काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ८ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ६ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग अवरुद्ध हुँदा झापा–ताप्लेजुङ सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। यद्यपि, उक्त क्षेत्रमा वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेको छ।
सम्भावित बाढीको जोखिमका कारण बीपी राजमार्ग पनि बन्द गरिएको छ। त्यस्तै, पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग, अर्घाखाँचीको सालभण्डी–ढोरपाटन सडक तथा गुल्मीको रुद्रवेणी सडक पनि बाढीपहिरोका कारण अवरुद्ध भएका छन्।
यता, भोजपुरको मध्यपहाडी राजमार्ग, मकवानपुरको भीमफेदी क्षेत्रमा रहेको कान्ति लोकपथ, कास्कीको नयाँपुल–घान्द्रुक सडक, बागलुङको मध्यपहाडी लोकमार्ग तथा गुल्मीको कालीगण्डकी करिडोर सडकमा भने एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रुहरूलाई यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
