१७ जेष्ठ २०८३
अ+
अ-

जनकपुरधाम । संघीय सरकारले नयाँ बजेटमा रेल्वेलाई विस्तार गरी फास्ट ट्र्याकसम्म जोड्ने योजना उल्लेख गरे पनि नेपाल रेल्वे हालसम्म घाटामै सञ्चालन हुँदै आएको छ। उचित मर्मत–सम्भार केन्द्रको अभाव र टिकट बिक्रीबाट मात्र आम्दानी हुने अवस्थाका कारण रेल्वे घाटामा गएको हो।

आम्दानीभन्दा सञ्चालन खर्च बढी भएकाले रेल्वे निरन्तर घाटामा रहेको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन तथा वार्षिक प्रतिवेदन २०८२/८३ मा उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार जयनगर–कुर्था–बिजलपुरा रेल सेवाको दीगो तथा प्रभावकारी सञ्चालनका लागि आवश्यक मर्मत केन्द्र, वर्कशप, इन्धन भण्डारण, रेल धुने स्थान, सिग्नल प्रणाली तथा दक्ष नेपाली प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। यस्ता पूर्वाधार र व्यवस्थापन सुदृढ गर्न सके रेल्वेको घाटा कम गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने जयनगर–जनकपुर–भंगहा रेल्वेको भौतिक पूर्वाधार निर्माण सम्पन्न भई भंगहासम्म रेल सेवा सञ्चालनमा आएको छ। हाल भंगहा–जयनगर दैनिक एक पटक तथा जनकपुर–जयनगर दैनिक तीन पटक रेल सेवा सञ्चालन हुँदै आएको छ।

भारत सरकारको पूर्ण लगानीमा निर्माण सम्पन्न भएको यस परियोजनाअन्तर्गत रेलमार्ग बिछ्याउने, विभिन्न स्टेशनमा प्लेटफर्म निर्माण गर्ने तथा रेलका इन्जिन र बोगी खरिद गर्ने कार्य गरिएको थियो। यसका लागि कुल ८ अर्ब रुपैयाँ लागत लागेको जानकारी कम्पनीबाट प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीका अनुसार रेलको कुल यात्रु क्षमता १ हजार ३ सय जना रहेको छ। यसमध्ये एसी क्याबिनमा ५६ जना तथा जनरल क्याबिनमा १ हजार २ सय ४४ जना यात्रु अट्न सक्ने क्षमता रहेको छ।

हाल सम्पन्न पूर्वाधारअनुसार महोत्तरीको भंगहाबाट कुर्था, जनकपुर, परवाहा, वैदेही, महिनाथपुर, खजुरी, इनर्वा हुँदै भारतीय सीमावर्ती बजार जयनगरसम्म रेल सञ्चालन भइरहेको छ। यस रेलमार्गको कुल लम्बाइ ५२ किलोमिटर रहेको छ। कुर्थादेखि बिजलपुरासम्मको ३५ किलोमिटर खण्ड भने निर्माणाधीन अवस्थामा रहेको छ।

कुर्थादेखि महोत्तरीको भंगहासम्मको १७ किलोमिटर खण्ड सन् २०२३ जुलाई १६ देखि सञ्चालनमा आएको हो। हाल भंगहादेखि जयनगरसम्म ५२ किलोमिटर रेल सेवा सञ्चालनमा रहेको छ। भंगहादेखि बर्दिवाससम्मको १८ किलोमिटर खण्डमा जग्गा अधिग्रहण तथा मुआब्जा वितरणको कार्य भइरहेको जानकारी राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म टिकट बिक्रीबाट ४ करोड १४ लाख ९७ हजार रुपैयाँ आम्दानी भएको छ भने सञ्चालन खर्च १२ करोड ६६ लाख १ हजार रुपैयाँ पुगेको छ। यस आधारमा रेल्वे हाल ८ करोड ५१ लाख ४ हजार रुपैयाँ घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ।

हाल कार्यरत १६५ कर्मचारीमध्ये १४२ जना नेपाली नागरिक तथा २३ जना विदेशी नागरिक रहेका छन्।