विश्व संगीत दिवस (२१ जुन)
फरक पृष्ठभूमिका मानिसहरूको संगीत श्रवण अनुभव
मानिसका दैनिक गतिविधिले उनीहरूको भावना, स्मृति वा पहिचान निर्माण र व्यवस्थापन गरिरहेको हुन्छ। संगीत यस प्रक्रियाको महत्त्वपूर्ण माध्यम हो। संगीत श्रवण संसारभरिका मानिसको निजी र सामाजिक क्रिया पनि हो। यस प्रक्रियामा स्रोताको निजी र सामाजिक पहिचानसमेत निर्माण भइरहेको हुन्छ।
म्युजिक इन एभ्रिडे लाइफकी लेखक तथा संगीत अध्येता टिया डिनोराको मतअनुसार संगीत मान्छेको स्वनिर्माण र आत्मव्यवस्थापनको प्रभावकारी स्रोत हो। संगीतको शक्ति वा अर्थ धुन र शब्दमा मात्र नभई मानिसहरूले त्यसलाई आफ्नो जीवनमा कसरी प्रयोग गर्छन् भन्ने सम्बन्धले निर्धारण गरिरहेको हुन्छ।
मानिसहरूले संगीतलाई आफ्नो जीवनमा कसरी प्रयोग गर्छन्? उनीहरू किन र कसरी संगीत सुन्छन्? उनीहरूले संगीतसँग कसरी अन्तक्रिया गर्छन्? मान्छेका गतिविधि, अनुभव, भावनासँग संगीत कसरी जोडिन्छ? र, संगीतसँगको आफ्नो सम्बन्धलाई उनीहरू कसरी अर्थ्याउँछन्?
विश्व संगीत दिवसको सन्दर्भ पारेर हामीले यी प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौँ। यसका लागि विभिन्न पृष्ठभूमिका स्रोताको जवाफ यहाँ जस्ताको तस्तै राखेका छौँ।
भीममाया तामाङ
बाल्यकालमा स्कुल जान नपाएको मैले अक्षर चिन्न पाइनँ। पढ्न नपाए पनि रेडियोमा बज्ने गीतहरूले आकर्षित गर्थ्यो । रेडियोमा बज्ने लोकगीत विशेष मन पर्छ। शान्त खालका गीतहरू पनि सुन्न रुचाउँछु। ती गीतमा कसैले आफ्नै जीवनका दुःखसुख पोरिखरहेझैँ लाग्छ। गीतमार्फत भनिदिएको जस्तो लाग्छ।

थापाथलीमा सानो खुद्रा पसल चलाउने मेरा लागि संगीत समय कटाउने साथी हो। कुराकानी गर्ने साथी नभएको बेला गीतमा हराउँदा एक्लो भएको भुल्छु म। खाना पकाउँदा, लुगा धुँदा वा अन्य घरायसी काम गर्दा गीत बजाउँदै काम गर्छु। गीत सुन्दै काम गर्दा, कतिखेर काम सकियो थाहै हुँदैन।
पहिला रेडियोमा जुन गीत बज्यो, त्यही सुन्नुपर्थ्यो । अचेल मोबाइलमा आफैँ गीत छानेर सुन्न सक्छु। कलाकार खासै चिन्दिनँ, तर गायक-गायिकाको फोटो हेरेर गीतहरू छान्छु। विष्णु माझीका गीतहरू धेरै सुन्छु। उनका गीतमा मैले भन्न खोजेको वा भन्न नसकेको कति धेरै कुरा पाउँछु। त्यस्तो बेला लाग्छ, यो गीतले मेरै मनको कुरा भन्दै छ।
किताब पढ्न नजान्ने म जस्तो मान्छेलाई गीतले एउटा अलग्गै संसारसँग जोडेको छ। नपढ्ने मान्छेको भाषा समेत बोल्ने भएकोले नै मैले संगीत सुनेर रमाउन पाएँ।
स्वस्तिका माझी
म प्रायः आफ्नो मुडअनुसार गीत संगीत छनोट गर्छु। आफ्ना अनुभव वा भावनासँग मेल खाने गीतहरू मेरो प्राथमिकतामा पर्छ।
दुःखी वा एक्लो महसुस भएको बेला भावनात्मक तथा मर्मस्पर्शी गीतहरू सुन्न मन लाग्छ। यस्ता गीत सुन्दा शान्ति र आनन्द मिलेको अनुभव हुन्छ। संगीतले भावनात्मक राहत दिन्छ।

उत्साहित वा खुसी भएको समयमा पप, बलिउड वा र्याप सुन्छु। गीतका शब्द र संगीत मेरो भावनामा गहिरो प्रभाव छोडेजस्तो लाग्छ। मलाई लाग्छ, संगीतले मेरो मनोदशा परिवर्तन गर्न र भावनाहरू व्यवस्थित गर्न मद्दत गर्छ।
गीतले परिवार, समाज, वातावरण, देशका समस्या वा विभिन्न सामाजिक विषयबारे कुरा गर्छ। अरूको नकारात्मक प्रतिक्रियाबाट प्रभावित नभई आफ्नै जीवनमा केन्द्रित हुन र आफूलाई सकारात्मक ढंगले अगाडि बढ्न प्रेरित बिटिएसका गीतहरू मेरो प्लेलिस्टमा धेरै बज्छ। ती गीतले आफ्नो अनुभूति बुझ्न, व्यक्त गर्न र कहिलेकाहीँ कठिन अवस्थाबाट बाहिर आउन पनि सहयोग गर्छ।
काम गर्दा, यात्रा गर्दा वा पढ्ने बेलासमेत म संगीत सुन्ने गर्छु। संगीतले ध्यान केन्द्रित गर्न मद्दत गर्छ र पढेको कुरा अझ राम्रोसँग दिमागमा बस्छ। संगीतले भावनात्मक रूपमा मात्र होइन, मानसिक र शारीरिक रूपमा पनि सकारात्मक प्रभाव पारिरहेको हुन्छ। मेरो जीवनमा संगीत भएन भने म भावनात्मक रूपमै रित्तो हुन्छु।
उमेश आचार्य
मेरो दिनको सुरुआत नै संगीतबाट हुन्छ। शिवभक्त भएकोले म शिव भजन धेरै सुन्छु। सेक्युरिटी गार्डको काम गर्ने भएकोले रातिको ड्युटी भएको बेला मोबाइलबाट युट्युबमा गीतहरू सुनेर समय बिताउँछु।

जब म खुसी हुन्छु तब लोकगीतहरू सुन्छु। विशेष गरी इन्द्रेणी कार्यक्रममार्फत प्रस्तुत हुने लोकगीतहरू मलाई धेरै मन पर्छन्। ती गीतमा गाउँघरको संस्कृति, जीवनशैली र नेपालीपन झल्किने भएकाले सुन्न रमाइलो लाग्छ।
अलि दुःखी भएको बेला वा जीवनका कुनै घटनाले छोएको बेला म नारायण गोपाल, भक्तराज आचार्य जस्ता गायकका सेन्टी गीतहरू सुन्छु। अनि, एक प्रकारको शान्ति र सन्तुष्टि महसुस हुन्छ।
संगीतले तनाव, चिन्ता वा थकानबाट केही समयका लागि टाढा लैजान्छ। एकछिनका लागि भए पनि मनको बोझ घटाउँछ।
कुमारी दनुवार
म क्याफेमा काम गर्छु जहाँ चिया खाजा बनाउनु पर्छ। काममा व्यस्त हुँदा संगीत बजाएर काम गर्न रमाइलो लाग्छ। चञ्चल र रमाइलो खालका गीतहरू सुन्दै काम गर्दा कामको दबाब भुलिरहेको हुन्छु।

घरमा सुत्ने बेलामा शान्त र स्लो गीतहरू मेरो रोजाइमा पर्छ। ती गीत संगीतले दिनभरिको थकान मेटाउँछ र म आनन्दले निदाउँछु। फुर्सदको समयमा संगीत सुन्न नपाउने हो भने दिनचर्या नै खल्लो हुन्छ।
पाण्डव खड्का
मान्छे गीत सुनेर कहिल्यै थाक्दैन, म पनि थाक्दिनँ। मनोदशा जस्तो छ, त्यस्तै गीत सुन्दा गीतसँग बढी जोडिएको जस्तो लाग्छ। रमाइला क्षणमा लोकगीत र गम्भीर हुँदा आधुनिक गीतहरू सुन्दा छुट्टै आनन्द आउँछ। संगीतले सुख होस् वा दुःख दुबै बढाइदिन्छ।

