काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरणअन्तर्गत ‘राउन्ड अफ ३२’ का सबै समीकरण तय भएका छन्। अब प्रतियोगितामा हार्ने टोलीको यात्रा समाप्त हुने भएकाले प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुनेछ।
समूह ‘जे’बाट नाटकीय रूपमा विजेता र उपविजेता बन्दै अघि बढेका अस्ट्रिया र अल्जेरियाले अन्तिम ३२ मा स्थान बनाएसँगै विश्वकपका केही बहुप्रतिक्षित नकआउट भिडन्त तय भएका छन्। सुरुआती नकआउट चरणमै उपाधि दाबेदार टोलीहरूबीचको प्रतिस्पर्धालाई फाइनलअघिको फाइनलका रूपमा समेत हेरिएको छ।
समूह चरणको अन्तिम खेलमा अल्जेरियासँग ३–३ को रोमाञ्चक बराबरी खेल्दै अघि बढेको अस्ट्रियाले अब उपाधि दाबेदार स्पेनको सामना गर्नेछ। यो खेल जुलाई ३ मा नेपाली समयअनुसार राति ११:४५ बजे हुनेछ।
यता, इन्जुरी समयमा नाटकीय पुनरागमन गर्दै अन्तिम ३२ मा पुगेको आक्रामक अल्जेरियाले स्विट्जरल्यान्डको बलियो रक्षापंक्तिको चुनौती सामना गर्नेछ। उक्त खेल पनि जुलाई ३ कै बिहान ५:४५ बजे सुरु हुनेछ।
त्यसैगरी, समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै उत्कृष्ट लयमा रहेको लियोनेल मेस्सीको अर्जेन्टिनाले जुलाई ४ मा बिहान ३:४५ बजे केप भर्डेविरुद्ध प्रतिस्पर्धा गर्नेछ।