काठमाडौँ। प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार राति ढकाललाई बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा ढकाल पक्राउ परेको परिसर प्रवक्ता प्रहरी उपपरीक्षक पवनकुमार भट्टराईले बताए।
इटहरीस्थित जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ डंगोलले ढकालविरूद्ध इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका थिए।
सामाजिक सञ्जाल फेसबुकबाट धाकधम्की र गालीगलौज गरेको आरोप ढकालमाथि छ। ढकालले टाइमलाइनमा स्टाटस लेख्दै डंगोललाई धम्की दिएको प्रहरीको भनाइ छ।
ढकालले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमाललगायतलक्षित गालीगलौजपूर्ण अभिव्यक्ति सार्वजनिक गर्दै आएको प्रहरीले जनाएको छ। ढकाललाई थप अनुसन्धान तथा कारबाहीको लागि सुनसरी पठाइएको भट्टराईले बताए।
ढकाल क्यानडानेपाल अनलाइनमा कार्यरत् रहेको बुझिएको छ।