटर अरुणालाई कप्तानको जिम्मेवारी दिएको थियो। त्यसयता उनको नेतृत्वमा नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गर्यो।
उनकै कप्तानीमा नेपालले सन् २०१९ र २०२१ मा एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक जित्यो भने सन् २०१९ मै नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक हात पार्यो। त्यसपछि पनि टोलीको सफलता यात्राले निरन्तरता पायो।
सन् २०२३ मा घरेलु कोर्टमै आयोजित काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कांस्य पदक जित्यो भने सन् २०२४ को काभा नेसन्स लिगमा रजत पदक जित्दै टोलीले आफ्नो स्तर थप उकास्यो।
तर, नेपाली टोलीलाई यति धेरै उपलब्धि दिलाएकी अरुणाले काभा महिला भलिबल च्याम्पियनसिप नजिकिँदै गर्दा संघलाई समेत औपचारिक जानकारी नदिई अस्ट्रेलिया जाने निर्णय लिएकी थिइन्। अरुणा मात्र होइन, उनीसँगै काभा महिला नेसन्स लिग खेलेका हिटर सरस्वती चौधरी, आउटसाइड हिटर पुनम चन्द तथा ब्लकरद्वय कविता भट्ट र साफिया पुन, उदीयमान खेलाडी मनीषा चौधरी पनि यसै वर्ष अस्ट्रेलिया उडेका थिए।

निरुता र प्रगति।
यी प्रमुख खेलाडी बाहिरिँदा नेपाली टोलीको सन्तुलनमा असर पर्ने निश्चित थियो। त्यसैले पछिल्लो समय नेपाल भलिबल संघलाई नयाँ र बलियो टोली निर्माण गर्नु चुनौतीपूर्ण बनेको थियो। यही अवस्था ध्यानमा राख्दै संघले लामो समयदेखि राष्ट्रिय टोलीबाहिर रहेकी ओपन स्पाइकर प्रतिभा मालीलाई पुनः टोलीमा बोलाउने प्रयास गरेको थियो। तर, अस्ट्रेलियामै रहेकी मालीले प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएकी थिइन्। यस्तोबेला मुख्य प्रशिक्षक भट्टले सलिना बूढामगर, एलिसा मानन्धर, वसन्ती साउद, जस्ना महतो, सुनीता खत्री र मीना सुनुवारलगायत खेलाडीलाई मौका दिएका हुन्।
“अनुभवको कमी त भइहाल्छ। तर, यी खेलाडीले जुनियर टोलीबाट अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता धेरै खेलिसकेका थिए। दिदीहरू नहुँदा पनि जिताउन सक्छौँ भन्ने माइन्डसेट भएकालाई टोलीमा लिएका हौँ,” उनी भन्छन्। टोलीमा कप्तान निरुता ठगुन्ना र उषा भण्डारीसँगै मिडल ब्लकर सुमित्रा रेग्मी, लिबेरोद्वय सलिना श्रेष्ठ र शान्तिकला तामाङ, स्पाइकरद्वय कामना विष्ट र सेटर प्रगति नाथ मात्रै अनुभवी खेलाडी हुन्। तर, उनीहरूले पनि धेरै खेल खेल्न पाएका थिएनन्।
यस्तोमा भट्टलाई मुख्य चुनौती भने मिडल ब्लकरको थियो। कविता र साफिया बाहिरिँदा संगम महतो घाइते भइन्। त्यसैले सुमित्रामा मात्र विपक्षीको स्पाइक रोक्ने जिम्मेवारी थियो। तर, रिच र हाइट राम्रो भएकी उनीलाई साथ दिन वसन्ती, सुनीता र एलिसा थपिए। सुमित्राबाहेक अन्य खेलाडीले यही प्रतियोगितामार्फत डेब्यु गरेका हुन्। यीबाहेक आउटसाइड हिटरद्वय सलिना तथा मिना सुनार र सेटर जसनाले पनि डेब्यु गर्ने मौका पाएका छन्।

प्रगतिनाथ।
अझ सेमिफाइनल पुग्न ३-० को सोझो सेटमा जित्नैपर्ने श्रीलंकाविरुद्धको खेलमा त प्रशिक्षक भट्टले सलिनाबाहेक सबै खेलाडीलाई मौका दिएका थिए।
लक्ष्य फाइनलको
अब नेपालको लक्ष्य फाइनल यात्रा तय गर्नु हुनेछ। त्यसका लागि बिहीबार साबिक विजेता इरानसँग प्रतिस्पर्धा गर्नेछ। इरानले अघिल्लो संस्करणको फाइनलमा उज्वेकिस्तानलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको थियो। यद्यपि, त्यस संस्करणमा नेपाल र भारत सहभागी थिएनन्।
इरान नेपालका लागि अपरिचित प्रतिद्वन्द्वी भने होइन। सन् २०२४ मा आयोजित काभा नेसन्स लिगमा यी दुई टोली लिग चरणमै आमनेसामने भएका थिए। त्यस प्रतियोगितामा नेपालले सुरुआती खेलमै श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुआत गरेको थियो। दोस्रो खेलमा नेपालले भारतमाथि ३-२ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।
तर, तेस्रो खेलमा नेपाल अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रह्यो र इरानसँग ३-२ ले पराजित भयो। त्यसपछि लिग चरणको अन्तिम खेलमा दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको नेपालले अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो। पाँच टोली मात्र सहभागी उक्त प्रतियोगितामा काभाले लिग चरणको शीर्ष टोलीलाई चौथो स्थानको टोलीसँग तथा दोस्रो स्थानको टोलीलाई तेस्रो स्थानको टोलीसँग सेमिफाइनल खेलाउने ढाँचा बनाएको थियो।
लिग चरणमा सात अंक जोडेको इरान तेस्रो र नेपाल नौ अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेका थिए। त्यस सेमिफाइनलमा नेपालले जुनियर खेलाडी समेटिएको इरानी टोलीलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै फाइनलमा स्थान बनायो। त्यस हारसँगै इरान तेस्रो स्थानमा सीमित बनेको थियो।
तर, यसपटक इरानी टोली अघिल्लो संस्करणको तुलनामा निकै बलियो देखिएको छ। इरान यस प्रतियोगितामा कजाखस्तान, श्रीलंका र बाङ्लादेशलाई समान ३-० को सेटमा पराजित गर्दै नौ अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। उल्लेखनीय कुरा के छ भने, इरानले जारी प्रतियोगितामा अहिलेसम्म एक सेट पनि गुमाएको छैन।

