२३ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं । विभिन्न क्षेत्रका ६ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। आवेदन दिने कम्पनीहरूमा दुई जलविद्युत् तथा चार उत्पादन एवं प्रशोधन क्षेत्रका कम्पनी रहेका छन्।

आईपीओ निष्कासनको तयारीमा रहेका कम्पनीहरूमा सुपर हेवा पावर, रघुगंगा हाइड्रोपावर, राजेश मेटल क्राफ्ट्स, अन्नपूर्ण माछा दाना उद्योग, युवरानी एग्रो इन्डस्ट्रिज र प्रिमियर डिस्टिलरी रहेका छन्।

यीमध्ये रघुगंगा हाइड्रोपावरले सबैभन्दा ठूलो परिमाणमा आईपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न सेबोनसँग अनुमति मागेको छ। यसको कुल निष्कासन रकम १ अर्ब ५० करोड रुपैयाँ हुनेछ। कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ।

त्यसैगरी, राजेश मेटल क्राफ्ट्सले ६० लाख कित्ता सेयर निष्कासनमार्फत ६० करोड रुपैयाँ जुटाउने योजना बनाएको छ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

अन्नपूर्ण माछा दाना उद्योगले १० लाख ९ हजार ५३१ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। यसबाट कम्पनीले १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले पाएको छ।

प्रिमियर डिस्टिलरीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरी २२ करोड ५० लाख रुपैयाँ जुटाउने योजना बनाएको छ। कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

सुपर हेवा पावरले १९ लाख २५ हजार कित्ता सेयर निष्कासनमार्फत १९ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ। यसको बिक्री प्रबन्धक पनि लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

युवरानी एग्रो इन्डस्ट्रिजले १६ लाख ५० हजार कित्ता सेयर बिक्री गरी १६ करोड ५० लाख रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्यसहित आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

यी सबै कम्पनीको आवेदन स्वीकृत भएपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ।