काठमाडौँ। चीनको चारदिने औपचारिक भ्रमणमा बेइजिङमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न कार्यक्रममा सहभागी बनेका छन्।
परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आज (आइतबार) बिहान बेइजिङ पुगेका हुन्। उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए।
आज अपराह्न परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली राजदूतावासले स्वागत समारोह आयोजना गर्यो। त्यसअवसरमा नेपाली समुदायसँग खनालले अन्तर्क्रिया गरेको दूतावासले जनाएको छ। कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गरे। साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरे।
मन्त्री खनालले चीनमा नेपालको हित प्रवर्द्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरूलाई निर्देशन दिएका थिए।