काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

मौसम

एल निनो र पश्चिमी वायुको असरले मनसुन भित्रिन ढिलाइ हुँदा नेपालमा वर्षा अनिश्चित

३ असार २०८३
छाता ओढेका बटुवा। तस्बिर : नेपाल फोटो लाईब्रेरी
अ+
अ-

यस वर्ष नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ। माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले मनसुन सुरु गराउने प्रणाली अझै विकास भइनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले सोमबार विज्ञप्ति जारी गर्दै प्रशान्त महासागरमा विकसित एल निनो र पश्चिमी वायुको सक्रियताले मनसुन आगमनमा असर पार्न सक्ने जनाएको हो। विभागका अनुसार यसअघि पनि एल निनो प्रभाव देखिएका वर्षहरू सन् २०१६, २०१९ र २०२३ मा नेपालमा मनसुन सरदरभन्दा ढिला भित्रिएको थियो।

नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो। गत वर्ष भने मनसुन सरदर मितिभन्दा १५ दिनअघि नै भित्रिएको थियो र यो समयमा देशभर फैलिइसकेको थियो।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार समुद्री सतहको तापक्रम सरदरभन्दा बढी हुँदा विश्वव्यापी वायुमण्डलीय प्रणालीमा असर पर्छ, जसले दक्षिण एसिया र नेपालमा मनसुन गराउने प्रणाली कमजोर बनाउन सक्छ।

पोखरेल भन्छिन्, “समुद्री सतहको तापक्रम बढ्दा समग्र वायुमण्डलीय प्रणालीमा प्रभाव पर्छ। त्यसले नेपाल र दक्षिण एसियामा मनसुन गराउने प्रणालीलाई कमजोर बनाउन सक्छ।”

भू-उपग्रहबाट प्राप्त तथ्यांक र गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुने समयमै प्रशान्त महासागरमा विकसित एल निनोको प्रभाव देखिन सक्ने सम्भावना रहेको उनको भनाइ छ। तर, मनसुन आगमनमा ढिलाइको कारण एल निनो मात्र नभएको उनी बताउँछिन्। “नेपालमा पश्चिमी र स्थानीय वायुको पनि प्रभाव रहन्छ। सबै एल निनो वर्षमा मनसुन ढिलो हुन्छ भन्ने हुँदैन,” पोखरेल भन्छिन्, “हामी निरन्तर अवलोकनमा छौँ।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक  मदन सिग्देलका अनुसार मनसुन भित्रिएको मान्न दुईतीन दिन लगातार वर्षा हुनुपर्छ र पूर्वी वायुको प्रभाव स्पष्ट देखिनुपर्छ।

उनका अनुसार तत्काल मनसुन सुरु हुने मौसमी प्रणाली विकास भइसकेको छैन। बंगालको खाडीबाट नेपालमा मनसुन भित्र्याउने गतिविधि हालसम्म स्पष्ट देखिएको छैन। पश्चिमी र स्थानीय वायुको प्रभावले कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यमसम्म वर्षा भइरहे पनि त्यसले मनसुन आगमनलाई संकेत नगर्ने उनको भनाइ छ।

“मनसुन पूर्वी नेपाल हुँदै भित्रिँदा त्यस क्षेत्रको ठूलो भूभागमा वर्षा मापन हुनुपर्छ,” उनी भन्छिन्, “सोमबार कोसी प्रदेशका तराई क्षेत्रमा केही वर्षा मापन भयो, तर ताप्लेजुङ र ओखलढुंगामा वर्षा भएन। मनसुनी प्रणाली सक्रिय भएको भए पूर्वी पहाडमा पनि तत्काल प्रभाव देखिनुपर्थ्यो।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक  मदन सिग्देलका अनुसार मनसुन भित्रिएको मान्न दुईतीन दिन लगातार वर्षा हुनुपर्छ र पूर्वी वायुको प्रभाव स्पष्ट देखिनुपर्छ।

तर, हालै विकसित एल निनोका कारण अहिले नै नेपालमा मनसुन आगमन अवरुद्ध भएको भन्न नमिल्ने उनको तर्क छ। प्रशान्त महासागरमा विकसित एल निनोको प्रभाव नेपालसम्म आइपुग्न समय लाग्ने भएकाले यसको प्रभाव मुख्यतः जुलाई र अगस्टमा देखिन सक्ने उनी बताउँछन्।

“एल निनोको प्रभाव देखिन समय लाग्छ। त्यसमा बंगालको खाडी हुँदै प्रणाली फैलिने प्रक्रिया पनि हुन्छ,” सिग्देल भन्छन्, “नेपालमा एल निनोको प्रभाव जुलाई र अगस्टमा बढी देखिने हो, अहिले होइन।”

उनका अनुसार अहिले मनसुन भित्रिन ढिलाइ हुनुको प्रमुख कारण पश्चिमी वायुको सक्रियता हो। भारतको दक्षिणी राज्य केरलामा ४ जुनमै मनसुन भित्रिए पनि नेपालसम्म आइपुग्न ढिलाइ भइरहेको छ। तल्लो वायुमण्डलमा पूर्वी हावा सक्रिय हुन थाले जस्तो देखिए पनि माथिल्लो वायुमण्डलमा पश्चिमी वायुकै प्रभाव बलियो रहेकाले मनसुनी प्रणाली विकसित हुन नसकेको उनको भनाइ छ।

माथिल्लो वायुमण्डलमा पूर्वी वायु बलियो भएपछि मात्र मनसुनी प्रणाली नेपाल भित्रिने सिग्देल बताउँछन्। उनले आगामी शनिबारसम्म पश्चिमी वायु कमजोर भई मनसुनी प्रणाली नेपालतर्फ सर्न सक्ने आकलन गरेका छन्।

मौसम विज्ञान विभागले मनसुन आगमनमा ढिलाइ हुने बताए पनि कहिले भित्रिन्छ भन्ने औपचारिक पूर्वानुमान गरेको छैन।

मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन भित्रिन ढिलाइ हुँदा देशभर फैलिन पनि समय लाग्न सक्छ। उनका अनुसार आगामी साताभित्र मनसुन भित्रिने सम्भावना देखिए पनि केही मौसम पूर्वानुमान मोडलले पश्चिम नेपालसम्म मनसुन पुग्न १६-१७ असारसम्म लाग्न सक्ने संकेत गरेका छन्।

पोखरेलका अनुसार १५ साउनसम्म कोसीदेखि गण्डकी प्रदेशसम्म सरदरभन्दा बढी वर्षा हुन सक्छ। तर, कर्णाली र सुदूरपश्चिममा पूरै मनसुन अवधिभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। १५ साउनपछिको अवधिमा भने देशभर औसतभन्दा कम वर्षा हुने आकलन गरिएको छ।