सगरमाथा दिवस
सगरमाथा आरोहणको संख्यात्मक कीर्तिमान बढिरहँदा जोखिम पनि बढ्दै
शुल्कमा उल्लेख्य वृद्धि र पश्चिम एसिया तनावको असर आकलन गरिए पनि यो वर्ष सगरमाथा आरोहणको आकर्षण घटेन, अझ बढ्यो। आरोहणको सिजन सकिन लाग्दा केही संख्यात्मक कीर्तिमानसमेत बनेका छन्।
“यस सिजनमा आरोहण गर्नेहरूको संख्या हजार नाघेको छ,” पर्यटन विभागअन्तर्गत सगरमाथा आधार शिविरमा रहेको फिल्ड कार्यालयका संयोजक खिमलाल गौतम भन्छन्, “सगरमाथाको सफल आरोहण सुरु भएको ७३ वर्षमा सबैभन्दा बढी आरोही एकै सिजनमा शिखर पुगेको कीर्तिमानसमेत यस वर्ष बनेको छ।” शिखर पुग्नेको संख्यामा अनुमति लिएका पर्वतारोहीका अतिरिक्त नेपाली पथप्रदर्शक र आरोहण सहयोगी पनि समावेश छन्।
उनका अनुसार ८ जेठमा एकैदिन २७४ जनाले सगरमाथा आरोहण गरेपछि एकैदिन धेरै जनाले सगरमाथा आरोहण गरेको कीर्तिमान पनि यसै वर्ष कायम भएको छ। त्यसैगरी, ५१ आरोहण समूहबाट एक अर्ब सात करोड रुपैयाँ संकलन हुँदा एकै सिजनमा सबैभन्दा बढी राजस्व उठेको रेकर्ड पनि यसै वर्ष बनेको छ।
यस वर्ष आरोहणको सिजन सुरु हुनुअघि अमेरिका र इरानबीच युद्ध भएको थियो। त्यस्तै, सरकारले पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली, २०८१ स्वीकृत गर्दै सगरमाथा आरोहण शुल्क बढाएको छ। विदेशी आरोहीका लागि प्रतिव्यक्ति १५ हजार अमेरिकी डलर पुर्याइएको छ भने नेपालीका लागि एक लाख ५० हजार रुपैयाँ कायम गरिएको छ। यसअघि विदेशीलाई ११ हजार अमेरिकी डलर र नेपालीलाई ७५ हजार रुपैयाँ लिने गरिन्थ्यो। आरोहण गराउने पथप्रदर्शकले रोयल्टी तिर्नुनपर्ने व्यवस्था भने कायम छ। प्रत्येक पर्वतारोहीका लागि कम्तीमा एक जना पथप्रदर्शक हुनुपर्ने व्यवस्था छ।

तस्बिर : छाङ दावा शेर्पाको फेसबुक
सरकारले यसै वर्षदेखि सगरमाथा चढ्न कम्तीमा सात हजार मिटरभन्दा अग्लो एउटा हिमाल चढेको अनुभव हुनुपर्ने व्यवस्थासमेत गरेको छ।
यस वर्ष खुम्बु आइसफलमा उत्पन्न अवरोधका कारण आरोहण हुने कि नहुने भन्ने संशयसमेत उत्पन्न भएको थियो। खुम्बुमा करिब सय फिट अग्लो बरफको थुप्रोले बाटो अवरोध गर्दा करिब १० दिन आरोहण अन्योलग्रस्त बनेको थियो।
यिनै कारणले यस वर्ष सगरमाथा आरोहीको संख्या घट्ने अनुमान व्यवसायीले गरेका थिए। तर, त्यसविपरीत सगरमाथा चढ्न यस वर्ष मात्रै ५५ देशका ४९४ जना आरोही समूहले अनुमति लिए।
पर्वतारोहण व्यवसायमा संलग्न सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा इन्टरनेटमार्फत व्यापक प्रचारप्रसार भएका कारण सगरमाथा आरोहणप्रति मानिसको आकर्षण एकदमै बढेको बताउँछन्। “यस वर्ष विभिन्न कठिनाइ थिए। तर, मानिसमा सगरमाथाप्रति उच्च आकर्षण रहेछ भन्ने देखिएको छ,” शेर्पा भन्छन्, “सगरमाथा चढ्नुको विश्वव्यापी महत्त्व छ। वास्तवमा, संसारभरका धेरै मानिसलाई सगरमाथा चढ्ने मन हुन्छ।”
