आवरण/पर्वतारोहण
सातै महादेशका हिमालको आरोहणमा निर्विकल्प बनेका शेर्पाहरू
गत ३० वैशाखको बिहान मिङतेम्बा शेर्पा (३५)ले सगरमाथाको चुचुरो टेके। उनी यो आरोहण सिजनमा सर्वोच्च शिखर पुग्ने पहिलो टोलीका सदस्य थिए। तर, उनले कुनै कीर्तिमान बनाउन यो आरोहण गरेका थिएनन्। उनी सगरमाथा चढ्ने आरोहीहरूका लागि बाटो खोल्ने ‘रोप फिक्सिङ टिम ’का सदस्य भएर गएका थिए। उनीहरूले डोरी टाँगेपछि मात्रै सगरमाथा आरोहणको मुख्य सिजन खुल्यो। उनीहरूले टाँगेको डोरी समाउँदै यो वर्ष एक हजारभन्दा बढी आरोही सर्वोच्च चुलीमा पुगेको सरकारी अधिकारीहरूले बताएका छन्। यो संख्या एकै सिजनमा सगरमाथा आरोहणको अहिलेसम्मकै उच्च हो।
सगरमाथामा आरोहीका लागि डोरी टाँग्ने, भर्याङ हाल्ने जस्ता आरोहण-मार्ग बनाउन, मर्मत गर्न सेभेन समिट ट्रेक्सका मिङतेम्बासहित अन्य कम्पनीबाट गरी १३ जना गएका थिए। यस कामका लागि उनीहरूलाई पवर्तारोहण गराउने कम्पनीहरूको संस्था नेपाल पर्वतारोहण सञ्चालक संघले पठाएको थियो।
उनीहरूले हरेक वर्ष सगरमाथा आरोहणको सिजन सुरु हुने बेला आरोहीहरूलाई सहज हुने गरी आधार शिविरदेखि चुचुरोसम्म नै बाटो बनाउने र मर्मत गर्ने गर्छन्। त्यसअन्तर्गत डोरी टाँग्छन्। हिमखाडल भएका र चर्केका ठाउँमा भर्याङ हाल्छन्। यो कामका लागि यसपालि मिङतेम्बासहितको टोली १० अप्रिल (२७ चैत २०८२)मा आधार शिविर पुगेको थियो। बाटो बनाउने, मिलाउने काम करिब एक महिनामा फत्ते गर्यो।
विगतका वर्षमा १० अप्रिलदेखि काम सुरु गरेर १० मेतिर डोरी टाँग्ने काम सकिने गरे पनि यस पटक भने खुम्बु आइसफलमा अवरोध आउँदा केही दिन लम्बियो। खुम्बु आइसफल सगरमाथाको सबैभन्दा कठिन क्षेत्र मानिन्छ। बाटो बनाउने क्रममै खुम्बु आइसफलमा सय फिट क्षेत्रमा हिउँको ढिस्को खसेका कारण उनीहरू दुई साता त्यहीँ रोकिनुपर्यो। अन्तत: २९ अप्रिलमा त्यस ठाउँमा बाटो बनेपछि १३ मेमा सगरमाथा चुचुरो पुगे।

मिङतेम्बा शेर्पा। तस्बिर : शेर्पाको फेसबुक
मिङतेम्बासहितको टोलीले बनाएको बाटो भएर आरोहीहरू सगरमाथाको टाकुरो पुगे। आआफ्ना देशका झन्डा फहराए, तस्बिर खिचे। केहीले व्यक्तिगत कीर्तिमानसमेत बनाए। सगरमाथासहित नेपाली हिमालहरूको आरोहणका लागि वसन्त ऋतु (मार्चदेखि मेसम्म) उपयुक्त मानिन्छ। २९ मेमा सिजन समाप्तिको घोषणासँगै अरू आरोहीहरू सफलताको खुसीमा रमाइरहँदा मिङतेम्बासहित उच्च हिमाली गाइडको काम गर्ने शेर्पाहरूको टोली भने हिमाल आरोहणमा सघाउन पाकिस्तान