काठमाडौँ
००:००:००
२९ जेष्ठ २०८३, शुक्रबार

२९ जेष्ठ २०८३
फाइल फोटो
अ+
अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ८०औँ जन्मदिनलाई केन्द्रमा राखेर ह्वाइट हाउसको साउथ लनमा आयोजना गरिएको विशाल युएफसी केज फाइट कार्यक्रमले अमेरिकी राजनीति र सार्वजनिक खर्चबारे तीव्र बहस जन्माएको छ।

‘युएफसी फ्रिडम २५०’ नाम दिइएको यो कार्यक्रमलाई समर्थकहरूले उत्सव र स्वतन्त्रताको प्रदर्शनका रूपमा व्याख्या गरे पनि आलोचकहरूले यसलाई असंवेदनशील र विवादास्पद कदम भनेका छन्।

आइतबार हुने भनिएको उक्त कार्यक्रमका लागि ह्वाइट हाउसको साउथ लनमा ‘द क्लाउ’ नामक विशाल पिँजडा अखाडा निर्माण गरिएको छ र त्यहाँ १४ जना अल्टिमेट फाइटिङ च्याम्पियनसिप (युएफसी) खेलाडीहरूबीच केज फाइट प्रतिस्पर्धा हुनेछ। रक्तपातपूर्ण शैलीका लडाइँलाई केन्द्रमा राखिएको यो प्रतियोगिता अमेरिकी राष्ट्रपति कार्यालयको इतिहासमै असाधारण मानिएको छ।

करिब छ करोड अमेरिकी डलर लागत अनुमान गरिएको कार्यक्रमलाई लिएर सार्वजनिक आलोचना चर्किएको छ। आलोचकहरूले युद्ध तथा आर्थिक चुनौतीका बीच यस्तो खर्चिलो र माचो शैलीको कार्यक्रम उपयुक्त नभएको टिप्पणी गरेका छन्। तर राष्ट्रपति ट्रम्पले यसलाई अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव सुरु गर्ने अवसरका रूपमा व्याख्या गरेको छ र कार्यक्रमको सम्पूर्ण खर्च युएफसीले व्यहोर्ने दाबी गरेको छ।

राष्ट्रपति ट्रम्पले न्युयोर्क पोस्टसँगको कुराकानीमा लडाकू खेलाडीहरूको प्रशंसा गर्दै उनीहरूलाई ‘सबैभन्दा कठोर व्यक्तिहरू’ का रूपमा वर्णन गरेको छ। उनका अनुसार यस्तो कार्यक्रमले अमेरिकी खेल र शक्ति प्रदर्शनको नयाँ रूप देखाउनेछ।

कार्यक्रममा इन्टरनेसनल मिक्स्ड मार्सल आर्ट (एमएमए) को प्रभावशाली उपस्थिति रहने अपेक्षा गरिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि युएफसीसँगको सहकार्यलाई स्वागत गर्दै यसलाई ‘अमेरिकी जनताका लागि उपहार’ भनेको छ। उनका अनुसार यो कार्यक्रम विश्वभर करिब एक अर्ब दर्शकले हेर्न सक्ने सम्भावना छ।

कार्यक्रमका आयोजक डाना ह्वाइटका अनुसार करिब चार हजार दर्शकले प्रत्यक्ष रूपमा ह्वाइट हाउस परिसरभित्र खेल हेर्ने छन्। तीमध्ये आधाभन्दा बढी अमेरिकी सेनाका सदस्य हुने छन्। थप एक लाख २५ हजार दर्शकले ह्वाइट हाउस बाहिरको एलिप्स क्षेत्रमा राखिने विशाल स्क्रिनमार्फत खेल अवलोकन गर्ने अनुमान गरिएको छ।

निर्माण गरिएको ‘द क्लाउ’ संरचना ६०० टनभन्दा बढी तौल र करिब १५४ फिट चौडाइ तथा ९२ फिट उचाइको रहेको बताइएको छ। यो ह्वाइट हाउस भवनभन्दा पनि अग्लो संरचना हो। ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिने साउथ लनमा यस्तो संरचना निर्माण हुनु पनि विवादको अर्को कारण बनेको छ।

यो कार्यक्रमले ह्वाइट हाउसको दुई शताब्दीभन्दा लामो इतिहासमा नयाँ र असामान्य अध्याय थप्ने देखिएको छ। विश्लेषकहरूका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक शैलीअनुसार मनोरञ्जन, शक्ति प्रदर्शन र लोकप्रियतामूलक कार्यक्रमलाई राज्य संयन्त्रसँग जोड्दै अघि बढाइरहेको छ।

तर कार्यक्रमविरुद्ध कानूनी चुनौती पनि दायर भएको छ। सार्वजनिक भूमिको दुरुपयोग गरी राष्ट्रपतिको निकट सहयोगीहरूलाई फाइदा पु¥याउने प्रयास भएको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ। ह्वाइट हाउसले भने सबै आरोप अस्वीकार गरेको छ।

ट्रम्पले यस कार्यक्रमलाई अमेरिकाको स्वतन्त्रता दिवसको २५०औँ वार्षिकोत्सवको सुरुवातका रूपमा प्रस्तुत गर्दै यसलाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गरेको छ। कार्यक्रमपछि संरचना हटाइने योजना रहेको पनि अधिकारीहरूले स्पष्ट पारेका छन्।