हिमालसम्बन्धी ब्लगिङमा सक्रिय छविरमण पोखरेल यसपटक चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा गर्न रोक लगाएको कारण पनि नेपालतर्फ संख्या बढेको बताउँछन्। “यसपटक भीड बढ्नुको कारण चीनतर्फबाट आरोहण रोकिनु पनि हो। आरोहणको व्यवसायीकरण पनि निकै छ,” पोखरेल भन्छन्।

तस्बिर : छाङ दावा शेर्पाको फेसबुक
आरोहण गर्नेको संख्या निरन्तर बढ्दै गर्दा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बहस सुरु भएको छ। दुई पटक सगरमाथा चुचुरोमा पुगेका आधार शिविर फिल्ड कार्यालय संयोजक गौतम भन्छन्, “सगरमाथा आरोहणको संख्यावृद्धिसँगै यसलाई नयाँ दृष्टिकोणबाट सोच्नुपर्ने आवश्यकता देखिएको छ।”
चरणबद्ध व्यवसायीकरण
२९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले सगरमाथाको सफल आरोहण गरेयता नेपालतिरबाट सन् २०२५ सम्ममा नौ हजार ८९० पटक आरोहण भएकामा यस वर्ष हजारभन्दा बढी थपियो।
सन् १९९२ सम्म नेपालतिरबाट ३९० जनाले मात्रै सगरमाथा आरोहण गरेका थिए। सन् १९९३ मा सरकारले उदार नीति लियो र व्यावसायिक कम्पनीहरूको भूमिका बढाइदियो। त्यसअघि सरकारले एक सिजनमा एउटा रुटबाट एउटा समूहलाई मात्रै आरोहण अनुमति दिन्थ्यो।
सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा हिमआँधीमा परी १२ आरोहीको मृत्यु भयो भने कैयौँ घाइते भए।
उक्त दुर्घटनाको समाचार विश्वभरका प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन गरे। व्यक्तिगत अनुभवको पुस्तक प्रकाशित भयो। दुर्घटनापछि आलोचना र शोकसँगै सगरमाथाको विश्वव्यापी चर्चा झन् बढ्यो। व्यावसायिक आरोहण कम्पनीहरूको निकै पछिसम्मलाई पनि बुकिङ लिन थाले। अमेरिकास्थित पर्वतारोहणसम्बन्धी कम्पनी इन्टरनेसनल माउन्टेन गाइड्सका सहसंस्थापक एरिक सिमसनले सगरमाथाको व्यावसायिक आरोहणसम्बन्धी अमेरिकी लेखक-पत्रकार विल ककरेलको पुस्तक एभरेस्ट, इन्क.मा भनेका छन्, ‘मलाई थाहा थियो– सगरमाथाको व्यवसाय आकासिनेछ।’

तस्बिर : छाङ दावा शेर्पाको फेसबुक
ककरेलको पुस्तकमा आरोहणलाई विभिन्न चरणमा व्याख्या गरिएको छ। सन् १९९० देखि १९९२ सम्मको अवधिमा आरोहणको व्यवसायिक जग बसेको उनी बताउँछन् भने सन् १९९६ को दुर्घटना त्रासदी र विज्ञापन दुवै भएको ठान्छन्। सन् २००० देखि २०१० सम्म पूर्वाधार निर्माण चरण रहेको र आरोहण विलासिताको चरणमा प्रवेश गरेको उनले पुस्तकमा उल्लेख गरेका छन्। उनले सन् २०१२ देखि २०१६ सम्मको अवधिलाई शक्ति हस्तान्तरण र नेपाली कम्पनीहरूको उदयको समयमा रूपमा व्याख्या गरेका छन्। सन् २०१७ यता अत्यधिक व्यवसायीकरण र विविधीकरण सुरु भएको छ।
