काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। विश्वकै सबैभन्दा ठूलो एआई, कोडिङ तथा रोबोटिक्स प्रतियोगिता कोडेभर ७.० मा नेपाली विद्यार्थीका ६ टोलीले अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका छन्।

इन्डोनेसियाको जकार्तास्थित बिनुस विश्वविद्यालयमा सम्पन्न प्रतियोगितामा ७० भन्दा बढी देशका टोलीसँग प्रतिस्पर्धा गर्दै नेपाली विद्यार्थीका नौ टोलीले उत्कृष्ट प्रदर्शन गरेका हुन्। प्रतियोगितामा नेपालले ६ वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार जित्नुका साथै थप तीन टोली विश्वका उत्कृष्ट ३० टोलीभित्र पर्न सफल भएका छन्।

७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीका लागि आयोजना गरिने कोडेभर विश्वकै ठूलो वार्षिक एआई, कोडिङ तथा रोबोटिक्स प्रतियोगिता हो। संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यसँग आबद्ध प्रतियोगिताले युवा प्रतिभाहरूलाई वास्तविक जीवनका समस्याको समाधान खोज्ने प्रविधिमूलक नवप्रवर्तन विकास गर्न प्रेरित गर्दै आएको छ।

नेपाली टोलीहरूले असुरक्षित खानेपानी, वायु प्रदूषण, स्मार्ट कृषि तथा औषधि व्यवस्थापनजस्ता विषयमा आधारित परियोजनामार्फत अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका हुन्। प्रतियोगितामा एसिया प्यासिफिक स्कुल, रिलायन्स पब्लिक स्कूल, डेजी बोर्डिङ स्कूल तथा स्किल्सअप ग्लोबलसँग आबद्ध विद्यार्थीले विभिन्न विधामा पुरस्कार जितेका छन्।

प्रतियोगितामा प्राप्त उपलब्धिको सम्मानस्वरूप स्किल्सअप ग्लोबल र निमा एजुकेसन फाउन्डेसनले काठमाडौँमा सफलता उत्सव तथा सम्मान समारोह आयोजना गरेको थियो। आयोजकले नेपाली विद्यार्थीको सिर्जनशीलता, प्रविधिमैत्री सोच र नवप्रवर्तन क्षमताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाएको बताएका छन्।