मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३‚ धाराढोलास्थित दक्षिणकाली खण्डमा दुई गाडी आपसमा ठोक्किएका छन्। सुमो र बोलेरो आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौँको पेप्सीकोलास्थित एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी आउँदै गर्दा बोलेरो अनियन्त्रित भई पल्टिने क्रममा सुमोसँग ठोक्किएको हो।
दुर्घटनामा काभ्रेको पनौती नगरपालिका १ घर भई अहिले काठमाडौँ बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजप्रसाद कुर्मी बताए।
उनका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य छ। उनीहरूको काठमाडौँस्थित बीएन्डबी, बौद्ध अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सुमो चालक काठमाडौँ चन्द्रागिरि नगरपालिका १४ का ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मकावानपुर प्रहरीले जनाएको छ।