सेन्टिमेन्टल गीतमा कसैको पीडा, अनुभव र संघर्ष भनिएको हुन्छ। त्यसबेला आफू मात्र दुःखमा छैन रहेछु, अरूले पनि यस्तै अनुभूति भोगेका रहेछन् भन्ने लाग्छ। आफ्नै भावनासँग मिल्ने गीत संगीत मेरा लागि दुःख बाँड्ने साथीजस्तै हो।
उमेर बढ्दै जाँदा, भेट्ने बोल्ने साथीभाइ नहुँदा, समय कटाउन गाह्रो भएको भरपर्दो साथी भनेकै संगीत हो। संगीतले एक्लो मान्छेलाई पनि एक्लै हुन दिँदैन। जीवनमा धेरै कुराको विकल्प होला, तर संगीतले दिने अनुभूतिको विकल्प सहजै भेटिँदैन।
रन्जु विष्ट
मेरो डिभाइसमा तपाईँले नेपाली, हिन्दी, उर्दू, अङ्ग्रेजी, इरानी र कोरियाली भाषाका गीतहरू पाउनुहुन्छ। त्यसबाहेक मेरो विशेष रुचि फिल्मका साउन्डट्रयाकमा पनि छ। म प्रायः भाँडा माझ्ने बेला आफूले गाउन सक्ने गीतहरू बजाउँदै संगीत सुन्छु।
पेसाले अनुसन्धानकर्ता हुँ र अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थी पनि। धेरै पढ्ने, लेख्ने र सोच्नुपर्ने भएकाले मेरो काममा एकग्रता आवश्यक पर्छ। त्यसैले आजकल भाँडा माझ्ने समयबाहेक संगीतसँग मेरो भेटघाट प्रायः संयोगवश नै हुन्छ। बिहान अलार्म बज्दा, दिदीले बजाउने भजन सुन्दा, बिहान साग बेच्ने दिदीले लय हालेर “साग आयो साग” भन्दै हिँड्दा, वा कुराकानीका क्रममा गीत–संगीतको प्रसङ्ग उठ्दा, यस्तै साना-साना क्षणहरूमा संगीत मेरो दिनचर्यामा आइपुग्छ।
धेरै वर्षअघि एकजना संगीततकर्मीले राग भावनामा कसरी केन्द्रित हुन्छ भनेर बताउनुभएको थियो। संगीतमा असाधारण शक्ति हुन्छ भन्ने बुझाइ त्यसबेलादेखि अझै बलियो भयो।
नैराश्यको चरम अवस्थाको एउटा समयमा म दिनभरिमा जम्मा सय शब्द पनि बोल्दिनथेँ होला। के बोल्ने, के नबोल्ने भन्ने अन्योलले घेरिरहन्थ्यो। गीत वा कलाका अन्य माध्यम व्यक्तिगत वा सामूहिक रूपमा आफूलाई अभिव्यक्त गर्ने माध्यम हो। त्यो समयमा मैले आफ्नो मनको अवस्था बुझ्न र बुझाउन एउटा संस्कृतिको संगीतको सहारा लिएँ। भक्ति र आध्यात्मिक अनुभूतिका लागि अर्को संस्कृतिको संगीततर्फ आकर्षित भएँ।
म संगीतलाई आफूभित्रको ऊर्जा संसारलाई दिने र संसारको ऊर्जा आफूले ग्रहण गर्ने माध्यमका रूपमा बुझ्छु। यसले कहिलेकाहीँ शब्दले नसक्ने संवाद सम्भव बनाइदिन्छ। मलाई लाग्छ, संगीतविहीन मानिस पूर्ण अर्थमा मानिस रहँदैन, किनकि यो केवल ध्वनि होइन। यसमा मानवीय अनुभूति, स्मृति, सम्बन्ध र अभिव्यक्तिको अद्भुत सम्मिश्रण छ।
शर्मिला थापा
हामी हाँस्दा, नाच्दा वा रुँदा जुनसुकै अवस्थामा संगीत कतै न कतै हाम्रै साथमा हुन्छ। मानिसलाई जीवनका हरेक क्षणसँग जोड्ने माध्यम हो, संगीत।

