काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

हेब्रोन। इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भूभाग पश्चिमी किनाराको हेब्रोन क्षेत्रनजिक इजरायली सेनाले एक सवारीसाधनमाथि गोली चलाउँदा सात महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ। उनका आमाबुबा भने घाइते भएका छन्।

घटनाबारे प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार शिशुको अनुहारमा गोली लागेका कारण घटनास्थलमै मृत्यु भएको थियो। घाइते भएका उनका मातापिताको उपचार भइरहेको छ। आमाको अवस्था सिकिस्त छ।

इजरायली सेनाले भने आफ्ना सैनिकहरूले आफूहरूतर्फ तीव्र गतिमा आइरहेको जस्तो देखिएको एक सवारीसाधनलाई लक्षित गरी गोली चलाएको जनाएको छ। सेनाको प्रारम्भिक अनुसन्धानले घाइते भएका तीनैजना सर्वसाधारण रहेको र उनीहरूको कुनै संलग्नता नरहेको देखाएको बताइएको छ।

शिशुका पिता जो एक विश्वविद्यालयका प्राध्यापकसमेत हुन्। उनका अनुसार परिवारका सदस्यहरू सवारीसाधनमा यात्रा गरिरहेका बेला अचानक गोलीबारी भएको थियो। उनका अनुसार एउटा गोली अगाडिको सिसा छेड्दै उनको हातमा लागेर पछाडिको सिटमा रहेका शिशुसम्म पुगेको थियो। सोही क्रममा शिशुको अनुहारमा गहिरो चोट लागेको थियो।

घटनामा शिशुकी आमालाई पनि चोट लागेको छ। चिकित्सकहरूका अनुसार उनको मुटुनजिक छर्रा अड्किएको छ।

परिवारका सदस्यहरूका अनुसार उनीहरू सैन्य जाँच चौकीनजिक पुग्दा टाढाबाट सैनिक र सैन्य सवारीसाधन देखेपछि गाडी रोकेका थिए। सुरुमा सुनिएको गोलीको आवाज चेतावनीका लागि चलाइएको हो भन्ने लागेको भए पनि केही क्षणमै गम्भीर दुर्घटना भएको उनीहरूको भनाइ छ।

शिशुको मृत्युले स्थानीय समुदायमा शोक छाएको छ। अन्त्येष्टिका क्रममा उनको शवलाई प्यालेस्टिनी झन्डाले बेरिएको थियो। परिवारले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेको छ।

सन् २०२३ अक्टोबरमा गाजामा युद्ध सुरु भएयता पश्चिमीकिनारामा इजरायली सैन्य कारबाही तथा प्यालेस्टिनीविरुद्ध हुने हिंसात्मक घटनामा उल्लेख्य वृद्धि भएको विभिन्न मानवअधिकार संस्थाहरूले जनाउँदै आएका छन्।