पुगिसकेको छ। नेपालमा आरोहणको सिजन सकिनेबित्तिकै पाकिस्तानमा सुरु हुन्छ। त्यहाँका आठ हजार मिटरभन्दा अग्ला पाँचवटै हिमालमा डोरी टाँग्न र आरोहीहरूलाई सघाउने कामका लागि मिङतेम्बा जस्ता अनुभवी शेर्पा गाइडहरूको माग हुन्छ। आरोहण-मार्ग बनाउनुका साथै उनीहरूले आरोहीका लागि खानेकुरा र अक्सिजनजस्ता आवश्यक सामग्री पुर्याउने काम पनि गर्छन्।
२१ जेठमा काठमाडौँ कपनमा भेटिएका उनले भनेका थिए, “अब पाकिस्तान गइन्छ, यो सिजनमा त्यहाँका आठ हजार मिटरभन्दा अग्ला सबै पाँचवटै हिमालमा डोरी टाँग्छु।” त्यसबेला यही सिजनमा दुई पटक सगरमाथा चढेर उनी फर्केको एक साता पनि भएको थिएन।
विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमा डोरी टाँग्ने र गाइड अर्थात् पथप्रदर्शकको कामका लागि मिङतेम्बालगायत नेपाली शेर्पाहरूको धेरै माग छ। आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सगरमाथासहित नेपालमा आठ, पाकिस्तानमा पाँच र चीनको तिब्बतमा एक हिमाल छन्। उनी पाकिस्तान मात्र नभई तिब्बत पनि जाने गरेका छन्। तिब्बतमा आठ हजार मिटर अग्लो सिसापाङ्मा हिमाल छ। चोयुको आरोहण पनि तिब्बततिरबाट मात्रै हुन्छ।

पाकिस्तानका हिमालको आरोहणमा सघाउन इस्लामाबाद विमानस्थलमा मिङतेम्बा शेर्पासहितका उच्च हिमाली गाइडहरू। तस्बिर : शेर्पाको फेसबुक
आठ हजार मिटर अग्ला १४ वटै हिमाल मिङतेम्बाले अनेक पटक चढिसकेका छन्। तर, उनको मुख्य काम हिमाल आरोहण नभई आरोहीहरूलाई सहजीकरण गरिदिने सारथिको हो।
सगरमाथा र ल्होत्सेमा डोरी टाँग्ने कामका लागि छुट्टै टोली खटाइन्छ। नेपाल पर्वतारोहण सञ्चालक संघले आरोहणको मुख्य सिजनमा डोरी टाँग्ने टोली खटाउँछ। जसका लागि पर्वतारोहण गराउने कम्पनीबाट सिद्धहस्त गाइडहरू छानिन्छन्। डोरी टाँग्न अनुभवी माउन्टेन गाइडहरू छानिने गरेको पर्यटन विभागको सगरमाथा अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतम बताउँछन्। “विषयको जानकारी भएका, अनुभवी, तालिमप्राप्त र अलि बलियाबांगाहरूलाई डोरी टाँग्न र मिलाउन छानिन्छ,” उनी भन्छन्।
हिमाल आरोहणमा पथप्रदर्शकको काम गर्न पाकिस्तान र तिब्बत जाने मिङतेम्बा एक्ला होइनन्। यस काममा उनी जस्ता बीसौँ उच्च हिमाली शेर्पा गाइड छन्। जसमध्ये मिकेल भनिने मिङतेम्बा शेर्पा र लाक्पा शेर्पा (मकालु) पनि हुन्। उनीहरू पनि जेठ अन्तिम साता पाकिस्तान जाने तर्खरमा छन्। “यसपटक जी-वान (गसरब्रुम वान) र जी-टु (गसरब्रुम टु)मा गाइड गर्न जान लागेको हो,” मिकेल भन्छन्। त्यसका लागि १२-१३ जना शेर्पाको टोली हुने उनी बताउँछन्। अर्का हाई अल्टिच्युड गाइड पेम्बा शेर्पा पनि विश्वकै दोस्रो अग्लो हिमाल ‘के टु’ मा जाँदै छन्।