सन् २०१० सम्म पनि सगरमाथा आरोहणको संख्या कमै थियो। सन् १९९३ देखि २०१० सम्म नेपालतिरबाट दुई हजार ७१० आरोहण भएका थिए। तर, त्यसपछिको १५ वर्षमा ६ हजार ७९० आरोहण थपियो। यसले सगरमाथा आरोहणको वृद्धि पछिल्लो दशकमा तीव्र भएको देखाउँछ। यससँगै सगरमाथा आरोहण एउटा ठूलो उद्योगका रूपमा विकास भएको छ भने आरोहण समयमा आधार शिविर सुविधासम्पन्न पर्यटकीय स्थलमा परिणत भएको छ।
ककरेलले पुस्तकमा लेखेका छन्, ‘अहिले सगरमाथाको आधार शिविर दुर्गम क्षेत्रमा सोच्ने पनि नसकिने प्रकारको सुविधासम्पन्न छ। त्यहाँ गलैँचा बिछ्याइएका लाउन्ज, हाई-स्पिड इन्टरनेट, मसाज सेवा, फुल बार, बारिस्टा र मुभी स्क्रिन जस्ता सुविधा राखिएका हुन्छन्। कतिपयले त यसलाई ‘डिस्ने वर्ल्ड’ र ‘रेनेसाँ फेयर’ सँग समेत तुलना गरेका छन्।’
आरोहण प्याकेज
व्यावसायिकता बढेसँगै सगरमाथा आरोहण नेपाली पर्यटन अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा बनेको छ। एकपछि अर्को आरोहण कीर्तिमानले रोयल्टी र रोजगारी दुवै बढाएको छ।
सगरमाथा आरोहणका लागि व्यवसायीले ‘टियर्ड मोडेल’ का प्याकेज बनाउने गरेका छन्। ग्राहकको अनुभव, समय र खर्च गर्न सक्ने क्षमताका आधारमा उनीहरूले आरोहीलाई प्याकेज ‘अफर’ गर्ने गरेका छन्।
त्यसमध्ये बजेट प्याकेज कम खर्चमा चढ्न चाहने अनुभवी आरोहीलाई लक्षित हुन्छ, जसको लागत २५ हजारदेखि ४५ हजार डलरसम्म पर्छ। यसमा आवश्यकताअनुसारका सुविधा मात्र उपलब्ध हुन्छ, खाना र शेर्पाको सहयोग पनि न्यून हुन्छ। सेभेन समिट ट्रेक्सले यस्तै प्रकृतिको ‘नो-फ्रिल्स’ प्याकेज २५ हजार अमेरिकी डलरमा उपलब्ध गराउने गरेको छ। एलिट एक्सपेडको प्याकेज ४५ हजार डलरबाट सुरु हुन्छ। इन्टरनेसनल माउन्टेन गाइड्सको ‘क्लासिक’ प्याकेजको लागत साढे ४९ हजार डलर छ।
धनी ग्राहकलाई लक्षित गरिने एक लाखदेखि तीन लाख डलरसम्मको भीभीआईपी प्याकेजमा हिमालको प्रतिकूल वातावरणमा अनुकूलन हुन सहयोग पुग्ने उच्च स्तरको सुविधा दिइन्छ, जसमा असीमित अक्सिजन र एकै आरोहीका लागि धेरै जना शेर्पा गाइड हुन्छन्। आरोहणकै बीचमा आराम गर्न हेलिकोप्टरबाट काठमाडौँका पाँचतारे होटलमा लैजाने सुविधासमेत यस्तो प्याकेजमा हुन्छ। आधार शिविरमा गलैँचा बिछ्याइएका निजी विलासी ‘डोम टेन्ट’, ओछ्यान र तातो डसनाको व्यवस्था हुन्छ। त्यसमा बारिस्टा सेवा, फुल बार, मसाज सेवा र ठूलो स्क्रिनमा चलचित्र हेर्ने सुविधा हुन्छ।
सेभेन समिट ट्रेक्सको तीन लाख डलरको भीभीआईपी प्याकेज र क्लाइम्बिङ द सेभेन समिटको सुविधासम्पन्न प्याकेज यसैका उदाहरण हुन्।

