काठमाडौँ। भेनेजुएलामा गएराति लगातार दुईवटा शक्तिशाली भूकम्प गएपछि इन्टरनेट प्रयोगकर्ताका लागि ‘एक्स’मा लगाइएको प्रतिबन्ध हटाइएको छ।
बीबीसी न्युज मुन्डोका अनुसार भेनेजुएलाले एक्समा दुई वर्षदेखि प्रतिबन्ध लगाएको थियो। सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई अगस्त २०२४ मा सरकारी आदेशअन्तर्गत मुलुकभर प्रतिबन्ध लगाइएको थियो।
सामाजिक सञ्जाल साइटहरूमा सेन्सरसिपबाट जोगिन सफल भएका अकाउन्ट (खाता) हरूले इन्टरनेट र फोन सेवा प्रदायकहरू सीएएनटीभी, थन्डरनेट, डिजिटल र मुभीस्टारले एक्समा लागेको प्रतिबन्ध हटेको उल्लेख गरेका छन्।
यद्यपि सरकारले यसबारे आधिकारिक टिप्पणी गरेको छैन। तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भने सहजै रूपमा एक्स सञ्चालन गरिरहेका छन्।
यसअघि संयुक्त राष्ट्रसंघका स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्यजाँच (फ्याक्ट चेक) मिसनले भेनेजुएलाको दूरसञ्चार नियामकलाई ‘सर्वसाधारणलाई सार्वजनिक पहुँच सुनिश्चित गर्न सामाजिक सञ्जाल र सबै सञ्चारमाध्यमहरूमा सहज पहुँच पुन:स्थापना गर्न’ आग्रह गरेको थियो।