रोयटर्स । अमेरिका र इरानबीच शान्ति वार्ता आइतबार स्विट्जरल्यान्डमा सुरु हुने तयारी भइरहेका बेला अमेरिकाले रणनीतिक महत्वको होर्मुज जलडमरूमध्य बन्द गरिएको भन्ने इरानी दाबीलाई अस्वीकार गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकासँग हुने शान्ति वार्ताका लागि इरानका उच्चस्तरीय अधिकारीहरू स्विट्जरल्यान्ड पुगेका छन्। उता अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्तासम्बन्धी बैठकमा सहभागी हुन वासिङ्टनबाट प्रस्थान गरेका छन्। पाकिस्तानले उक्त बैठक आइतबारदेखि सुरु हुने जनाएको छ।
वार्ताको अवधिमा ६० दिने युद्धविराममा अमेरिका र इरान सहमत भए पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले शनिबार होर्मुज जलडमरूमध्य बन्द गरिएको घोषणा गरेको थियो। तर अमेरिकी सेनाले जलमार्गमा व्यावसायिक जहाजहरूको आवागमन निरन्तर जारी रहेको जनाएको छ।
पाकिस्तानको मध्यस्थतामा भएको अन्तरिम शान्ति सम्झौतालाई अघि बढाउने उद्देश्यले दुवै पक्ष वार्तामा सहभागी हुन लागेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसउद पेजेशकियनले बुधबार उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए, जसले करिब चार महिनादेखि जारी युद्ध अन्त्य गर्ने लक्ष्य राखेको छ।
लेबनानमा इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आईआरजीसीले होर्मुज जलडमरूमध्य नजिक पुग्ने जहाजहरू जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। विश्वव्यापी तेल तथा ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने उक्त जलडमरूमध्यमा भने जहाजहरूको आवागमन जारी रहेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ।
सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले होर्मुज जलडमरूमध्य पार गरेका छन्, जसले विश्व बजारका लागि एक करोड ७० लाख ब्यारेलभन्दा बढी तेल ढुवानी गरेका थिए। व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न अमेरिकी सेना प्रतिबद्ध रहेको सेन्टकमले जनाएको छ।
राष्ट्रपति ट्रम्पले ६० दिने युद्धविराम अवधिभर तथा त्यसपछि पनि होर्मुज जलडमरूमध्य पार गर्न कुनै शुल्क नलाग्ने बताएका छन्। तर शान्ति वार्ता असफल भएमा अमेरिका आफैंले शुल्क लगाउन सक्ने संकेत उनले दिएका छन्।
इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईका सल्लाहकार मोहम्मद मोखबरले भने अमेरिका अन्तरिम सम्झौताको पहिलो बुँदा कार्यान्वयन गर्न असफल भएको आरोप लगाएका छन्। उक्त बुँदामा लेबनानसहित सबै मोर्चामा युद्धविराम कायम गर्ने व्यवस्था रहेको उनले बताएका छन्।
यसबीच लेबनानमा इजरायली सेना र इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहबीच आक्रमण–प्रत्याक्रमण जारी रहेकाले त्यहाँको युद्धविराम पनि नाजुक अवस्थामा पुगेको देखिएको छ।