भक्तपुर। भक्तपुरको ऐतिहासिक तथा प्रख्यात सिद्धपोखरीको स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तीव्र रूपमा भइरहेको छ।
पोखरीको संरक्षण, पुनःसंरचना र सौन्दर्य अभिवृद्धिका लागि विभिन्न निर्माण तथा व्यवस्थापनका काम भइरहेको सिद्धपोखरी पुनर्निर्माण उपभोक्ता समितिले जनाएको छ।
यसअघि काठमाडौँको रानीपोखरीलगायत ऐतिहासिक पोखरीहरूको पुनर्निर्माण तथा संरक्षण कार्यमा अनुभव हासिल गरिसकेका दक्ष जनशक्ति सिद्धपोखरी पुनर्निर्माणमा संलग्न रहेको उपभोक्ता समिति अध्यक्ष कृष्णबहादुर दुगुजूले जानकारी दिए।
उनका अनुसार सम्पूर्ण कार्य आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्य छ। उनले पुनर्निर्माणका क्रममा देखिएका विभिन्न समस्या समाधान गर्दै झन्डै ५० प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिए।
निर्माण सहज बनाउन सिद्धपोखरीको पानी नजिकै रहेको भाज्यपुखुमा राखिएको छ। सिद्धपोखरीमा रहेका माछाहरूलाई पनि सुरक्षित रूपमा भाज्यपुखुमा सारिएको छ। १३औँ शताब्दीको सुरुतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै पुराना र ठूला मानव-निर्मित पोखरीमध्ये एक मानिन्छ।
