काठमाडौं। फिफा विश्वकप २०२६ मा दक्षिण अफ्रिकाका लागि खेलेका मिडफिल्डर जेडेन एडम्सको निधन भएको छ। विश्वकपमा दक्षिण अफ्रिकालाई पहिलो पटक नकआउट चरणसम्म पुर्याउन योगदान दिएका एडम्सको २५ वर्षको उमेरमै निधन भएको हो।
दक्षिण अफ्रिकाको खेल, कला तथा संस्कृति मन्त्रालयले शनिबार एडम्सको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई देशका सबैभन्दा प्रतिभाशाली युवा फुटबलरमध्ये एकको रूपमा स्मरण गरेको छ।
दक्षिण अफ्रिकी प्रहरीले केपटाउनको स्कोट्सचेकलोफ क्षेत्रमा रहेको एक घरमा उनको शव फेला परेपछि अनुसन्धान सुरु गरेको जनाएको छ। यद्यपि एडम्सको मृत्युको कारण अझै पुष्टि नभएको भन्दै मन्त्रालयले सञ्चारमाध्यम र सर्वसाधारणलाई कुनै पनि अनुमान नगर्न तथा परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।
एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाका तीनवटै समूह चरणका खेल खेलेका थिए। प्रतियोगितामा दक्षिण अफ्रिका पहिलो पटक नकआउट चरण पुगे पनि राउन्ड अफ ३२ मा सह–आयोजक क्यानडासँग पराजित भएको थियो।
विश्वकपकै क्रममा समूह चरणमा चेक गणतन्त्रविरुद्धको खेल सुरु हुनुभन्दा केही घण्टाअघि आफ्नी हजुरआमाको निधन भएको खबर पाए पनि उनले टोलीका लागि मैदान उत्रिएका थिए।
दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले एडम्सको असामयिक निधनलाई देशको फुटबलका लागि अपूरणीय क्षति भएको जनाएको छ। सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका उनले क्लब फुटबलमा स्टेलेनबोस एफसीबाट व्यावसायिक यात्रा सुरु गरेका थिए। सन् २०२५ को जनवरीमा उनी मामेलोडी सन्डाउन्समा आबद्ध भएका थिए।