काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

विस्थापन

हजुरबुवाको पालादेखि बसोबास गरेको ठाउँबाट उठिबास लाग्नुपर्दा मण्डल दाजुभाइ पीडामा

१२ जेष्ठ २०८३
वर्षौंदेखि बसोबास गर्दै आएको घर भत्काइएको देखाउँदै वेचकुन मण्डल। तस्बिरहरू : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। विराटनगर महानगरपालिका-१६ सैनिक टोलमा वर्षौंदेखि बसोबास गर्दै आएको एक परिवारले आफूहरूलाई उठिबास लगाइएको भन्दै न्यायका लागि गुहार मागेको छ।

४६ वर्षीय वेचकुन मण्डल र उनका दाजु कैलास मण्डलको परिवारले विराटनगर-१७ का पर्शुराम साहले शक्तिको आडमा आफूहरूलाई विस्थापित गर्न लागेको आरोप लगाएका हुन्। मण्डल परिवारका अनुसार उनीहरूका हजुरबुबा मनीलाल र बुबा सीताराम मण्डल २०३३ सालदेखि नै नारायणप्रसाद कोइरालाको जग्गामा बस्दै आएका थिए। कोइराला परिवारको खेतीपाती स्याहारेबापत उनीहरूले सो स्थानमा बसोबासको अनुमति पाएका थिए। कित्ता नं. १८०० को १२ धुर जग्गामा तीन वटा टहरा बनाएर कैलास र वेचकुनको परिवार बस्दै आएका छन्।

यसबाहेक आफूहरूको बस्ने आधार कतै नभएको उनीहरू बताउँछन्।

मण्डल परिवार पुस्तौँदेखि सोही जग्गामा बसोबास गरिरहेको जानकारी हुँदाहुँदै पर्शुराम साहले २०६९ सालमा नारायण कोइरालासँग उक्त जग्गा खरिद गरेका थिए। साहले कति रकममा जग्गा किनेका हुन् भन्ने विषय भने खुलाउन चाहेनन्।

घर भत्किएपछि विस्थापित भएका (दायाँबाट) वेचकुन मण्डल, कैलाश मण्डल र कुन्ती मण्डल।

जग्गा खरिद गरेलगत्तै साहले मण्डल परिवारलाई प्रतिवादी बनाएर २०७० सालमा ‘घर हटाई चलन चलाई पाऊँ’ भन्दै मुद्दा दायर गरेका थिए। जिल्ला र पुनरावेदन (उच्च) अदालत हुँदै उक्त विवाद सर्वोच्च अदालतसम्म पुग्यो। सर्वोच्च अदालतका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले १५ फागुन २०८१ मा साहको पक्षमा फैसला गरेको थियो। अदालतले कित्ता नं. १८०० को जग्गा वादी साहले भोगचलन गर्न पाउने ठहर गर्दै सोहीबमोजिम लगत राखी कार्यान्वयन गर्न आदेश दिएको छ।

यद्यपि, फैसलामा एउटा सर्त उल्लेख छ– प्रतिवादीहरू बसोबास गर्दै आएको घर ‘पाताल’ (पूर्ण रूपमा ध्वस्त) नभएसम्म उनीहरूलाई सो स्थानबाट हटाउन नपर्ने, तर उनीहरूले उक्त घर थप मर्मतसम्भार गर्न नपाउने।

अदालतको आदेशपछि चल्यो डोजर

सर्वोच्चको फैसलापछि साहले ३ वैशाखमा सो जग्गामा डोजर चलाएका थिए। त्यस क्रममा मण्डल परिवारका तीनमध्ये दुईवटा टहरा भत्काइएका छन्। सोही क्रममा भएको विवादमा अज्ञात समूहले डोजरको सिसा फुटाइदिएपछि स्थिति थप तनावपूर्ण बनेको थियो।

अदालतको फैसला देखाउँदै वेचकुन मण्डल।

घटनापछि ६ जेठमा साहले प्रहरी लगाएर वेचकुन मण्डल, कैलाश मण्डल र उनकी पत्नी कुन्ती मण्डललाई वडा प्रहरी कार्यालय विराटनगर झिकाएका थिए। त्यहाँ सहमति नभएपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइयो। साहलाई हातपात गरेको आरोपमा प्रहरीले उनीहरूविरुद्ध ‘अभद्र व्यवहार’ को मुद्दा चलाएको छ।

मण्डल परिवारका ज्वाइँ पवन रायका अनुसार आवश्यक परेका बेला उपस्थित हुने सर्तमा उनीहरूलाई ८ वैशाखमा हाजिरी जमानीमा छाडिएको छ। “अहिले पर्शुरामले धम्क्याउने गरेका छन्,” रायले भने, “बाँकी बचेको एउटा घर पनि खाली गरे मुद्दा फिर्ता लिने र डोजरको क्षतिपूर्ति नमाग्ने सर्त राखिरहेका छन्। नत्र ८० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने धम्की दिइएको छ।”

वेचकुन र कैलाशका गरी १५ जनाको परिवार सोही स्थानमा बसोबास गर्दै आएका थिए। घर भत्किएपछि अहिले उनीहरूको बिचल्ली भएको छ। “वर्षौंदेखि बसोबास गर्दै आएको टहरा भत्किएपछि हामी घरविहीन भएका छौँ, अहिले टेन्ट हालेर बसेका छौँ,” वेचकुनले भने, “दाजुको परिवार भाडाको घरमा शरण लिन पुगेको छ। आफ्नो घर पनि तोडियो, अहिले आफैँलाई प्रहरीमा लगेर थुनाए। हामी गरिबहरूलाई किन यति धेरै दुःख दिएको होला?”

सर्वोच्च अदालतको फैसला।

यता, पर्शुराम साहले भने अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा आफूमाथि नै आक्रमण भएको दाबी गरेका छन्। आफूले मण्डल परिवारलाई विकल्पसमेत दिएको उनको जिकिर छ। “उनीहरूले अहिलेको घर छाडेर गए भने म विराटनगर-१२ दरैयामा रहेको ६ धुर जग्गा र थप ११ हजार रुपैयाँ दिन तयार छु,” साहले भने, “कसैलाई उठिबास लगाउने मेरो कुनै मनसाय छैन, म त केवल अदालती फैसला कार्यान्वयन होस् भन्ने चाहन्छु।”