फोटो फिचर
काठमाडौँ। युरोपका विभिन्न देशमा अहिले गर्मी (हिटवेभ) बढेको छ। विशेषगरी फ्रान्स, स्पेन र इटलीमा अत्यधिक तापक्रमका कारण जनजीवन प्रभावित बनेको छ। यी मुलुकहरूमा ‘रेड अलर्ट’ जारी गरिएका छन्।
स्पेनका केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। जसले स्वास्थ्य जोखिमसमेत बढाएको छ। त्यस्तै मंगलबार फ्रान्समा औसत तापक्रम २९.८ डिग्री सेल्सियस मापन गरिएको छ। यो जुन महिनामा हालसम्मकै उच्च तापक्रम हो।
फ्रान्सको मौसम विभाग ‘मेटियो फ्रान्स’का अनुसार सोमबार मुलुकले जुन महिनाकै सबैभन्दा तातो रात अनुभव गरेको छ। उक्त दिन न्यूनतम औसत तापक्रम २१.६ डिग्री सेल्सियस पुगेको थियो।
अत्यधिक गर्मीका कारण फ्रान्सको आधाभन्दा बढी क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिएका छन्। विशेषज्ञहरूले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
युरोपका विभिन्न स्थानबाट आएका तस्बिरहरूले गर्मीको प्रभाव स्पष्ट देखाएका छन्। जहाँ मानिसहरू शीतलको खोजीमा पानीका स्रोत र छायाँतर्फ आकर्षित भएको देखिन्छ।
हेर्नुहोस् बीबीसीले प्रकाशन गरेका थप तस्बिर :

फ्रान्सको पेरिसमा मंगलबार गर्मी छल्न सेन्ट-मार्टिन नहरमा पौडी खेल्दै सर्वसाधारण।

स्पेनको म्याड्रिडस्थित रियोको म्याड्रिडको फोहोरामा मानिसहरू गर्मीबाट बच्न खोजिरहेका छन्। यहाँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ।

इटालीको फ्लोरेन्समा मंगलबार चर्को गर्मीको लहर चलिरहेको बेला मानिसहरूले आफूलाई शीतल पार्ने प्रयास गरिरहेका छन्। अफ्रिकाबाट आएको गर्मीको लहरले फ्लोरेन्समा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुर्याएको छ। जसले गर्दा सहरका अधिकारीहरूले लू (हिटवेभ) को सतर्कता बढाएका छन्।

बेलायतको तापक्रम मंगलबार ‘लू’ को स्तरमा पुगेको छ। यहाँ आउने साता अझै धेरै गर्मी बढ्ने अनुमान गरिएको छ।