सगरमाथादेखि अन्टार्कटिकासम्म
नेपालको आरोहण सिजन सकिएपछि पाकिस्तान जाने शेर्पाहरू यस वर्ष आरोहणको सुरुआत हुने नांगा पर्वत (८,१२६ मिटर) बाट सहयोगी र पथप्रदर्शकको भूमिकामा जोडिन्छन्। पाकिस्तान पुगिसकेका मिङतेम्बाले यही हिमालमा डोरी टाँग्ने र गाइडको काम गर्दै छन्। भन्छन्, “नेपालमा वसन्त ऋतुमा अन्नपूर्ण सुरुमा चढिएजस्तै पाकिस्तानमा नांगा पर्वतबाट आरोहण सुरु हुन्छ। आरोहणका लागि जुन अन्तिम र जुलाई पहिलो साता उपयुक्त मानिन्छ।” त्यसपछि उनी जी-वान (८,०८० मिटर), जी-टु (८,०२५ मिटर), के टु (८,६११ मिटर) र ब्रडपिक (८,०५१ मिटर) चढ्नेछन्।
यस काममा केही संख्यामा पाकिस्तानी गाइडहरू भए पनि आरोहीहरूले उनीहरूको काममा त्यति भर नगर्ने उनी बताउँछन्। भन्छन्, “आरोहीहरू नेपाली शेर्पाहरूलाई नै विश्वास गर्छन्।”
आरोहीहरूका अनुसार पाकिस्तानमा हिमाल आरोहणका लागि पूर्वाधारको हिसाबले नेपाल जस्तो सुविधा छैन। भारत-पाकिस्तानबीचको परम्परागत तनाव उस्तै रहँदा दुई देशबीच हवाई सेवा बन्द छ। यसको मारमा नेपाली शेर्पा गाइडहरू पनि पर्दै आएका छन्। उनीहरू पाकिस्तान जान नेपालबाट दुबई वा दोहालाई ट्रान्जिट बनाएर इस्लामाबाद पुग्छन्। के टु हिमाल जान त्यहाँबाट एक घण्टाको आन्तरिक उडानबाट स्कर्दु पुग्छन्। करिब चार घण्टा मोटरयात्रापछि बन्जर भूमिमा सात दिन पदयात्रा गरेर ‘के टु’ को आधार शिविर पुग्छन्। “बास बस्ने ठाउँमा नेपालमा जस्तो होटलहरू पाइँदैन। आफैँले टेन्ट गाडेर, खाना पकाएर खाने हो,” मिङतेम्बा भन्छन्।
आठ हजार मिटर अग्ला १४ वटा हिमाल मात्रै नभएर सातै महादेशका अग्ला चुचुराले पनि आरोहीलाई आकर्षित गर्ने गरेको छ। यही अवसर हेरेर विदेशी कम्पनीका साथै नेपाली कम्पनीहरूले पनि ती हिमाल आरोहणको प्याकेज ल्याउने गरेका छन्। जसका लागि नेपाली शेर्पाहरू संसारका विभिन्न हिमाल आरोहणमा गाइडका रूपमा जोडिने गरेका छन्।
मिङतेम्बाले गाइडको काम गर्दै आएको सेभेन समिट ट्रेक्सका एक्सपिडिसन म्यानेजर छाङ दावा शेर्पा यसपटक उनको कम्पनीमार्फत ६० जना आरोही पाकिस्तानका विभिन्न हिमाल चढ्न जाने बताउँछन्। भन्छन्, “नेपालमा सगरमाथा र ल्होत्सेमा ‘रोप फिक्सिङ’ लागि छुट्टै टिम खटाइन्छ, तर अन्य हिमालमा त्यस्तो हुँदैन। त्यहाँ गाइडका रूपमा गएका शेर्पाहरूले नै रोप फिक्सिङ गर्ने र चढ्ने हो।” उनी पाकिस्तानमा नांगा पर्वतबाट आरोहण सुरु हुने र काराकोरम हिमशृंखलाअन्तर्गतका जी-वान, जी-टु, के टु र ब्रड पिकको आरोहणपछि सकिने बताउँछन्।