हामीले सोझै भन्न नसकेका कुरा गीतमार्फत व्यक्त गर्छन्। त्यही कुराले हामी संगीतसँग जोडिन्छौँ। त्यसमै आफ्ना भावना, पीडा, प्रेम, आशा वा संघर्ष भेट्टाउँछौँ।
म पेप्सीकोलामा चिया क्याफे सञ्चालन गर्छु। सर्लाहीबाट काठमाडौँ आएर एक्लै संघर्ष गर्ने क्रममा जीवनमा धेरै पटक हताश भइयो। ती निराश दिनहरूमा संगीतले कहिले साथ छोडेन। हाँस्न मन लाग्दा होस् वा रुन मैले संगीतको सहारा लिएँ। मेरो निजी जीवनमा जस्तै मेरो व्यवसायमा समेत संगीतले साथ दिइरहेको छ। क्याफेममा आउने थुप्रै ग्राहकसँग संगीतकै कारण कुराकानी लम्बिन्छ। भावनात्मक सम्बन्ध गाँसिन्छ। व्यावसायिक हिसाबले भन्ने हो भने, संगीतले सेवा दिने र सेवा लिने दुवै पक्षको मुड बनाउने कामसमेत गर्छ।
सुरज सुवेदी
मलाई शब्द बलियो भएका गीतहरू सुन्न मन पर्छ। खाना बनाउँदा वा भाँडा माझ्दा स्पटिफाइमा र्यान्डम रूपमा गीत बजाउँछु। त्यसबेला कुनै गीत स्किप नगरी सुन्छु। मोबाइल वा ल्यापटप चलाइरहेको बेला भने कुन गीत सुन्ने भन्ने निश्चित गर्छु। हिँडिरहेको बेला चाहिँ गीत स्किप पनि गर्छु।

लेखन पेसामा भएकाले लामो समय एउटै पाठमा काम गर्दा झर्को लाग्ने हुन्छ। थाहै नपाई थकान पनि महसुस हुन्छ। त्यस्तो बेला केहीबेर गीत सुन्न पाएँ भने फेरि आफ्नो स्वाभाविक अवस्थामा फर्किएजस्तो लाग्छ। लेखनको काम धेरै हदसम्म एक्लो काम पनि हो। त्यस्तो बेला गीत–संगीत साथीझैँ भइदिन्छ। आफूलाई भइरहेको भावना कसैले बुझेको जस्तो लाग्छ। आफूले सुन्न चाहेको कुरा गीतले आएर भनिदिएको जस्तो हुन्छ।
‘सबटेक्स्ट विथ सुरज’ मा काम गर्न थालेपछि त गीतका शब्दहरूलाई अझ बढी ध्यान दिएर सुन्न थालेको छु। पहिले मेरो लागि संगीत दिनचर्याको एउटा अभिन्न हिस्सा थियो। कहिले बिहानै उठेर, कहिले राति सुत्ने बेला कसैको जुकबक्स बजाउँदै सुन्ने र सुन्दै निदाउने बानी थियो। त्यो एउटा सधैँ सँगै रहने साथीजस्तो थियो। यदि त्यो नहुने हो भने मेरो दिनचर्याको एउटा पाटो सधैँ खल्लो हुने थियो।
गीत–सङ्गीत मेरो लागि साहित्यसम्म पुग्ने एउटा माध्यम पनि हो। आफू रचनात्मक क्षेत्रमा भएकाले गायक, गीतकार, सङ्गीतकार, एरेन्जर तथा अन्य सबै संगीतकर्मीहरूको श्रम र सिर्जनाले बनेका गीत सुन्नु भनेको उहाँहरूको रचनात्मक प्रक्रियाको नजिक पुग्नु जस्तो लाग्छ। मेरो दिनचर्यामा गीत–संगीत नहुने हो भने त्यो सामीप्य छुट्ने थियो।
मोहित मुनाल
म विज्ञापन, जिंगल बनाउनदेखि संगीत संयोजनसम्मका काम गर्छु। कामकै सिलसिलामा फरक फरक विधाका संगीत सुन्छु। मलाई लोकदोहोरी, आधुनिकदेखि, हेभी मेटल, रक सबै विधा मन पर्छ। रक पप अलि बढी मन पर्छ। म संगीत सुन्ने भन्दा पनि संगीतमै बाँचिरहेको हुन्छु।

संगीत भएन भने सायद भावनात्मक रूपमा म एकदम रित्तो हुन्छु। सिर्जनात्मक रूपमा पनि भुत्ते हुन्छु। किनकि, मेरा लागि संगीत यस्तो भाव हो जसमा डुबेर हामी रमाउन सक्छौँ, आफ्नो पीडा भुल्न सक्छौँ, थकान मेटाउन सक्छौँ र एक्लोपन घटाउन सक्छौँ।
अफिसबाहेक घरमा पनि म छोरालाई पियानो सिकाउँछु। त्यतिबेला संगीतले म र मेरो परिवारका सदस्यलाई जोड्ने काम गरेको छ।