काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

यू-१९ राष्ट्रिय महिला क्रिकेट

२५ जेष्ठ २०८३
अ+
अ-

सुर्खेत। सुर्खेतमा जारी यू-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित निकालेको छ।

प्रतियोगिताअन्तर्गत यसअघि खेलेका दुई खेलमा लगातार हार व्यहोरेको बागमतीले सोमबारको खेलमा पहिलो जित हात पारेको हो। योसँगै बागमतीले हालसम्मकै सर्वाधिक स्कोरसमेत बनाएको छ।

तेस्रो खेल बागमती र कोसी प्रदेशबीच भएको हो। बागमतीले २३ रनको जित हात पारेको छ। योसँगै बागमती दुई अंकका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।

कालुञ्चोक मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रनको योगफल खडा गरेको थियो। बागमतीका लागि ओपनर सेविकाकुमारी यादव र प्रथा श्रेष्ठले उत्कृष्ट साझेदारी गरे। दुवैले १४.३ ओभरसम्म क्रिजमा टिकेर पहिलो विकेटका लागि १२३ रनको बलियो साझेदारी गरे।

११ चौकासहित ४७ बलमा ६६ रन जोडेकी सेविका टीका शाहीको बलमा शुभेक्षा लिम्बूबाट क्याचआउट भइन्। त्यसको दुई ओभरपछि प्रथा पनि ४८ बल खेल्दै ११ चौकासहित ६१ रन जोडेर खिमकला घिमिरेबाट बोल्ड भइन्।

जवाफी ब्याटिङमा सम्हालिएर प्रदर्शन गरेको कोसीका प्रिन्सा राना मगरले ४१, टीका शाहले ३७ र पूर्णिमा राजवंशीले २० रन बनाए। अतिरिक्त पाएको ३३ रनको फाइदा पनि उठाउन नसक्दा कोसीको इनिङ्स १४६ मै सीमित हुन पुग्यो।

कर्णालीको लगातार दोस्रो हार
जारी प्रतियोगितामा घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ। घरेलु टोलीले दोस्रो हार व्यहोर्दा मधेसले भने लगातार दोस्रो जित हात पारेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका तीनवटै खेल जितेर उपाधि दाबेदारीलाई बलियो बनाएको छ।

कालुञ्चोक मैदानमा सोमबार कर्णालीविरुद्धको खेलमा मधेसले नौ विकेटको फराकिलो अन्तरले जित्यो। आफ्नो पहिलो खेलमा कोसीमाथि जित निकालेको मधेसले लगातार दोस्रो जितसँगै महत्त्वपूर्ण चार अंक प्राप्त गरेको छ।

पहिले ब्याटिङ थालेको कर्णालीले चार विकेटको क्षतिमा १०३ रनको लक्ष्य दिएको थियो्। मधेसले यो लक्ष्य ९.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। घरेलु मैदानमा कर्णालीलाई सम्मानजनक स्कोरसम्म पुर्याउन कप्तान तिर्सना विश्वकर्माले नटआउट ४९ रनको पारी खेल्दा उमा चौधरीले ३३ रन जोडेर कप्तानलाई दरिलो साथ दिइन्।

जम्मा १ रन जोडेकी कर्णालीकी ओपनर सरिता विष्ट पहिलो ओभरमै रन आउट भएपछि दोस्रो ओभरमा अर्की ओपनर सोविता शाही साक्षी यादवको बलमा शून्यमै पभेलियन फर्किइन्। छैटौँ ओभरको खेल सकिँदा शिखा दुवाडी पनि ५ रनमा डकआउट भएसँगै कमजोर बनेको कर्णालीलाई तिर्सना र उमाले १०२ रनको सम्मानजनक स्कोरसम्म पुर्याए। तिर्सना र उमाले सम्हालिएर ब्याटिङ गर्दै चौथो विकेटका लागि ८६ रनको साझेदारी गरे।

अर्धशतक पूरा गर्नबाट जम्मा १ रनले चुकेकी तिर्सनाले ६५ बलको सामना गर्दा ३ चौकासहित ४९ रन बनाइन्। अर्को छेउबाट साथ दिएकी उमाले ३३ बलमा ४ चोकासहित २९ रन जोडिन्। जवाफी ब्याटिङमा उत्रिएको मधेसका लागि ओपनरद्वय सना प्रविनले नटआउट ४४ र अलिशा यादवले ४७ रन जोड्दै आठौँ ओभरसम्म साझेदारी गर्दै मधेसको जित सुनिश्चित गरे।

पहिलो खेलमै अर्धशतकीय पारी खेलेकी सनाले २१ बलमा ९ चौका र अलिशाले ३३ बलमा ८ चौका र एक छक्कासहित ४७ रन बटुलेर जितको आधार तयार गरे। आक्रामक खेल्दै अर्धशतकतिर लम्किएकी अलिशालाई आठौँ ओभरको चौथो बलमा कर्णालीकी समीक्षा बीसीले एलबीडब्ल्यू धरापमा पारिन्।

यस्तै वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८ विकेटले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले ओपनर अञ्जी पाठकको ७६ र आशना चौधरीको २४ रनको मद्दतमा ५ विकेट गुमाएर १४१ को स्कोर बनाएको थियो।

लुम्बिनीका अरू ब्याटरले दोहोरो आँकडा छुन सकेनन्। ३१ रन अतिरिक्त खर्चिदै कमजोर बलिङ प्रदर्शन गरेको सुदूरका लागि ओपनरहरूले नै जितका लागि १३२ रनको साझेदारी गर्दै बलियो जग बसाले। ४५ बलको सामना गरेकी प्लयेर अफ दी म्याच सावित्री धामीले एक छक्का र ११ चौकासहित नटआउट ७६ रन बनाइन् भने दोस्रो क्रमकी करुणा विष्टले पनि चार चौकासहित ४० बलमा ४५ रन बटुलेर साथ दिइन्। सुदूरपश्चिम ६ अंक जोडेर शीर्षस्थानमा उल्किएको छ।