तस्बिर : मनिष महर्जन
समय कम भएका तर पैसा खर्च गर्न सक्ने आरोहीका लागि ९८ हजारदेखि एक लाख १० हजार अमेरिकी डलरसम्मका प्याकेज हुन्छन्। जसअन्तर्गत आरोही घरमै ‘हाइपरबेरिक चेम्बर’ मा सुतेर आफ्नो शरीरलाई पहिल्यै हिमालको उचाइअनुसार अनुकूलन गर्छन्। सामान्यतया आठ साता लाग्ने आरोहणलाई यस प्रविधिले तीन हप्तामा छोट्याइदिन्छ। अल्पेंगलो एक्सपेडिसनको ९८ हजार अमेरिकी डलरको ‘र्यापिड एसेन्ट’ र फर्टनब्याक एड्भेन्चर्सको एक लाख १० हजार अमेरिकी डलरको ‘फ्ल्यास एक्सपेडिसन’ मा यस्तै प्रकृतिका प्याकेज हुन्।
कतिपय कम्पनीले व्यक्तिविशेषअनुसार प्याकेज ल्याउने गरेका छन् भने कतिपयले चर्चित व्यक्ति र शाही परिवारका सदस्यका लागि विशेष प्याकेज दिन्छन्। त्यस्तो अवस्थामा लागत १० लाख अमेरिकी डलरसम्म पुग्छ। त्यसमा ‘वान अन वान गाइडिङ’ र उच्च सुरक्षा समावेश हुन्छ। यस्तै प्याकेजमा निर्मल पुर्जाको कम्पनी एलिट एक्सपेडमार्फत कतारकी राजकुमारी अस्मा अल-थानीले मे २०२२ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
व्यवसायीकरणको यस्तो उच्च अभ्यास र सरकारको लचिलो नीतिका कारण पछिल्ला वर्षमा सगरमाथा आरोहणमा संख्यात्मक बढोत्तरी तीव्र भएको छ। यससँगै सुरक्षा, प्रदूषण र जलवायु परिवर्तनको दृष्टिकोणले जोखिम पनि बढिरहेको छ। सगरमाथामा कति जना पुगे भन्ने मात्र नभई सगरमाथाले सुरक्षित रूपमा कति जना धान्न सक्छ भन्नेबारे पनि सोच्न थाल्नुपर्ने सरोकारवालाको भनाइ छ।
नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका पूर्वप्रमुख शिवप्रसाद जैसी सगरमाथाको बढ्दो व्यवसायीकरणले नाफा मात्रै नभएर जोखिम पनि बढाएको बताउँछन्। “नाफाका लागि जोसुकैलाई पनि सगरमाथामा लैजाने प्रवृत्ति बढेको छ,” जैसी भन्छन्, “आठ हजार मिटरभन्दा माथिको उचाइमा रहेको साँघुरो ठाउँमा धेरै मानिस एकैपटक पुग्दा ट्राफिक जाम हुने गरेको छ।” उनका अनुसार धेरै आरोही एकैपटक सगरमाथाको चुचुरोमा पुग्न खोज्दा ‘डेथ जोन’ मा पालो कुर्नुपर्ने हुँदा जोखिम बढ्छ। सामान्यत भीड नभएको समयमा आरोहीले आठ हजार मिटरभन्दा माथि १२ देखि १४ घन्टा मात्र बिताउँछन्। भीडका कारण यस वर्ष १८ घण्टासम्म पनि सो स्थानमा बस्नुपरेको अस्थायी फिल्ड कार्यालयका कृष्णकुमार मगर बताउँछन्।
सगरमाथा चढ्नेहरूको भीड बढ्दै गए पनि संख्या नियन्त्रण गर्ने वा सीमा तोक्नेबारे सरकारले कुनै योजना तय गरेको छैन। “संसारकै अग्लो ठाउँ सगरमाथा चढ्ने इच्छा हुने मानिसलाई व्यवसायीले रोक्न सक्दैनौँ,” पर्वतारोहण व्यवसायी शेर्पा भन्छन्, “सरकारले सीमा वा संख्या तोक्ने अर्कै कुरा हो। तर, अहिलेसम्म तोकिएको छैन।”