काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन्।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ पेस गर्ने सम्भावित कार्यसूची छ।
मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।