मिङतेम्बा नांगा पर्वतमा काम सकेपछि त्यहाँबाट ट्रेक गरेरै जी-वान पुग्ने बताउँछन्। “नांगा पर्वतबाट जी-वान, जी-टु, के टु र ब्रड पिकको बेस क्याम्प नजिकै छन्, एकैदिनमा एक स्थानबाट अर्कोमा पुग्छ सकिन्छ। अन्य हिमाल भने अलि टाढा छन्,” उनी भन्छन्।
सेभेन समिटका साथै इम्याजिन नेपालले पनि पाकिस्तानमा आरोहण गराउँछ।
नेपालका उच्च हिमाली शेर्पा गाइडहरू पाकिस्तानका हिमालको आरोहणबाट फर्किएपछि शरद् ऋतुमा नेपालको मनासलु र चीन (तिब्बत)मा हिमाल चढ्ने काम हुन्छ। यस क्रममा गाइडहरू लामो समय घरबाहिरै हुन्छन्। “आरोहणका लागि वर्षको पाँच महिना घरबाहिरै हुन्छु,” मिङतेम्बा भन्छन्, “ पाकिस्तान, चीन र नेपालबाहेक अन्यत्र गएको छैन।” गर्मीभर हिमालतिर भए पनि हिउँदमा उनी घर फर्किन्छन्।
तर, मिकेलको कुरा फरक छ। उनी उत्तरी गोलार्द्धमा हिउँदको समयमा दक्षिण गोलार्द्धतर्फ लाग्छन्। उनको माग दक्षिण अमेरिका, अफ्रिका र अस्ट्रेलियाको अग्ला हिमाल चढ्ने समयमा हुने गरेको छ। उनले अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ (२०२०), युरोपको सबैभन्दा अग्लो रूसस्थित माउन्ट एल्ब्रुस, अस्ट्रेलियाको माउन्ट कोसियस्जकोलगायत हिमालहरूमा माउन्टेन गाइडका रूपमा चढिसकेका छन्। “गर्मी याममा नेपाल, पाकिस्तान र तिब्बततिर हुन्छौँ, हिउँदमा दक्षिण अमेरिका, अफ्रिका र अस्ट्रेलियाका हिमालहरूमा माउन्टनेट गाइडका रूपमा जाने गरेका छौँ,” मिकेल भन्छन्।
पहिले भरियाको काम गर्ने शेर्पाहरू पछि विशेषज्ञ गाइडका रूपमा स्थापित भए। हिमाल आरोहणका क्रममा शेर्पाहरूका नाममा बनेकाे एकपछि अर्को कीर्तिमानले त्यो ब्रान्डलाई झनै बलियो बनायो।
आठ हजार मिटर अग्ला १४ वटा हिमाल मात्रै नभएर सातै महादेशका अग्ला चुचुरोले पनि आरोहीलाई आकर्षित गर्ने गरेको छ। यही अवसर हेरेर विदेशी कम्पनीका साथै नेपाली कम्पनीहरूले पनि ती हिमाल आरोहणको प्याकेज ल्याउने गरेका छन्। जसका लागि नेपाली शेर्पाहरू संसारका विभिन्न हिमाल आरोहणमा गाइडका रूपमा जोडिने गरेका छन्।