कोच जगदिश भट्ट।
अर्कातर्फ, नेपालले सात अंकसहित समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको हो। कप्तान निरुता ठगुन्ना पुरानो खेलाडीले भारतसँग जति खेल्नुपर्ने हो, त्यति खेल्न नसकेको बताउँछिन्। यसपल्ट भने टोली मिल्दै गएका कारण इरानलाई पराजित गर्न सक्ने विश्वास उनी व्यक्त गर्छिन्।
“इरानसँग पनि हामीले खेलिसकेका छौँ। टोलीले दबाबमा खेल्छ। हामीले ब्लक र डिफेन्समा धेरै मिहिनेत गर्नुपर्छ। अर्कातर्फ हाम्रो मुख्य हतियार भनेको सर्भिस नै हो। त्यसमा अझै सुधार गर्नुपर्छ,” उनी भन्छिन्।
इरानको लक्ष्य उपाधि
इरान यसपटक काभा महिला भलिबल च्याम्पियनसिप खेल्न मात्र होइन, त्यसलाई आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका रूपमा समेत उपयोग गर्ने लक्ष्यसहित काठमाडौँ आएको छ। इरानी टोलीको मुख्य ध्यान ६ देखि १४ जुनसम्म फिलिपिन्समा हुने एभीसी महिला भलिबल कपमा केन्द्रित छ।
एसियाली भलिबल कन्फेडेरेसन (एभीसी)को आयोजनामा हुने उक्त प्रतियोगितालाई एसियाकै उच्चस्तरीय महिला भलिबल प्रतिस्पर्धामध्ये एक मानिन्छ, जहाँ महादेशका बलिया टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ। इरानले एभीसी महिला भलिबल कपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो। सन् २०२३ मा पहिलो पटक प्रतियोगिता खेलेको इरानले त्यतिबेला मिश्रित प्रदर्शन गर्दै पाँचौँ स्थान हासिल गरेको थियो। समूह चरणमा इरानले हङकङसँग अप्रत्याशित हार बेहोरे पनि चाइनिज ताइपेई र घरेलु टोली फिलिपिन्सलाई पराजित गर्दै आफ्नो क्षमता देखाएको थियो। त्यसपछि पाँचौँ स्थानका लागि भएको खेलमा भने अस्ट्रेलियासँग पराजित भएपछि इरान पदकको होडबाट बाहिरिएको थियो।

अपराजित रहँदै सेमिफाइनल पुगेपछि इरानी खेलाडी।
यद्यपि, त्यस अनुभवबाट धेरै सिकेको इरानको टोली यसपटक अझ व्यवस्थित र सन्तुलित देखिएको छ। टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रतिस्पर्धा गर्दै आफ्नो खेलशैलीमा सुधार ल्याएको छ। विशेषगरी, ब्लकिङ, डिफेन्स र तीव्र आक्रमणमा इरानले उल्लेखनीय प्रगति गरेको छ। यही कारण अहिलेको टोली अघिल्लो संस्करणको भन्दा परिपक्व देखिएको छ।
यसपटकको एभीसी महिला भलिबल कपमा इरान समूहलाई पनि सहज छैन। टोलीले समूह चरणमा भियतनाम, कजाखस्तान, इन्डोनेसिया, हङकङ र लेबनानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यीमध्ये अधिकांश टोली एसियाली भलिबलमा स्थापित मानिन्छन्। खासगरी, भियतनाम, हङकङलगायत टोली बलिया छन्। त्यसैले एभीसी कपअघि नेपालमा हुने प्रतियोगितालाई इरानले आफ्नो संयोजन मिलाउने, नयाँ रणनीति परीक्षण गर्ने र खेलाडीको आत्मविश्वास बढाउने अवसरका रूपमा लिएको छ।
त्यसैले नेपालविरुद्ध पनि जित निकाल्दै टोली अझ मजबुत गराउने लक्ष्यमा रहेको सेफिनुड दास्तबार्जन बताउँछिन्। “हामीलाई थाहा छ, कोर्टमा धेरै दर्शक उपस्थित हुनेछन् र नेपालले घरेलु समर्थन पाउनेछ,” उनी भन्छिन्, “तर, हामी त्यसका लागि मानसिक रूपमा तयार छौँ। हाम्रो लक्ष्य जित निकाल्नु हो। प्रतिद्वन्द्वी जोसुकै भए पनि हामी उत्कृष्ट प्रदर्शन दिन चाहन्छौँ।”