काठमाडौँ। नेपाल डेरी एसोसिएसनले यस वर्ष १५ असारमा राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने अनुमान गरेको छ।
काठमाडौँमा बिहीबार दही-चिउरा प्रवर्द्धन कार्यक्रमको आयोजना गर्दै एसोसिएसनले १५ असारमा राष्ट्रिय धान दिवसका अवसरमा ७५ लाख लिटर दही खपत हुने र यसबाट करिब एक अर्ब रुपैयाँबराबरको कारोबार हुने अनुमान गरिएको जनाएको हो।
कार्यक्रममा डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले १५ असारजस्ता मौलिक पर्वले नेपाली कृषि संस्कृति र स्वदेशी उत्पादनबीचको अन्तर्सम्बन्धलाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने बताए।
उनले स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकतालाई एसोसिएसनले निरन्तर उठाइरहेको समेत बताए।
अध्यक्ष दाहालले किसानले उत्पादन गरेको दूधको उचित मूल्य, समयसँगै भुक्तानी तथा दुग्ध उद्योगको दिगो विकास सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्यको अझ बढी आवश्यकता रहेको धारणा राखे।
नेपाली समाजमा हरेक वर्ष १५ असारमा दही-चिउरा खाने चलन छ।