उच्च हिमाली गाइडका रूपमा विश्वबजारमा शेर्पा पुग्न थालेको सन् १९७० को दशकदेखि नै हो। सगरमाथाको व्यवसायीकरणको विषयमा लेखिएको पुस्तक एभरेस्ट, इन्क.का अनुसार सन् १९७० मा नवाङ गोम्बु शेर्पालाई अमेरिकी कम्पनी रेनियर माउन्टेनियरिङ इन्क.ले त्यहाँको माउन्ट रेनियरमा गाइड रूपमा काम गराउन लगेको थियो। नवाङले उक्त कम्पनीका तर्फबाट सत्तरी र असीको दशकमा रेनियर हिमाल आरोहणको नेतृत्व गरेका थिए।
मिकेलले अहिलेसम्म आठ हजार मिटर अग्ला धौलागिरी र सिसापाङ्माबाहेक १२ वटा हिमाल आरोहण गरिसकेका छन्। यी हिमाल उनले ३० पटक चढिसकेका छन्। “यति पटक हिमाल चढ्छु भनेर कीर्तिमान बनाउन चढ्ने होइन, हामीले क्लाइन्टलाई चुचुरोसम्म पुर्याउँदा सँगसँगै चढ्ने हो,” उनी भन्छन्। पहिलो पटक सेप्टेम्बर २००९ मा मनास्लु चढेका उनी त्यसै वर्षको अक्टोबरमा चोयु चढेका थिए। सन् २००८ मा मनासलु चढेपछि उनको आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण सुरु भएको थियो। “६ र ७ हजार मिटर अग्ला हिमाल त कति चढेँ, अहिले भन्न सक्दिनँ,” मिकेल भन्छन्।

सगरमाथामा डोरी टाँग्दै उच्च हिमाली गाइडहरू। तस्बिर : सेभेन समिट ट्रेक्स
अन्तर्राष्ट्रिय रूपमा नाम चलेका अर्का माउन्टेन गाइड हुन्, फुनुरु शेर्पा। उनले अमेरिकी कम्पनी इन्टरनेसनल माउन्टेन गाइड्स (आईएमजी)का लागि संसारभरका हिमाल आरोहणमा पथप्रदर्शक भएर काम गर्दै आएका छन्। एभरेस्ट, इन्क. पुस्तकमा लेखिएको छ, ‘फुनुरु सगरमाथामा सबैभन्दा बढी माग गरिने गाइड मात्र होइनन्, बरु आईएमजीका ग्राहकहरूबाट उनलाई निजी गाइडका रूपमा अकोन्कागुआ (अर्जेन्टिना), किलिमन्जारो (तान्जानिया) र डेनाली (अमेरिका) जस्ता सातै महादेशका शिखर चढ्नका लागि प्रस्ताव आउने गरेका छन्।’
मिङतेम्बा सन् २०१९ देखि पाकिस्तानमा प्रत्येक वर्ष आरोहणमा संलग्न रहँदै आएका छन्। “६ वर्षदेखि बर्सेनि के टुको आरोहणमा जाने गरेको छु, यस क्रममा चार पटक त्यो हिमाल चढेँ,” उनी भन्छन्, “दुई पटक जाँदा क्लाइन्ट अघि बढ्न नसकेपछि मैले पनि बिचमै आरोहण त्याग्नुपर्यो।”
सन् २०१६ को शरद् ऋतुमा मनासलुबाट आरोहण सुरु गरेका मिङतेम्बाले आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका छन्। “सुरुसुरुमा हिमाल चढ्दा निकै खुसी लाग्थ्यो, अहिले त त्यस्तो खासै लाग्दैन। जागिर भयो नि त!” उनी भन्छन्।
जोखिम मोल्ने साहस, कडा परिश्रम, व्यावसायिकता र प्राकृतिक रूपमै बलियो हुनाले शेर्पा आज विश्वभर एक प्रतिष्ठित ब्रान्डका रूपमा स्थापित भएको छ। जसका कारण संसारभर उच्च हिमालको आरोहण गर्दा शेर्पा खोज्न थालिएको छ।
