सुरक्षा
विद्रोह र प्रतिरोधात्मक विधा मानिने र्यापलाई संस्थागत छवि निर्माणमा प्रयोग गर्दै नेपाली सेना
साइरन बज्छ, बख्तरबन्द गाडीमा नेपाली सेनाका हतियारधारी जवान युद्धको तयारीमा देखिन्छन्। सैनिकहरू जंगल र पहाडतिर दौडिरहेका हुन्छन्। केही सैनिक प्यारासुट प्रयोग गर्दै हेलिकोप्टरबाट झर्छन्। बन्दुक पड्काएको दृश्यसँगै र्याप गीत ‘रेन्जर’ सुरु हुन्छ-
उमेर नि १८ भो, रेडी छु म लड्नलाई
सेनामा जाने हो कि मर्छु कि मार्नलाई
नेपाली सेनाले जेठ पहिलो साता सार्वजनिक गरेको र्याप भिडियोले रेन्जर तालिम र लडाइँका लागि ‘विशेष फौज’ को तयारी प्रस्तुत गरेको छ। जंगलमा कमान्डो तालिम गर्ने र खतरनाक (डेन्जर) बन्ने युवा आकांक्षा गीतको केन्द्रमा छ। गीतका अधिकांश शब्द युद्ध, शत्रु, जोखिम र शक्तिवरिपरि घुमेका छन्।
डकुमेन्ट रेडी पार्छु
आउँछु म भिड्नलाई
शत्रु र दुस्मनको
छातीलाई चिर्नलाई
यस्ता शब्दमार्फत गीतमा युद्धको भूमिकालाई महत्त्व दिएको देखिन्छ। नौमहिने कठोर तालिमका क्रममा समावेश हुने कमान्डो अभ्यास, जंगल बसाइ, हतियार सञ्चालन र अपरेसनका अनुभव भिडिओमा समावेश गरिएको छ।
हामी नै रेन्जर, हामी नै डेन्जर,
हामी नै शक्ति अनि हामी नै एड्भेन्चर
गीतमा समावेश यस्ता पंक्तिले सैनिक पहिचानलाई बल र भयको भाषामा व्यक्त गरेका छन्।
नेपाली सेनाले भर्ती अभियान र संस्थागत छवि निर्माणमा र्याप संगीत तथा दृश्य सामग्री पहिलो पटक प्रयोग गरेको हो। गीत सार्वजनिक भएसँगै सेनाको पहिचान, संस्कृति र सार्वजनिक छविबारे क्रिया-प्रतिक्रिया सुरु भएको छ। र्याप संगीतको प्रयोग मूलतः सत्ता, असमानता र स्थापित संरचनाविरुद्ध प्रश्न उठाउने सांस्कृतिक माध्यमका रूपमा हुन्छ। तर, राज्यको अनुशासित र पदानुक्रमयुक्त संस्थाले प्रचार सामग्रीका रूपमा र्याप प्रयोग गर्दा बहस सुरु भएको हो।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार यो गीत नेपाली सेनाको पोखरास्थित गणमा कार्यरत अमल्दार प्रताप मगरले रचना गरेका हुन्, उनैले गाएका हुन्। सेनाकै व्यवस्थापनमा गीतको भिडिओ ‘रेन्जर’ तालिम सञ्चालन गरिने नगरकोटमा छायांकन गरिएको हो।
सेनामा ‘रेन्जर’ तालिम सिपाहीदेखि क्याप्टेनसम्मले गर्न पाउँछन्। विशेष फौजका लागि दिइने विशिष्ट तालिम हुने भएकाले यसमा अतिरिक्त लगनशीलता र मिहिनेतको आवश्यकता पर्छ। तर, गीत ‘रेन्जर’ बन्न मात्रै नभई समग्र नेपाली सेनाप्रति आकर्षण बढाउन सार्वजनिक गरिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेत बताउँछन्। भन्छन्, “नेपाली सेनाप्रति आकर्षण बढाउन, विशेषगरी भर्नाको बेला अधिकतम जनशक्तिलाई प्रतिस्पर्धामा सामेल गराउन सन्देश प्रवाह हुने देखेर गीत सार्वजनिक गरिएको हो।”

