काठमाडौं । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स)ले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग सम्बन्धित युद्ध अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ । ट्रम्प प्रशासनको इरान नीति र युद्ध सञ्चालनप्रति यो महत्त्वपूर्ण असहमतिको संकेतका रूपमा हेरिएको छ ।
प्रस्ताव २१५ विरुद्ध २०८ मतले पारित भएको हो । मतदानमा रिपब्लिकन सांसदहरू थोमस म्यासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले पार्टीको आधिकारिक धारणाविपरीत गएर प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
केन्टकीका रिपब्लिकन सांसद थोमस म्यासीले इरानविरुद्धको युद्धका लागि कांग्रेसको स्वीकृति नलिई ट्रम्पले सैन्य कारबाही अघि बढाएको भन्दै लामो समयदेखि आलोचना गर्दै आएका छन् । मतदानपछि उनले अमेरिकी नागरिक युद्धबाट दिक्क भएको र इन्धन तथा मलको बढ्दो मूल्यको असर खेपिरहेको बताए ।
त्यस्तै, पेन्सिलभेनियाका रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिकले आफ्नो मतदान अमेरिकी कानुनअनुसार भएको भन्दै युद्धसम्बन्धी निर्णय कंग्रेसमा ल्याएर छलफल र मतदान गरिनुपर्ने बताए ।
न्युयोर्कका डेमोक्र्याट सांसद तथा प्रतिनिधिसभाको विदेश मामिला समितिका वरिष्ठ सदस्य ग्रेगरी मिक्सले प्रस्ताव पारित भएपछि यसलाई संविधानअनुसार कंग्रेसले आफ्नो जिम्मेवारी पूरा गरेको उदाहरणका रूपमा व्याख्या गरे । उनले सबै डेमोक्र्याट सांसदहरूले प्रस्तावको पक्षमा मतदान गरेको बताए ।
यो प्रस्ताव मे २१ मा मतदानका लागि ल्याइने तय भए पनि रिपब्लिकन नेतृत्वले अन्तिम समयमा स्थगित गरेको थियो । त्यतिबेला आवश्यक मत नपुग्ने सम्भावना देखिएपछि मतदान रोकिएको आरोप डेमोक्र्याटहरूले लगाएका थिए ।
सभामुख माइक जोन्सनले भने ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रयासले इरानसँग भइरहेको शान्ति वार्तालाई कमजोर बनाउन सक्ने चेतावनी दिएका छन् । उनले प्रशासनलाई वार्ता सम्पन्न गर्न आवश्यक अधिकार दिनुपर्ने बताएका छन् ।