काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

१ श्रावण २०८३
अ+
अ-

काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले आज देशका ३१ जिल्ला तथा आसपासका क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार ती जिल्लाबाट बग्ने ससाना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (पूर्व), पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, बाँके, बर्दिया, कैलाली र सुर्खेतसहित आसपासका क्षेत्रमा बहने ससाना नदीमा पानीको सतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।

यस्तै, ओखलढुंगा, रामेछाप, रुकुमपूर्व, जाजरकोट, डोटी, डडेल्धुरा, बझाङ र दार्चुलासहित आसपासका जिल्लाका ससाना नदी तथा खोलामा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ।

महाशाखाले नदी तटीय क्षेत्र, डुबान सम्भावित स्थान तथा खोल्सानजिक बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन र आवश्यक सावधानीका उपाय अवलम्बन गर्न अनुरोध गरेको छ।