काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

१४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड रुपैयाँबराबरको रकम संकलन भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षणअनुसार निर्जीवन बिमा शुल्क ३२ अर्ब ५३ करोड रुपैयाँबराबर संकलन भएको छ।

कुल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६.१ प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब २२ करोड रुपैयाँबराबर पुगेको छ। गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर छ।

चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत २६ अर्ब ८४ करोड रुपैयाँबराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ। निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत १७ अर्ब ३१ करोड रुपैयाँबराबरको रकम भुक्तानी गरिएको छ।

बिमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन्। सर्वेक्षणअनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन्। निर्जीवन बिमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनःबिमा अभिकर्ताले रोजगारी पाएका छन्।

सञ्चय कोषको सम्पत्ति ६ खर्ब ४२ अर्ब ३५ करोड
यसैगरी गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व ६ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँबराबर पुगेको छ। यो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम पाँच खर्ब ७८ अर्ब ६ करोड रुपैयाँबराबर छ। कोषले विभिन्न क्षेत्रमा गरी दुई खर्ब २९ अर्ब ४९ करोड रुपैयाँबराबरको रकम लगानी गरेको छ। यस्तै तीन खर्ब ८१ अर्ब ६१ करोड रुपैयाँबराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।

सर्वेक्षणअनुसार गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व तीन खर्ब १९ अर्ब ५० करोड रुपैयाँबराबर पुगेको छ। यो अवधिमा बचतकर्ताको सञ्चित रकम दुई खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँबराबर छ। कोषले विभिन्न क्षेत्रमा एक खर्ब ९२ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ। ९१ अर्ब ५६ करोड रुपैयाँबराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ।