अनुभूति
यात्रामा भेटिएको सामान्य पात्रले मेरो बुझाइमा ल्याइदिएको असामान्य परिवर्तन
‘ए सुमित! तँलाई पानी थाप् भनेको होइन, फेरि गेम खेल्न थालिस्? कति भन्ने एउटै कुरा!’
उमेरले ४० कटेकी, गोरी अनि हँसिली देखिन्थिन् होटलकी साहुनी। आवाज भने सुमितलाई काम अह्राउँदा अलिक मोटो सुनियो।
मुस्ताङको लेते पुग्दा साँझको साढे ७ बजेको थियो। थकित थियौँ। सिमसिम पानी र चिसो हावाले हातगोडा जम्नै लागेका थिए। होटल पुग्नेबित्तिकै तातो पानीको खोजी गर्यौँ।
सुमितले झोला उठाउँदै मुस्कुराएर सोधे, ‘कहाँबाट आउनुभाको दिदी?’
उसको आवाजमा अलिकति उत्सुकता र थकान मिसिएको थियो। म हाँसेर उत्तर दिँदै थिएँ, भान्साकोठाबाट साहुनीको आवाज आयो, ‘तातो पानी पाहुनालाई दे है।’

सुमितले झट्ट मोबाइल बन्द गरेर हतारिँदै भन्यो, ‘म पनि काम गर्दैछु नि, अब दिन्छु।’ अनि, भान्सातिर दौडियो।
भान्साभित्रको दृश्य रमाइलो थियो। साहुनी र उनकी छोरी पाहुनालाई हाँस्दै बोलाउँथे अनि तातो सुप दिन्थे। पुराना तामाका भाँडा चम्किरहेका थिए, चुलोमा पानी उम्लिँदै थियो।
तातो पानीको जग लिएर सुमित बाहिर निस्कँदा हावा अझ चिसो भइसकेको थियो। उसले पानी दिँदै भन्यो, ‘हेर्नु न दिदी, यो ठाउँ कति राम्रो छ। तर के गर्नु, चिसो धेरै छ।’
म फेरि मुस्कुराएँ। यात्राको थकान र चिसो हावाबीच उसको कुराले आत्मीयता महसुस भयो। लेतेको साँझ, तातो पानी, अर्गानिक खाना, सुमितको हतार र साउनीको कठोर तर मायालु व्यवहार सबैले त्यो साँझ अझै जीवन्त बनाइदिए।
सुमितसँग संवाद
सुमितको पाहुनाको आत्मीय व्यवहारले मलाई उसबारे थप जान्ने उत्सुकता जगायो। उसलाई एक घण्टाको समय मिलाउन भनेँ। अनि उसले ‘हुन्छ’ भन्न नपाउँदै डायरी र कलम लिएर उसको अघिपछि घुम्न थालेँ। सबै काम सकेर उसले फुर्सद निकालेपछि हामी चिया पिउँदै गफ गर्न थाल्यौँ।
सुमित सुनार, वर्ष १२। सामान्य परिवारमा जन्मिएको उसले ५ कक्षासम्म मात्रै पढेको रहेछ। सानैमा मातृवियोग भोगेको रहेछ। सानीआमा र बुबाले वास्ता नगरेपछि हजुरआमाले स्कुल पढ्दापढ्दै म्याग्दीबाट लेते काम गर्न पठाएका रै’छिन्। ‘यहाँ काम गरेपछि टन्न खान पाइन्छ, काम पनि सिकिन्छ। त्यही भएर आको!’ बिस्तारै यसो भन्दा उसको अनुहार निश्छल देखिएको थियो।
मेरो भने मन भारी भयो। चिसो हावा पनि तातो लाग्न थाल्यो। उमेरभन्दा ज्यादा गम्भीरता, न पढाइ, न त खेलकुदको स्वतन्त्रता। सुमित बोल्दै थियो, म भने चुपचाप उसको अनुहार हेरिरहेकी थिएँ। उसको आवाजमा गुनासो र कामको थकान दुवै मिसिएको थियो।
‘घर सम्झन्छौ?’ मैले सोधेँ।
‘सम्झन्छु। हजुरआमालाई भेट्न मन छ अनि साथीहरूलाई पनि। यहाँ पनि साहुनी आमा राम्रो हुनुहुन्छ, तर आमा भनेको आमा नै हुन्छिन् नि, हैन दिदी?’

उसको प्रतिप्रश्नले मेरो मन भताभुंग भयो। जुन उमेरमा अरू बच्चा खेल्दै रमाउँदै आमाको काखको न्यानो माया पाइरहेका हुन्छन्, त्यो उमेरमा सुमित जिम्मेवारी र आत्मनिर्भरता सिक्दै थियो। उसका साना हातहरू पानी र भाँडामा डुलिरहेका हुन्थे, तर आँखामा अचम्मको चमक थियो। त्यस्तो चमक जसमा दुःखलाई जित्ने साहस थियो।
चुलोमा बलिरहेको आगो हेर्दै म सुमितको कुरा सुनिरहेकी थिएँ। उसको मनमा पनि आगोको झिल्का जस्तै उज्यालो भविष्य बाँचिरहेको पाएँ। ओहो! १२ वर्षको बालक कठिनाइ र अभावबीच जीवनलाई सम्हाल्दै केही सपना बचाउँदै थियो।
सुमितसँगको भेट मेरो मुस्ताङ यात्राको सबैभन्दा महत्त्वपूर्ण क्षण बन्यो। चिया पिउँदै मैले उसका सपना, स्कुल र आमाबारे सोधेँ। मलाई अचम्म लाग्यो, त्यति सानो उमेरको बच्चामा कति ठूलो सहनशीलता र हिम्मत!
उसले भन्यो, ‘म काम गर्छु, अनि पढ्न पनि चाहन्छु दिदी। तर, कामले गर्दा स्कुल जान समय नै मिल्दैन। हजुरआमा बिरामी हुनुहुन्छ, त्यसैले कमाएको जति पैसा सबै पठाइदिन्छु।’
उसका शब्द साधारण थिए, तर त्यसभित्र गहिरो थकान, जिम्मेवारी र ममताको तृष्णा थियो।
‘पढ्ने सपना पनि छ?’ विस्मित् हुँदै बिस्तारै सोधेँ।
सुमित मुस्कुरायो, त्यो मुस्कानमा आशा झल्कन्थ्यो।
‘छ नि दिदी, कामबाट फुर्सद पाउनेबित्तिकै पढ्ने कुरा गर्छु। तर, कसैले मेरो कुरै सुन्दैन।’
केही क्षण बोल्नै सकिनँ। पछि, डायरी लेख्दा पनि हात काँपिरहेको थियो; चिसोले होइन, भावनाले।
सुमितको अनुहार बारम्बार मेरो आँखा अगाडि आइरह्यो। त्यो सानो बालक जसले जीवनको पहिलो पाठ नै संघर्षबाट पढ्दै थियो। जीवनका सबैभन्दा गहिरा पाठ हामी पुस्तकबाट होइन, यस्तै यात्राबाट सिक्छौँ।
सुमितसँगको त्यो भेट केवल एउटा यात्राको सामान्य घटना थिएन, मेरो दृष्टिकोण, सोच र मानवताप्रतिको बुझाइमा आएको गहिरो मोड थियो। अपरिचित भए पनि उसले आफ्ना अनुभव र जीवन भोगाइमार्फत मलाई जीवनको वास्तविकता बुझाइदियो। तातो पानी बाँडिरहेको साधारण बालकले मलाई मानवताको न्यानोपन के हो भन्ने गहिरो पाठ सिकाएको थियो।
त्यो साँझ, मैले डायरीमा अन्तिम वाक्य लेखे–
‘लेतेको चिसो हावामाझ, मैले सुमितको तातो मन भेटेँ।’
भोलिपल्ट बिहान जानुअघि मैले देखेँ– सुमित ढोकामा उभिएको थियो, हात हल्लाउँदै, मुस्कुराउँदै। त्यो पलले मलाई सम्झायो कि हिम्मत, मुस्कान र व्यवहारले पनि हाम्रो हृदयलाई छुन सक्छ।
सुमितको कथा केवल एउटा बालकको व्यक्तिगत संघर्षको वृत्तचित्र मात्र होइन, यो त हाम्रो गाउँ-सहरको तीतो यथार्थ र सामाजिक संवेदनहीनताको ऐना पनि हो। सानो उमेरमै थाप्लोमा आर्थिक जिम्मेवारी बोकेका सुमित जस्ता हजारौँ बालबालिकाको जीवनले हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहन्छ– बालबालिकाको सुरक्षा र शिक्षा केवल संविधानका धारा र कानुनी ठेलीमा मात्र सुरक्षित रहने कि हाम्रो व्यवहार र सामाजिक संरचनामा पनि प्रतिविम्बित हुने? बाल्यकाल केवल खेलकुद र अक्षरहरूले मात्र उज्यालो हुँदैन; त्यसका लागि परिवारको न्यानो माया, समाजको सहकार्य र सकारात्मक वातावरणको जग चाहिन्छ, जुन सुमितहरूले कतै गुमाएका छन्।
जतिसुकै प्रतिकूल परिस्थितिमा पनि आशा र सपनाका झिल्काहरू जीवितै रहन सक्छन्। विडम्बना, ती सपनाहरूलाई पखेटा दिने जिम्मेवारी बोकेको समाज, परिवार र सरकार भने मौन र उदासीन देखिन्छन्।
यात्राका क्रममा मैले होटल-रेस्टुराँमा काम गरिरहेका बालबालिका भेटेकी छु। गाडी र माइक्रोबसमा सहचालकका रूपमा खटिएको देखेकी छु। त्यो उनीहरूको रहर होइन, जीवन धान्ने क्रुर बाध्यता हो, जसले उनीहरूको बाल्यकालको स्वतन्त्रता, हाँस्ने-खेल्ने समय र विद्यालय जाने अधिकार खोसेको छ। अभाव र कठिनाइको चक्रव्यूहमा परेर बाल्यकाल खोसिएका यस्ता बालबालिकालाई राज्यको संरक्षण र समाजको भरलाग्दो ओतको सबैभन्दा बढी आवश्यकता छ।
सुमित जस्ता बालबालिकाको ओठमा देखिने निश्छल मुस्कान बाहिरबाट जति सामान्य लाग्छ, त्यसभित्र उति नै ठूलो आँसु र संघर्ष लुकेको हुन्छ। तर, उनीहरूको आँखाको चमक र हिम्मतले एउटा प्रस्ट सन्देश दिन्छ– जतिसुकै प्रतिकूल परिस्थितिमा पनि आशा र सपनाका झिल्काहरू जीवितै रहन सक्छन्। विडम्बना, ती सपनालाई पखेटा दिने जिम्मेवारी बोकेका समाज, परिवार र सरकार भने मौन र उदासीन देखिन्छन्।
नेपालको संविधानले शिक्षालाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी त गरेको छ, तर सुमितहरूको भोगाइले कागजी कानुन र भुइँतहको यथार्थबीचको ठूलो खाडलको कथा भन्छ। गरिबी र आर्थिक अभावका कारण आज पनि हजारौँ आमाबाबु आफ्ना सन्तानलाई विद्यालय पठाउनुको सट्टा श्रमबजारमा पठाउन बाध्य छन्। त्यसमाथि जरा गाडेर बसेको बालश्रमको कुरूप परम्परा, फितलो शिक्षा प्रणाली, दुर्गममा विद्यालयको पहुँच नहुनु र राज्यको कमजोर कार्यान्वयन संयन्त्रले यो समस्यालाई झन् जर्जर बनाएको छ। नीतिहरू कागजमा जतिसुकै आकर्षक लेखिए पनि जबसम्म तिनले सुमितहरूको सपनालाई छुँदैनन्, तबसम्म ती केवल शासकीय औपचारिकतामा मात्र सीमित रहन्छन्।
यो संकट केवल सुमितको व्यक्तिगत जीवनको अँध्यारो पाटो होइन, यसले हाम्रो समाजको चेतना र राष्ट्रको भविष्यको दिशालाई समेत गिज्याइरहेको छ। यदि हामीले समयमै यी कलिला हातमा कलम र कापी थमाउन सकेनौँ भने, एउटा सिंगो पुस्ता मात्र होइन, राष्ट्रकै भविष्य अन्धकारको सुरुङतर्फ धकेलिने निश्चित छ।
लेतेको चिसो हावामाझ सुमितले मलाई सिकाएको पाठ यही हो– यदि समाज, परिवार र सरकारले आफ्नो दायित्व इमानदारीपूर्वक निभाउने हो भने, समस्याका सुनामीसँग जुध्दै उनीहरूले आफ्नो मात्र होइन, सिंगो देशको उज्यालो भविष्य कोर्न सक्छन्। सुमितको हिम्मत र आशावादी मुस्कानले मलाई सधैँ यही बोध गराइरहन्छ।