उच्च हिमाली गाइडका रूपमा काम गर्ने शेर्पाहरूले पर्वतारोहण गराउने कम्पनीहरूबाट राम्रो पैसा लिने गरेका छन्। त्यसमा पनि सगरमाथा र के टु आरोहण गर्ने गाइडहरूले ठूलो रकम पाउने गरेका छन्। नयाँ गाइडले एक पटकको आरोहणको चार हजारदेखि पाँच हजार अमेरिकी डलर पाउँछन् भने १० वर्षजति अनुभव भएको गाइडले सातआठ हजार डलर पाउँछन्।
शेर्पाहरू नेपालका हिमालमा मात्रै सीमित नभई पाकिस्तान, चीन, अमेरिका, अन्टार्कटिका, अर्जेन्टिना, तान्जानिया र फ्रान्स जस्ता देशमा व्यावसायिक हिमाल आरोहणका लागि पुग्ने गरेको बताउँछन्।
सन् १९५३ मा भएको पहिलो सगरमाथा आरोहणमा एडमन्ड हिलरीसँगै तेन्जिङ नोर्गे शेर्पा गएपछि विश्वले पहिलो पटक शेर्पाका बारेमा जानकारी पायो। पहिले भरियाको काम गर्ने शेर्पाहरू पछि विशेषज्ञ गाइडका रूपमा स्थापित भए। हिमाल आरोहणका क्रममा शेर्पाहरूका नाममा बनेको एकपछि अर्को कीर्तिमानले त्यो ब्रान्डलाई झनै बलियो बनायो।
जोखिम मोल्ने साहस, कडा परिश्रम, व्यावसायिकता र प्राकृतिक रूपमै बलियो हुनाले शेर्पा आज विश्वभर एक प्रतिष्ठित ब्रान्डका रूपमा स्थापित भएको छ। जसका कारण संसारभर उच्च हिमालको आरोहण गर्दा शेर्पा खोज्न थालिएको छ। जीविकाका लागि ज्यान जोखिममा राखेर उच्च हिमाली गाइडको पेसा अँगाल्दै आउँदा उनीहरू हिमाल आरोहणमा निर्विकल्प बन्न पुगेका छन्। विश्वमा जहाँ जहाँ हिमाल छन्, त्यहाँ शेर्पा पुग्नु अनिवार्य भएको छ।
जोखिमपूर्ण काम
हिमालमा डोरी टाँग्ने काम जोखिमपूर्ण मानिन्छ। दक्ष गाइडहरू छाने पनि उच्च भूभागमा काम गर्नु संसारकै जोखिमपूर्ण काममध्ये पर्छ। सन् २०१३ मा अमेरिकी म्यागेजिन आउटसाइडमा प्रकाशित लेखअनुसार सगरमाथा बेसक्याम्पभन्दा माथि काम गर्ने शेर्पाहरूको मृत्युदर १.२ प्रतिशत छ। अर्थात्, उच्च हिमाली भेगमा काम गर्ने क्रममा हजार जनामा १२ जनाको मृत्यु हुन्छ।
सो म्यागेजिनले उच्च हिमाली भेगमा काम गर्ने शेर्पाहरूलाई अमेरिकाका सबैभन्दा जोखिमपूर्ण पेसा मानिने माछा मार्ने काम र इराक युद्धमा खटाइएको अमेरिकी स्थलसेनाको जोखिमसँग तुलना गरेको छ। शेर्पाको काम माछा मार्नेभन्दा १० गुणा बढी र इराकमा परिचालित स्थलसेनाको मृत्यु हुने जोखिमभन्दा चार गुणा बढी भएको म्यागेजिनले जनाएको थियो। हिमालसम्बन्धी अभिलेख राख्ने वेबसाइट हिमालयन डेटाबेसका अनुसार आरोहण सुरु भएको सन् १९२१ देखि २०२५ सम्म सगरमाथामा मृत्यु वा बेपत्ता हुनेको संख्या ३४४ छ। मृत्यु भएकामध्ये १३७ जना नेपाली छन्, जसमध्ये १११ जना शेर्पा थरका छन्।