अहिले नेपाली सेनाको स्वीकृत दरबन्दी ९६ हजार छ। अवकाशमा जाने क्रम चलिरहने हुँदा खाली भएको दरबन्दी यकिन गर्न नसकिने उनी बताउँछन्। उनका अनुसार हाल २०० हाराहारी सहायक सेनानीको भर्ना प्रक्रिया चलिरहेको छ। “अधिकृत क्याडेटमा दरबन्दी रिक्त भइरहने हुँदा भर्ना चलिरहेको छ, कुनै पनि पद रिक्त भएको बेला रक्षा मन्त्रालयको अनुमति लिएर भर्ना प्रक्रिया चालु राखिएको हुन्छ। कुन पदमा कहिले र कति खाली हुन्छ भन्ने यकिन हुँदैन, रिक्त भएको बेला भर्ना खुलाइन्छ,” बस्नेत भन्छन्।
संविधानअनुसार नेपाली सेना राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन, विकास निर्माण, शान्ति स्थापना र नागरिक सहयोग जस्ता विविध भूमिकामा संलग्न संस्था हो। गीतमा भने सेनाको बहुआयामिक भूमिकाभन्दा युद्ध र कमान्डो पहिचानलाई प्राथमिकता दिइएको देखिन्छ। “सेनामा भर्ना हुँदा नै जुनसुकै कुरा गर्न तयार छु भनेर शपथ खाएको हुन्छ। गीतमा त्यही भाव व्यक्त भएको हो,” बस्नेत भन्छन्, “बढीभन्दा बढी व्यक्ति सेनामा भर्ना हुन आए प्रतिस्पर्धा राम्रो हुन्छ। त्यसैले हामी ठान्छौँ– धेरैभन्दा धेरैले प्रतिस्पर्धा गरून्। गीतको उद्देश्य यो पनि हो।” शब्दमा छलफल गरेरै यस्ता गीतका लागि स्वीकृति दिइने गरेको उनको भनाइ छ। आर्मीभन्दा बाहिरका व्यक्तिले पनि यस्ता गीत-संगीत सार्वजनिक गर्न र आर्मीको ड्रेस लगाएर सुटिङ गर्न सक्ने उनी बताउँछन्।

गीतको सन्देश एकै तहमा सीमित देखिँदैन। रेन्जर तालिमको कठिनाइ र सैनिक जीवनको संघर्षलाई गौरवपूर्ण देखाउन खोजिएको छ भने जंगल, चिहान, कमान्डो प्रशिक्षण, हेलिकोप्टर अपरेसन जस्ता दृश्यमार्फत सैन्य पेसा सामान्य जागिर नभई विशेष चुनौतीपूर्ण जीवनशैली भएको सन्देश दिइएको छ। गीतले नेपाली सेनाको परम्परागत गोर्खाली वीरता र आधुनिक विशेष फौजको पहिचान जोड्ने प्रयास पनि गरेको छ। ‘गोर्खाका शिर हौँ’, ‘हामी चैँ वीर हौँ’ जस्ता पंक्ति त्यसैका उदाहरण हुन्।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र संगीत वृत्तबाट मिश्रित प्रतिक्रिया पाएको छ। केहीले यसलाई सेनाको आधुनिक र आकर्षक प्रस्तुति मानेका छन् भने केहीले प्रधानमन्त्री वालेन्द्र शाहको नाम जोडेर ‘प्रधानमन्त्री पनि र्यापर हुनुहुन्थ्यो, सेना पनि र्यापर’ भनेका छन्।
नेपाली टाइम्स साप्ताहिकमा यस गीतबारे विश्लेषणात्मक लेख लेखेका नोबेल रिमाल पनि सेनाले समयअनुसार प्रचारशैली प्रयोग गरेको आकलन गर्छन्। उनी भन्छन्, “अहिलेको युवा जनशक्तिमा विदेश जाने सोच बढी छ, सेनामा किन जाने भन्ने छ, उनीहरूलाई सेनाले आकर्षण गर्न सकेको थिएन। अहिलेका प्रधानमन्त्री पनि र्यापबाटै युवा पुस्ताको आकर्षण बन्नुभएको हो। सेनाले पनि त्यही सूत्र प्रयोग गरेको देखिन्छ।”

सुरक्षा मामिला जानकार शोभाकर बुढाथोकी भने नेपाली सेनाले आफूलाई जनतामाझ कसरी प्रस्तुत गर्न चाहन्छ भन्ने सन्देश गीतमार्फत दिन खोजेको टिप्पणी गर्छन्। आधुनिक लोकतान्त्रिक समाजमा सेनाको सार्वजनिक छवि ‘डेन्जर’ र ‘मार्ने-मर्ने’ मा होइन, सेवा, शान्ति र नागरिक उत्तरदायित्वसँग जोडिनुपर्ने बुढाथोकीको भनाइ छ। “गीतमार्फत उत्प्रेरित गर्नुपर्ने गरी सेना भर्नामा आकर्षण घटेको पाइँदैन। गीतका दृश्यले पनि रेन्जर तालिमलाई नै जोड दिएको देखिन्छ। जसमा सैन्य शक्तिलाई गर्वका साथ प्रस्तुत गरिएको छ,” उनी भन्छन्, “अन्तिम शक्ति हामी नै हौँ, यहाँ आएपछि लड्न, भिड्न, मार्न सबै पाइन्छ भन्ने सन्देश दिन खोजिएको देखिन्छ।”
हामी नै अशुभ अनि हामी नै मंगल
हामी नै पन्छी हामी नै सर्प
हामी नै इज्जत
हामीमै भर छ
गीतले यस्तै शब्दमार्फत सेनालाई बल, साहस र युद्ध क्षमताको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। ‘मर्छु कि मार्नलाई’, ‘शत्रुको छाती चिर्नलाई’, ‘डेन्जर’, ‘हामी नै शक्ति’ जस्ता पंक्तिहरूले सैनिकको लडाकु भूमिकालाई जोड दिएको बताउँदै बुढाथोकी भन्छन्, “गीत देशको सेवा, प्रतिरक्षा र सुरक्षाभन्दा पनि अन्य विषयमा केन्द्रित भएको देखिन्छ। यसले सेनाको छवि राम्रो बनाउँदैन।”