विराटनगर। नेपाली कांग्रेसको संस्थापनइतर समूहले विराटनगरमा आइतबार बृहत् प्रादेशिक भेला सुरु गरेको छ।
पार्टीभित्र देखिएका सांगठनिक कमजोरी सुधार गर्न नेतृत्वमाथि दबाब सिर्जना गर्ने उद्देश्यसहित इतर समूहले भेला आयोजना गरेको जनाएको छ। आगामी राजनीतिक रणनीति, पार्टीको आन्तरिक अवस्था र संगठन सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने बताइएको छ।
भेलामा शेखर कोइराला, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र मीनेन्द्र रिजाललगायत नेता एउटै मञ्चमा सहभागी छन्।

इतर समूहका नेताहरूको एकै स्थानमा उपस्थितिलाई पार्टीभित्रको शक्ति सन्तुलन र आगामी महाधिवेशनको तयारीसँग जोडेर हेरिएको छ। आयोजकका अनुसार भेलामा कोसी प्रदेशका १४ वटै जिल्लाबाट आएका अगुवा कार्यकर्ता तथा नेता-कार्यकर्ताको उल्लेख्य सहभागिता छ।
पार्टी नेतृत्वको कार्यशैली, संगठन विस्तार र आगामी रणनीतिबारे साझा धारणा बनाउन भेला महत्त्वपूर्ण हुने इतर समूहका नेताहरूको भनाइ छ।