भारत। भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलंकाविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ एघार) टोलीको नाम सार्वजनिक भएको छ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलंकाविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन्।
यसअनुसार अञ्जना रानामगरलाई गोलरक्षकको जिम्मेवारी दिइएको छ भने टोलीको कप्तानको जिम्मेवारी रेनुका नगरकोटेले पाएकी छन्। टोलीमा अञ्जना रानामगरसँगै रेनुका नगरकोटे, विमला विके, हिराकुमारी भुजेल, सरु लिम्बू, गीता राना, रेखा पौडेल, मीना देउवा, प्रतिक्षा चौधरी, रश्मिकुमारी घिसिङ र दीपा शाही छन्।
यसैगरी वैकल्पिक खेलाडीमा उषा नाथ, पूजा राना, समीक्षा घिमिरे, सविना चौधरी, अनिता केसी, पूर्णिमा राई, अनिता बस्नेत, अञ्जिला तुम्बापो सुब्बा, बिर्सना चौधरी, निशा ठोकर र अनिता लाम्जेल रहेका छन्। भुटानविरुद्ध पहिलो खेलमा १–० को जित निकालेको नेपाल दोस्रो जितको खोजीमा मैदान उत्रनेछ।
सेमिफाइनल पुग्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी नेपाल श्रीलंकाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ। हालसम्मको भिडन्तमा नेपालले श्रीलंकालाई पराजित गर्दै आएको छ। सोही लयलाई दोहोर्याउने दाउमा नेपाल रहेको छ।
यसअघि सन् २०२५ मा भएको एएफसी महिला एसियन छनोटमा पनि नेपालले श्रीलंकालाई पराजित गरेको थियो। नेपाली टोलीमा सावित्रा भण्डारी चोटका कारण सहभागी छैनन्।
यस्तै, कम्बोडिया क्लबमा आबद्ध प्रिती राई पनि आजको खेलमा हुने छैनन्। यस साफ च्यापियनसिपमा विभिन्न छ राष्ट्र सहभागी छन् भने जसलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा भुटान र श्रीलंका छ। पहिलो खेलमा नेपालले भुटानमाथि एक शून्य गोलको जित निकालेको थियो।
प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको भूटान अङ्क तालिकाको शीर्ष स्थानमा छ। भूटानले श्रीलंकालाई चार शून्य गोलअन्तरले पराजित गरेको थियो।
यसैगरी समान तीन अङ्क नै जोडेको नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। अङ्कविहीन रहेको श्रीलंका तेस्रो स्थानमा छ। यसैगरी समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स छन्।
समूहको शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइन यात्रा तय गर्नेछन्। नेपाल र श्रीलंकाबीचको खेल स्थानीय समयअनुसार अहिले ४ः ३० बजे सुरु हुनेछ।