काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

राजनीति

कोसी प्रदेश भेलामा इतर पक्षका कांग्रेस नेताहरूले एउटै मञ्चबाट बोले– समयमै नसच्चिए पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ।

३१ जेष्ठ २०८३
नेपाली कांग्रेस संस्थापनइतर पक्षले विराटनगरमा आइतबार आयोजना गरेको ‘कोसी प्रदेशस्तरीय बृहत्तर एकता भेला’ सहभागी भएका नेताहरू। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक कलह र शक्ति संघर्ष विराटनगरबाट सतहमा आएको छ। ३१ जेठमा संस्थापनइतर पक्षका नेताहरूले होटल मनास्लुमा ‘कोसी प्रदेशस्तरीय बृहत्तर एकता भेला’ गरी सभापति गगन थापासहितका वर्तमान नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै सच्चिन चेतावनी दिएका छन्।

आयोजित भेलाको मूल उद्देश्य ‘पार्टी एकता’ बताइए पनि नेताहरूले अधिकांश समय पार्टी सभापतिको आलोचना गर्न खर्चिए। पार्टीभित्र लोकतन्त्रको हत्या हुन थालेको, विधान मिचिएको र कार्यकर्तालाई त्रासमा राखिएको उनीहरूको आरोप छ।

भेलाका प्रमुख अतिथि डा. शेखर कोइरालाले देशभरका धेरै जिल्लामा वडा सभापतिहरूलाई प्रक्रियाविना पदबाट हटाइएकामा आपत्ति जनाए।

भेलालाई सम्बोधन गर्दै डा. शेखर कोइराला।

“कुनै कारण छैन, लिखित पत्र छैन। केवल मौखिक आदेशमा वडा सभापतिहरूलाई हटाउनु भनेको पार्टीभित्र निरंकुशताको सुरुवात हो,” कोइरालाले भने, “नेपाली कांग्रेसको जन्म नै निरंकुशता अन्त्यका लागि भएको हो। बिडम्वना! आज पार्टीभित्रै लोकतन्त्र धरापमा परेको छ। यस्तो प्रवृत्तिले न पार्टीलाई हित गर्छ, न देशको लोकतन्त्रलाई।”

उनले पार्टी सभापति गगन थापासँग डेढ महिनाअघि बालुवाटार भएको पाँचबुँदे सहमतिको प्रसंग उठाउँदै त्यसको कार्यान्वयन नभएकोमा पनि चिन्ता प्रकट गरे। वडा र पालिका सभापतिहरूलाई कारबाही गर्ने चेतावनी आएपछि आफूले सहमतिको प्रस्ताव अघि सारेको उल्लेख गर्दै कोइरालाले प्रश्न गरे, “सभापतिले पनि प्रस्तावमा सहमति जनाउनुभएको हो, तर आज कार्यान्वयन गर्नबाट उहाँलाई कसले रोकिरहेको छ ?” कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने, पुराना सदस्यकै आधारमा अधिवेशन गर्ने र निर्वाचन समितिहरू आपसी समझदारीमा बनाउनेलगायत विषय समेटिएका पाँचबुँदे प्रस्ताव मञ्चबाटै पढेर सुनाएका थिए।

नेपाली कांग्रेस संस्थापनइतर पक्षले विराटनगरमा आइतबार आयोजना गरेको ‘कोसी प्रदेशस्तरीय बृहत्तर एकता भेला’ सहभागी कार्यकर्ताहरू।

उनले पछिल्लो समय राजनीतिमा ‘पपुलिज्म’ (लोकप्रियतावाद) हाबी भएको र कांग्रेसका नेताहरू पनि त्यसकै पछि लागेको टिप्पणी गरे। आफूलाई सामाजिक सञ्जालमा ‘बूढो भयो’, ‘परालको खुट्टा’ र ‘ढुलमुले’ जस्ता टिप्पणी आएको उल्लेख गर्दै उनले भने, “सामाजिक सञ्जालमा जेसुकै लेखून्, मलाई चिन्ता छैन। हाम्रो परालको खुट्टा छैन र हामी ढुलमुले पनि छैनौँ। हामी कांग्रेसलाई एकढिक्का बनाएर लैजान दृढ छौँ।” सरकारले ‘अर्ली इलेक्सन’ को संकेत दिएको भन्दै पार्टी एक नभए गम्भीर संकट आउने उनले चेतावनी दिए।

भावुक भए शशांक

बीपीपुत्र एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको वर्तमान अवस्था देखेर आफूलाई विरक्त लागेको बताए। पार्टी सभापति गगन थापाले सबैलाई समेट्न नसकेको उनको आरोप थियो। “आज बिहान कोइराला निवास पुग्दा मेरो आँखाभरि आँसु आयो,” थापालाई भेलामार्फत प्रश्न गर्दै कोइरालाले भने, “सभापतिजी, तपाईं पार्टीका सबै नेतालाई अलग गरेर एक्लै पार्टी चलाउन सक्नुहुन्छ? विभाजित मनस्थितिमा रहेको पार्टीलाई किन एकताबद्ध बनाउन सक्नुभएन?”

८० वर्षको इतिहास बोकेको पार्टी कमजोर हुँदा राष्ट्रियता र लोकतन्त्र नै संकटमा पर्ने उनको भनाइ थियो। पार्टीमा नेतृत्वले एकलौटी निर्णय गरे बीपी र गिरिजाबाबुले बनाएको बिरासत समाप्त हुने जिकिर गरे।

भेलालाई सम्बोधन गर्दै शशंका कोइराला।

सिटौलाको चेतावनी

नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र व्याप्त ‘त्रासको राजनीति’ अन्त्य हुनुपर्नेमा जोड दिए। कार्यकर्ताहरूलाई भेलामा सहभागी भए कारबाही गर्ने धम्की आएको खुलासा गर्दै उनले त्यसप्रति कडा आपत्ति जनाए। “कार्यकर्तालाई भेलामा नआउन धम्की दिइन्छ, यो कस्तो लोकतन्त्र हो?” सिटौलाले भने, “हामी त मानवअधिकार र स्वतन्त्रताका लागि लडेका मान्छे हौँ। आफ्नै साथीहरूलाई गरिने यस्तो व्यवहार निन्दनीय र अमानवीय छ।”

भेलालाई सम्बोधन गर्दै कृष्णप्रसाद सिटौला।

नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विवाद टुंग्याउन सिटौलाले आग्रह थियो। “विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कुरा टुंगिन्छ। यो साहस तपाईंको हृदयबाट आउनुपर्छ,” उनले पार्टी सभापति थापातर्फ लक्षित गर्दै भने, “लेख्ने र मेटाउने शक्ति तपाईंहरूसँगै छ, अब एकमुस्ट निर्णय गरेर अघि बढ्नुस्।” उनले ‘ड्यु प्रोसेस अफ ल’ (कानुनी प्रक्रिया) पार्टीभित्र पनि पालना हुनुपर्ने बताए।

गच्छदारको सुझाव

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टी सभापति र महामन्त्रीलाई अनुभवी नेताहरूबाट पार्टी चलाउने शैली सिक्न सुझाव दिए। उनले सभापति थापालाई लक्षित गर्दै भने, “तपाईं पार्टीको सभापति हुनुभएको छ। तर, सभापति र महामन्त्रीको भूमिका के हुन्छ, त्यो सिक्नुस्। आफ्ना गुरु कृष्ण सिटौला र अन्य नेताहरूबाट पार्टी चलाउने शैली सिक्नुस्।”

भेलालाई सम्बोधन गर्दै विजयकुमार गच्छदार।

कांग्रेस बलियो नभए संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने गच्छदारको दाबी थियो। डा. शेखर कोइरालाका लागि आफूले सुनसरीमा १३ हजार मतान्तरले जित्ने क्षेत्र छोडिदिएको दाबी गर्दै उनले त्यागको राजनीति हराउँदै गएकोमा चिन्ता गरे। “जुन बेला गोली खाएर मर्ने आदेश हुन्थ्यो, त्यो बेला नडराएको मान्छे म, अहिले पनि कसैको धम्कीबाट डराउँदिनँ,” उनले भने।

कोसी सभापति अनुपस्थित

कोसी प्रदेशस्तरीय भनिएको भेलामा प्रदेश सभापति उद्धव थापा भने उपस्थित भएनन्। प्रदेशका महामन्त्री भूपेन्द्र राईको सभापतित्वमा भेला भएको थियो। उनले भेला कुनै व्यक्ति वा गुटको स्वार्थका लागि नभई नेतृत्वलाई दबाब दिन आयोजना गरिएको बताए। “हामी कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर कांग्रेसलाई पूर्ण रूपमा एकताबद्ध बनाउन चाहन्छौँ,” राईले भने, “नेतृत्वले समयमै समस्या समाधान गर्ने आँट देखाउनुपर्छ।”

निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको कार्यक्रममा जिल्ला र क्षेत्र तहका नेताहरूलाई सम्बोधनका लागि मात्र तीन मिनेटको समय दिइएको थियो। उनीहरूको समय सकिनासाथ प्राविधिक रूपमै माइक काटिने प्रणाली प्रयोग गरिए पनि शीर्ष नेताहरूका लागि भने समयसीमा तोकिएको थिएन।

कार्यक्रममा नेताहरू मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद, मीनबहादुर विश्वकर्मालगायतले बोलेका थिए। भेलामा कोसी प्रदेशका १४ जिल्लाका नेता-कार्यकर्ताको उपस्थिति थियो। यसअघि देउवा पक्षले मात्र भेला गर्दा कोइराला पक्ष सहभागी नभए पनि यसपटक देउवा र कोइराला पक्षका धेरै नेता एउटै मञ्चमा देखिएका थिए। तर, कोसी प्रदेशका संस्थापन पक्षीय नेताहरू भेलामा अनुपस्थिति रहे।