काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

११ असार २०८३
फाइल फोटो
अ+
अ-

भोजपुर। भोजपुरको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’ जडान भएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत सञ्चालन गरिएको यो योजनाबाट खाँदबारी नगरपालिका–६ सङ्खुवासभाका स्थानीयको घरघरमा धारा जडान गरिएपछि सहजता भएको हो।

आयोजना सम्पन्न भएसँगै टाढाबाट पानी बोक्ने बाध्यता हटेको र दैनिक जीवन सहज बनेको स्थानीयवासीले बताएका छन्।

निर्माण उपभोक्ता समितिका अध्यक्ष उमनाथ सारु मगरका अनुसार आयोजना सञ्चालनमा आएपछि खानेपानी अभाव झेलिरहेका ३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। “पहिले घण्टौँ हिँडेर पानी ल्याउनुपथ्र्यो, अहिले घरमै धारा जडान भएपछि निकै सहज भएको छ”, उनले भने।

यस आर्थिक वर्षमा आयोजनाको इन्टेक निर्माण गरिएको छ भने सिरान टोलमा १४ घनमिटर क्षमताको ट्याङ्कीबाट वितरण लाइन विस्तार गरी ३३ परिवारमा धारा जडान गरिएको हो।

आगामी आर्थिक वर्षमा थप १० घनमिटरको ट्याङ्की निर्माण गरी वितरण प्रणाली अझ विस्तार गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।

कूल अनुमानित लागत श्रमदानसहित रु एक करोड ७० लाख १३ हजार ६३२ रहेको यो आयोजना आर्थिक वर्ष २०७९/८० देखि सुरु गरिएको हो।

दीर्घकालीन रूपमा १०२ घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको यस योजनाले क्रमशः आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको छ।

स्थानीयका अनुसार, आयोजनाले पानीको सहज पहुँच मात्र नभई सरसफाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ। रासस