‘छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु’
काठमाडौँ। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनमा उनले सार्वजनिक पदमा रहँदा उठेका सवालको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए। उनले भने‚ “मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए। जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।”
छानबिन समितिसँगको त्यो ‘ठट्यौली’ प्रसंग
बयानका क्रममा घटेको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा भने, “समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो? भनेर प्रश्न गर्यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरिदिएँ।”
उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए।
‘पुनः गृहमन्त्री बने दुई महिना तस्बिर खिच्न नआउनू’
आफू निर्दोष साबित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति संकेत गर्दै उनले एउटा फरक आग्रहसमेत राखे। उनले भने‚ “यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।” उनले कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको पनि बताए।
पार्टी नेतृत्वलाई सुझाव- जिल्लाकै नेता जिल्लामै बस्नुपर्छ
सम्बोधनका क्रममा सांसद गुरुङले रास्वपाको संगठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीबारे पनि स्पष्ट धारणा राखे। अब बन्ने जिल्ला सभापति राजधानीकेन्द्रित हुन नहुने उनको तर्क थियो। “अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,” उनले भने‚ “राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ। जसले पार्टीलाई फाइदा गर्दैन।”
कार्यक्रममा उनले आफू गृहमन्त्री हुँदा आमजनताबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण गरे। उनले निर्वाचनमा विजयी गराउने गोरखाका सम्पूर्ण मतदातालाई विशेष धन्यवादसमेत दिए।