हिमाल आरोहणमा जानेहरूले हिमपहिरो, चट्टान खस्ने र हिमखाडल, हाई अल्टिच्युडको सामना गर्नुपर्छ। आठ हजार मिटरभन्दा अग्ला हिमालमा मृत्युको प्रमुख कारण हिमपहिरो रहेको हिमालयन डेटाबेसको तथ्यांकले देखाउँछ। अन्य हिमालभन्दा पाकिस्तानको के टु सबैभन्दा जोखिमपूर्ण मानिन्छ। “चढ्नका लागि सबैभन्दा जोखिमपूर्ण के टु हो। त्यसको सात हजार मिटरसम्म चट्टान छ, त्यहाँ ढुंगा खस्छ। त्यसभन्दा माथि हिमपहिरो जान्छ,” चार पटक के टु आरोहण गरिसकेका मिङतेम्बा भन्छन्, “प्रत्येक वर्ष यहाँ ढुंगा र हिमपहिरोमा परेर आरोही घाइते हुने र मारिने गरेका छन्।” बढी जोखिम र मानवीय क्षति हुने भएकाले के टुलाई ‘किलर माउन्टेन’ पनि भनिन्छ।
विगतमा यो आरोहीहरूका लागि राष्ट्रिय गौरव बढाउने कुरा थियो, पछिल्लो समय धनाढ्यहरूको सोख पूरा गर्ने विषय बन्न पुगेको छ। शेर्पाहरूका लागि भने हिमाल आरोहणको यही जोखिम र चुनौतीको कर्म-पेसा हो।
उच्च हिमाली क्षेत्रमा अन्यले भन्दा शेर्पा गाइडहरूले लामो समय बिताउँछन्। एकै सिजनमा पनि उनीहरू जोखिमपूर्ण स्थानबाट दर्जनौँ पटक आउजाउ गर्छन्। मिङतेम्बाकै कुरा गर्दा यसपालि उनले दुई साताभित्रै दुई पटक सगरमाथा आरोहण गरे। यस सिजनमा ३० वैशाखमा पहिलो आरोहण गरेका उनले १४ जेठमा दोस्रो पटक शिखर चुमेका थिए। दोस्रो पटकको आरोहणमा उनको साथमा विश्वप्रसिद्ध नर्वेजियन आरोही क्रिस्टिन हरिला थिइन्। हरिलाले आठ हजार मिटर अग्ला १४ वटै हिमाल छोटो समयमै आरोहण गरेको कीर्तिमान बनाएकी छिन्।
सगरमाथाको दुई आरोहणकै बीचमा मिङतेम्बाले हरिलासँग संसारकै चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) र नुप्से (७,८६१ मिटर) चढेका थिए। “आठ हजार मिटर अग्लो हिमाल चढेर फर्केपछि एकदिन आराम गर्न पाएँ भने अर्को हिमाल चढ्न तयार भइहाल्छु,” मिङतेम्बा भन्छन्।
हिमालअनुसार जोखिमको अवस्था फरक फरक हुने भए पनि आठ हजार मिटरभन्दा अग्लो स्थानलाई ‘डेथ जोन’ भन्ने गरिएको छ। कठिन भौगोलिक अवस्थिति, अक्सिजनको कमी र छिनछिनमा परिवर्तन हुने मौसमले आरोहणलाई कठिन मात्र बनाउँदैन, दुर्घटनाले ज्यानै जान सक्छ। न्यून अक्सिजनको कारण मानिसको अंगले काम गर्न छाड्छ। तर, जोखिमका बीच हिमालको चुलीले आरोहीलाई आकर्षित गर्छ। विगतमा यो आरोहीहरूका लागि राष्ट्रिय गौरव बढाउने कुरा थियो, पछिल्लो समय धनाढ्यहरूको सोख पूरा गर्ने विषय बन्न पुगेको छ। शेर्पाहरूका लागि भने हिमाल आरोहणको यही जोखिम र चुनौतीको कर्म-पेसा हो।